४ वैशाख २०८१ मंगलबार
राजनीति

किन जाँदैनन् प्रधानमन्त्री ओली पूर्वमाओवादीले गरेको कार्यक्रममा ?

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली होटल उद्घाटनको कार्यक्रममा पनि विभिन्न जिल्ला–जिल्ला पुग्छन्। होटल मात्रै होईन महोत्सव, विद्यालय, मन्दिर, उद्घाटन र पुस्तक विमोचनसमेत ओलीले भ्याएका हुन्छन्। त्यति मात्रै होइन् केहि समयअघि विवादित होटल उद्घाटनमा पोखरा पुगेका ओली उद्घाटननै नगरि फर्किएको पनि उदाहरण पनि ताजा नै छ।

प्रदेश र संघको चुनावमा तालमेल गरेर पार्टी एकताको अन्तिम चरणका पुगेको बेला २०७४ फागुन १ गते तत्कालिन माओवादीको युवा संगठन वाइसीएलले पेरिसडाँडामा जनयुद्ध मनायो। उक्त कार्यक्रममा ओली र पुष्पकमल दाहाल आउने भन्दै प्रचार गरियो। तर कार्यक्रममा दाहालमा मात्रै उपस्थित भए, ओली आएनन्। तत्कालिन एमालेबाट वामदेव गौतम सहभागी भएका थिए।

त्यस्तै पार्टी एकतापछि २०७५ फागुन १ गते पनि तत्कालिन माओवादी र एमालेका जनसाँस्कृतिक महासंघले २४ औं जनयुद्ध दिवस प्रज्ञा भवनमा मनायो। त्यसमा तत्कालिन एमाले निकट जनसाँस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राई उपस्थित थिए, तत्कालिन माओवादीबाट भने दाहाललगायतका नेताहरु थिए।

एकतापछि नेकपाको ब्यानरले जनयुद्ध शब्द खासै रुचाएको छैन्। २०७५ फागुन १ गते पनि नेकपाको ब्यानरमा ‘सहिदहरुको सम्मान’ नाम दिएर मनायो। यो कार्यक्रममा पनि प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल सहभागी हुने बताइएको थियो। तर अन्त्यमा ओली सहभागी भएनन्, दाहाल मात्रै सहभागी भए। तत्कालिन एमालेबाट हाल नेकपाका महासचिव विष्णु पौडेल सहभागी थिए।

त्यसोत पार्टी एकतापछि ०७५ फागुनमै काठमाडौं उपत्यकासहित देशभर सहिद सप्ताह मनायो। तत्कालिन माओवादीको पहिलो सहिद दिलबहादुर रम्तेलले ज्यान गुमाएपछि फागुन १४ गतेदेखि २१ गतेसम्म सहिद सप्ताह मनाउँदै आएको छ। माओवादीले सहिद सप्ताहमा जिल्लाहरु तत्कालिन युवा संघ र वाइसीएलको ब्यानरमा मनाएको थियो। काठमाडौं उपत्यकामा पनि दुबै संगठनको ब्यानरमा मनाएका थिए। उक्त कार्यक्रममा उपत्यकाका सहिद परिवालाई सम्मान गरिने थियो। मुख्यत तत्कालिन माओवादी केन्द्रीय कार्यालय हाल नेकपाको भातृ संगठनको कार्यालय पेरिसडाँडामा मनाएको सहिद सप्ताहमा पनि ओली र दाहाल दुबै आउने भनिएको थियो। तर अन्त्यमा ओली आएनन्, दाहाल मात्रै आएका थिए। उक्त कार्यक्रममा तत्कालिन एमालेबाट योगेश भट्टराई सहभागी भएका थिए।

तत्कालिन माओवादीले कृष्णसेन इच्छुक दिवसलगायत पनि वर्षौदेखि मनाउँदै आएको छ। उक्त दिवसमा पनि ओली सहभागी भएको कुनै उदाहरण भेटिदैंन्।

त्यस्तै तत्कालिन एमालेले मदन भण्डारी, पुष्पलाल, सुखानीलगायतको दिवस मनाउँदै आएको छ। पर्टी एकतापछि दाहाल नगएका कार्यक्रम कमै मात्रामा छन्। करिब एक महिनाअघि मात्रै तत्कालिन एमालेको युवा संघले आफ्नो स्थापना दिवस मनाएको थियो। त्यसको प्रमुख अतिथि दाहाल नै थिए। मदन भण्डारी स्मृति दिवस यसपाली नेकपाको ब्यानरमा मनाइएको थियो। त्यसमा ओली र दाहाल दुबै सहभागी थिए।

सोमबार मात्रै जनयुद्धमा ज्यान गुमाएका रितबहादुर खड्काको १७ औं स्मृति दिवस पार्टी कार्यालय धुम्बाराहिमा मनाइएको थियो। रितबहादुर खड्का स्मृति प्रतिष्ठानको ब्यानरमा भएको उक्त कार्यक्रममा ओली र दाहाल दुबैलाई बोलाइएको थियो। तर उक्त कार्यक्रममा पनि दाहाल मात्रै सहभागी भए, ओली गएनन्। उक्त कार्यक्रममा तत्कालिन एमालेबाट कृष्णगोपाल श्रेष्ठ सहभागी थिए। श्रेष्ठ हाल नेकपा कार्यालयका सचिव पनि हुन्।

किन जाँदैनन् ओली?

तत्कालिन एमाले तथा हाल नेकपाका पोलिटव्यूरो सदस्य योगेश भट्टराईलाई प्रधानमन्त्री ओली किन पूर्वमाओवादीको कार्यक्रममा जाँदैनन् ? भन्ने नागरिकको प्रश्नमा खासै बोल्न चाहेनन्। उनले भने ‘प्रधानमन्त्रीको समय नमिलेर जानु नभएको होला।’ जनयुद्ध शब्द लेखेको ब्यानरमा ओली सहभागी हुँदैनन् नि ? भन्ने नागरिकको दोस्रो प्रश्नमा भट्टराईले भने ‘प्रधानमन्त्री भएपछि अलि चाप हुन्छ नि त।’

नागरिकले सोहि प्रश्न तत्कालिन माओवादी तथा हालका नेकपाका केन्द्रीय सदस्य मणि थापालाई गर्यो। थापाले भने ‘पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै भइसकेपछि समयको अभाव त हुन्छ तर समय मिलाएर यस्ता कार्यक्रमहरुमा जानुपर्छ। माओवादीको इतिहास लेखिएको कार्यक्रममा सहभागी नहुँदा कता कता खल्लो भने लाग्छ। जनयुद्धदेखि मनाउँदै आएको दिवसहरुलाई हेला गर्न हुन्न।’ तत्कालिन माओवादीका एक केन्द्रीय सदस्यका अनुसार ओलीलाई इच्छा नै नभएर कार्यक्रममा सहभागी नभएको बताउँछन्।

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता भएको १३ महिना बितेको छ। अझै नेकपाको एकता प्रक्रिया टुंगिसकेको छैन्। पार्टी एकता भएको वर्ष दिन बितिसक्दा पनि केन्द्रीय नेताहरुहरुको विचार मिल्न सकेको छैन्। उनीहरु खासै कार्यक्रमहरुमा पनि उपस्थित भएको पाइँदैन्। खासगरि प्रधानमन्त्रीसमेत रहेका ओली जनयुद्ध शब्द उल्लेख गरिएका कार्यक्रमहरुमा नजाने गरेको पूर्वमाओवादी नेताहरु बताउँछन्।

 

 

 

 

 

प्रकाशित: ३ असार २०७६ ०७:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App