coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सागको पूर्वाधार तयारी गर्न बजेट

पोखरा - डिसेम्बर १ देखि १० तारिखसम्म पोखरामा १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका केही खेल खेलाइनेछ । कुनकुन खेल भन्ने ठोस निर्णय भइसकेको छैन । आर्चरी, महिला फुटबल तथा केही इन्डोर गेम पोखरामा सञ्चालन हुने सम्भावना प्रबल छ ।

अहिले जुनको मध्य चलिरहेको छ । सागका लागि समयअनुसार अब पाँच महिना बाँकी छ । पाँच महिनाभित्रमा आवश्यक पूर्वाधार सबै तयार पारिसक्नुपर्नेछ । पूर्वाधारका लागि राष्ट्रिय खेलकुद परिषद्ले आवश्यक बजेट मागसमेत गरिसकेको छ । पोखरामा आयोजना हुने सागको पूर्वाधारका लागि युवा तथा खेलकुद मन्त्रालयको रातो किताबमार्फत आवश्यक बजेटसमेत छुट्ट्याइएको छ ।

एक अर्ब २८ करोडको फुटबल मैदानका लागि मन्त्रालयले आर्थिक वर्ष २०७६÷७७ को किस्तास्वरूप पाँच करोड रुपैयाँ छुट्ट्याइएको छ । फुटबल मैदानसहित प्यारापिट एवं सिन्थेटिक ट्र्याकको निर्माण गर्नुपर्ने जिम्मेवारीसहित काम अघि बढाइएको छ । डेढ वर्षअघि निर्माण गरी हस्तान्तरण गरिएको नेपालकै ठूलो बहुउद्देश्यीय कभर्डहलको आन्तरिक फिनिसिङ गर्न मन्त्रालयले पाँच करोड रुपैयाँ छुट्ट्याएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले बताए । ‘ल्यान्डस्केपसहित कभर्डहलभित्र पार्केटिङ, साउन्ड सिस्टम र सिट राख्न बजेट छुट्ट्याइएको हो,’ उनले भने, ‘जतिसक्दो छिटो काम फत्ते गर्नुपर्ने जिम्मेवारी हाम्रो काँधमा छ ।’ 

फुटबल मैदान र बहुउद्देश्यीय कभर्डहलका लागि पाँच÷पाँच करोड

हल निर्माण गर्न परिषद्ले १५ करोड ५७ लाख रुपैयाँ खर्चिएको छ । १४ करोड ३० लाखमा ठेक्का सम्झौता भए पनि नाकाबन्दी र भूकम्पकै कारण आर्थिक भार थपिएको हो । इन्जिनियर प्रनिस ताम्राकारका अनुसार २१५६ सिट क्षमताको हल निर्माण पूरा गरिएको छ । कभर्डहलको ७७ मिटर लम्बाइ र ५० मिटर चौडाइको छ । महिला फुटबलका लागि दुईवटा मैदानलाई प्रशिक्षणस्थल बनाउने योजना खेलकुद मन्त्रालयले बनाएको छ । पोखरा १९ लामाचौरस्थित गोस्ते खेलमैदान र पोखरा २५ हेमजास्थित गौरीशंकर खेल मैदानलाई एक÷एक करोड रुपैयाँ छुट्ट्याइएको छ । ती दुवै खेल मैदान स्तरोन्नतिका लागि ५०÷५० लाख उपलब्ध गराई काम गरिएको छ ।

अब उपलब्ध हुने बजेटले खेलाडीका लागि आवश्यक चेन्जिङ रुम, शौचालय एवं प्यारापिट निर्माणमा खर्च गरिने अध्यक्ष श्रेष्ठको भनाइ थियो । वर्ष दिनअघि ९० लाख बजेटबाट निर्माण गरिएको पोखरा रंगशालास्थित ह्यान्डबल एकेडेमीका लागि मन्त्रालयले ५० लाख छुट्ट्याएको छ । त्यसै गरी, आर्चरीका लागि बजेट भने रकमान्तर गरिने सम्भावना छ । टेनिस कोर्ट निर्माणका लागि एक करोड रुपैयाँ छ । टेनिसको पूर्वाधार निर्माण झन्डै सात महिना रोकिएको छ । चेन्जिङ, फिडब्याक रुम, शौचालय, प्यारापिट, हार्ड कोर्ट र एउटा क्ले कोर्ट निर्माण गर्ने योजना कास्की जिल्ला लनटेनिस संघले बनाएको छ । टेनिसको पूर्वाधार निर्माणका लागि मन्त्रालयले दुई करोड ४५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको हो ।

प्रकाशित: ३ असार २०७६ ०४:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App