८ वैशाख २०८१ शनिबार
राजनीति

पुरानै शैलीमा स्थानीय तह, खर्च भएन विकासे बजेट

बैतडी- आर्थिक वर्ष सकिन एक महिनामात्रै बाँकी रहँदा जिल्लाका स्थानीय तहको विकास खर्च निराशाजनक देखिएको छ। विकासको असारे प्रवृतिका कारण एक महिनाको अवधिमा मात्रै विकास बजेट अधिकांश रकम खर्च हुने गरेको छ। एक दुई स्थानीय तहबाहेक अन्य स्थानीय तहले ५० प्रतिशत खर्च गर्न सकेका छैनन्।

जिल्लाको सुर्नया गाउँपालिकाले नौ करोड पाँच लाख ४५ हजार पाँच सय ६५  पूँजीगत बजेटमध्ये तीन करोड ५७ लाख ४५ हजार पाँच सय नौ रूपैयाँ मात्रै खर्च गरेको छ। यो विकास बजेटको ३९ दशमलव ४७ प्रतिशत मात्रै हो। गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा विकास बजेट खर्च हुन नसकेको सुर्नया गाउँपालिकाका लेखापाल भवानीप्रसाद भट्टले बताए। कार्यालय प्रमुख र कर्मचारी अभावले बजेट खर्च न्यून भएको उनले जानकारी दिए।

स्थानीय तहमा  कर्मचारी नुहुन, समयमै योजना सम्झौता नहुनु र बजेटको अख्तियारी ढिला हुँदा विकास बजेट खर्च गर्न समस्या देखिएको स्थानीय तहको भनाइ छ।

शिवनाथ गाउँपालिकाले ११ करोड ५५ लाख आठ हजार पाँच सय ८ को पूँजीगत बजेटमध्ये तीन करोड ४९ लाख ९१ हजार मात्रै खर्च गरेको छ। यो पूँजीगत बजेटको ३० दशमलव २९ प्रतिशत मात्रै हो। प्राविधिकको अभावमा समयमै योजना सुरुवात गर्न नसक्दा विकास बजेट खर्च कम भएको लेखापाल प्रेमराज भट्टले बताए। डिलाशैनी गाउँपालिकाले चालू आर्थिक वर्षको पूँजीगत बजेट नौ करोड ६२ लाख ६ हजार ६ सयमध्ये अहिलेसम्म दुई करोड ४८ लाख ३८ हजार सात सय ९३ रूपैयाँ मात्रै खर्च गर्न सकेको छ। यो विकास बजेटको २५ प्रतिशत खर्च मात्रै हुन आउँछ। गाउँपालिकामा सञ्चालित योजना अन्तिम चरणमा रहेकाले विकास बजेट केही दिनमै पूरा खर्च हुने गाउँपालिकाका लेखापाल भानदेव जोशीले दाबी गरे।

पाटन नगरपालिकाको पनि विकास खर्चको स्थिति निराशाजनक नै छ। पाटन नगरपालिकाको १५ करोड नौ लाख १२ हजार दुई सय १० पूँजीगत बजेटमध्ये पाँच करोड ७० लाख १० हजार पाँच सय खर्च भएको छ। यो ३५ दशमलव ८७ प्रतिशत मात्रै खर्च हो। यस्तै पुरचौंडी नगरपालिकाको १२ करोड ६० लाख ६७ हजार तीन सय पूँजीगत बजेटमध्ये पाँच करोड ५३ लाख २७ हजार ७८ सय २२ रूपैयाँ मात्रै खर्च भएको छ। यस्तै दोगडाकेदार गाउँपालिकाले दोस्रो चौमासिकसम्म ४४ प्रतिशत विकास बजेट खर्च भएको जनाएको छ। बाँकी दुई महिनाको खर्च विवरण सार्वजनिक गर्न बाँकी रहेको लेखापाल लोकेन्द्र भट्टले बताए। सिगास गाउँपालिकाले पनि पूँजीगत बजेट १० करोड ६० लाख ६० हजारमध्ये चार करोड ४९ लाख दुई हजार ८६ मात्रै खर्च गर्न सकेको छ। योजनाहरूको काम अन्तिम चरणमा रहेकाले केही दिनमै खर्च बढ्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताए। मेलौली नगरपालिकाले ११ करोड ६२ लाख ७५ हजारको पूँजीगत बजेटमध्ये आठ करोड ३७ लाख एक हजार खर्च भएको छ।

दशरथचन्द नगरपालिकाले भने अन्य स्थानीय तहको तुलनामा विकास बजेट खर्चमा प्रगति हासिल गरेको छ। १४करोड ४० लाख ३६ हजार पूँजीगत बजेटमध्ये १० करोड १३ लाख ६ हजार ६ सय ४० खर्च भइसकेको लेखा अधिकृत यज्ञराज लेखकले जानकारी दिए। यस्तै पञ्चेश्वर गाउँपालिकाले पनि चालू आर्थिक वर्षको पूँजीगत बजेटमध्ये ९० प्रतिशत बढी खर्च भइसकेको दाबी गरेको छ। १५ करोडको पूँजीगत बजेटमध्ये ९० प्रतिशत बढी खर्च भइसकेको निमित्त प्रमुख प्रशासकीय अधिकृत कमलापति भट्टले बताए।

स्थानीय तहमा  कर्मचारी नुहुन, समयमै योजना सम्झौता नहुनु र बजेटको अख्तियारी ढिला हुँदा विकास बजेट खर्च गर्न समस्या देखिएको स्थानीय तहको भनाइ छ।

प्रकाशित: ३ असार २०७६ ०७:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App