७ वैशाख २०८१ शुक्रबार
राजनीति

भारतीय राष्ट्रपतिको पोखरा बसाइ ३ घण्टा

भारतीय राष्ट्रपतिको पोखरा भ्रमणबारे बुझ्न शनिबार आएका गृहमन्त्री विमलेन्द्र निधीसहितको टोली

पोखरा– भारतीय राष्ट्रपति प्रणव मुखर्जीको पोखरा बसाइ तीनघण्टा हुने भएको छ। नेपाल भ्रमणको क्रममा मुखर्जी कात्तिक १९ गते जनकपुर हुँदै पोखरा आउने छन्।

श्रोतका अनुसार १९ गते दिउँसो पौने १ बजे मुखर्जी जनकपुरबाट पोखरा आउनेछन्। उनी त्यसैदिन दिउँसो ४ बजे पोखराबाट काठमाडौं फर्कनेछन् । जनकपुरबाट बुद्ध एयरको चार्टर जहाज चढेर मुखर्जी पोखरा आउने सुरक्षा श्रोतले बताएको छ। ‘तीनघण्टा जति मुखर्जी पोखरा रहनेछन् । त्यसपछि काठमाडौं फर्कनेछन्’ श्रोतले भन्यो ।

तीनघण्टाको अवधिमा मुखर्जीले केहीबेर यहाँको पाँचतारे होटल पोखरा ग्राण्डमा आराम गर्नेछन् । पोखरा विमानस्थलबाट सिधै होटल जाने र होटलमा आरामपछि मुखर्जी भारतीय पेन्सनक्याम्प पुग्नेछन्। पेन्सनक्याम्पमा अवकासप्राप्त भारतीय गोरखा सैनिकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको पेन्सन क्याम्पले बताएको छ। पेन्सनक्याम्प्बाट बाहिरिएपछि मुखर्जी पृथ्वीचोक हुँदै विमानस्थल आउने व्यवस्था मिलाईएको छ ।

यसैबीच शनिबार गृहमन्त्री विमलेन्द्र निधी र स्थानीय विकास मन्त्री हितराज पाण्डे, मुख्य सचिव सोमलाल सुवेदी, गृहसचिव लोकदर्शन रेग्मी, सशस्त्र प्रहरीका प्रमुख, नेपाल प्रहरीका प्रमुख र सेनाका उच्च पदाधिकारी सहित सुरक्षा निकायको टोलीले पोखराको सुरक्षा अवस्थाबारे यहाँका सुरक्षाकर्मी र प्रशासनसँग जानकारी लिएको थियो । जनकपुरबाट टोली पोखराको सुरक्षा अवस्था बुझ्न नेपाली सेनाको हेलिकोप्टरबाट पोखरा आएको थियो ।

पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालका अनुसार मुखर्जीको सवारीको बेला विमानस्थलदेखि होटल, होटलदेखि पेन्सन क्याम्पसम्मको बाटोमा अरु सवारी चलाउन रोक लगाइनेछ । ‘अरुतिर गाडि चल्छन् । तर, राष्ट्रपतिको सवारीका बेला केही समय बाटोमा अरु गाडी रोकिनेछन्’ उनले भने।

 

प्रकाशित: १३ कार्तिक २०७३ १०:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App