८ वैशाख २०८१ शनिबार
खेल

अझै पाएनन् खेलाडीले पुरस्कार

धनगढी - सुरुदेखि नै विवादित बनेको प्रथम मुख्यमन्त्री कप प्रतियोगिताका विजेताले अहिलेसम्म पुरस्कार राशि पाउन सकेका छैनन् । गत फागुन २९ गतेदेखि चैत ३ गतेसम्म धनगढीमा सञ्चालन भएको प्रथम मुख्यमन्त्री कप प्रतियोगिताको पुरस्कार राशि तीन महिना बित्दासमेत पाउन नसकेको भन्दै खेलाडीहरूले गुनासो गरेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा भएको प्रथम मुख्यमन्त्री कप अन्तरप्रदेश खेलकुद प्रतियोगिता २०७५ को विजेता रहेको सुदूरपश्चिम र उपविजेता प्रदेश नम्बर १ को टोलीले अझैसम्म नगद पुरस्कार पाएका छैनन् ।  उपविजेता बनेको प्रदेश नम्बर १ ले नगद आठ लाख रुपैयाँको राशि तीन महिना बित्दासमेत पाउन नसकेको भन्दै रोष प्रकट गरेको छ । ‘खेलाडीले दुःख गरेर पाएको पुरस्कारसमेत सुदूरपश्चिम सरकारले दिएन,’ प्रदेश नम्बर १ का टिम व्यवस्थापक सुजय गौतमले भने, ‘आयोजकलाई हामीले पटकपटक आग्रह गर्दा पनि पुरस्कार नै दिएनन्, यो बेइमानी हो ।’ पुरस्कार खेलाडीहरूले पाउने उल्लेख गर्दै उनले थपे, ‘पुरस्कार त त्यही बेला दिनुपथ्र्यो, अहिले त खेलाडीहरू नै कहाँकहाँ गइसके ।’ खेलाडीहरूले समयसमयमा फोन गरेर पुरस्कारको राशिबारे सोध्ने गरेको गौतमले बताए । ‘खेलाडीहरू समयसमयमा पुरस्कारको राशि आयो कि भनेर फोनमा सोधिरहन्छन्,’ उनले भने,‘म नाजबाफ हुन्छु ।’ त्यस बेला आयोजकले चेकको फ्लेक्स र ट्रफी प्रदान गरे पनि नगद नदिएको उनले बताए । ‘हामीलाई चेकको फ्लेक्स र ट्रफी दिइएको थियो, तर पैसा भने दिइएन,’ उनले भने, ‘खेलाडीलाई जितेको पुरस्कार नदिएको अहिलेसम्म सुनेका थिएनांै, यो नै पहिलो भयो ।’ खेलाडीलाई पुरस्कार नै नदिइँदा उत्साह बढ्नुको साटो घटेको बताउँदै उनले प्रतिप्रश्न गरे, ‘सुदूरपश्चिम सरकारले खेलाडीलाई प्रोत्साहन गर्न खोजेको हो कि हतोत्साहित ?’  
यसरी प्रदेश सरकारले नै पुरस्कारबापतको रकम नदिँदा अफिसियल र खेलाडी तथा अन्य खेलआबद्ध विभिन्न संघसंस्था निराश भएका छन् । उनीहरूले प्रतियोगितामा भाग लिएका खेलाडीले पुरस्कारबापतको रकम पाउने कि नपाउने अन्योल रहेको बताएका छन् । प्रदेश सरकारले खेलाडीलाई हौसला दिनुको सट्टा पुरस्कारबापतको रकम दिन ढिलासुस्ती गर्दा खेलाडीमा निराशा छाएको बताउँदै गौतमले भने, ‘त्यस बेला हामीलाई सरकारले आठ लाख रुपैयाँको नमुना चेक प्रदान गरेको थियो र चेकबापतको रकम प्रदेशको सामाजिक विकास मन्त्रालयले पठाउने भने पनि अहिलेसम्म कुनै रकम प्राप्त गरेका छैनौं ।’  सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले आफूहरूले प्राप्त गर्ने  रकममा चार लाख रुपैयाँ थपेर १ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयमा पठाइदिन्छौं भने पनि अहिलेसम्म नपठाएको गौतमले बताए । उक्त खेलकुद प्रतियोगितामा प्रदेश १ बाट फुटबल, भलिबल, क्रिकेटमा महिला–पुरुष, ब्याडमिन्टनका खेलाडी र अफिसियलसहित ९२ जनाको सहभागिता थियो ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव गोगन हमालले त्यति बेला बजेट अभाव भएकाले अर्थ मन्त्रालयबाट स्वीकृत गराएर पुरस्कार राशि माग गरेको बताए । उनले भने,‘त्यो बजेटलाई हामीले प्रदेश १ को सामाजिक विकास मन्त्रालयलाई पठाउने तयारी गरेका छौँ ।’ विजेता बनेको सुदूरपश्चिम प्रदेशका खेलाडीको पुरस्कार राशि भने सामाजिक विकास मान्त्रालयमै रहेको उनले बताए । 

जिल्लास्तरीय छनोट प्रतियोगिता नभईकनै नेपालगन्जमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा छनोट भएका टिमलाई नै प्रथम मुख्यमन्त्री कप प्रतियोगितामा सहभागी गराएको भन्दै खेलाडीहरूले आलोचना गर्दै आएका थिए । यसै गरी सुदूरपश्चिममा पाँचवटा ओलम्पियन जन्माउने मार्सल आर्टलगायतका पदक जिताउने खेलहरू प्रतियोगितामा समावेश गरिएको थिएन ।

प्रकाशित: ३ असार २०७६ ०४:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App