coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अस्पतालमा झाडापखाला र टाइफाइडका बिरामी

काठमाडौं - गर्मी बढेपछि गर्मीमा फैलिने रोग बढेको अस्पतालले जनाएका छन्। बिरामीहरुमा टाइफाइड ज्वरो, झाडापखाला र जन्डिस लगायतका रोगको संक्रमण भएको पाइएको छ। जेठ महिनादेखि सुरु भएको गर्मीका रोग गत एकसातादेखि व्यापक बनिरहेको छ। वीर अस्पतालका फिजिसियन डा. धु्रव गैरैका अनुसार पखाला, ज्वरो, जन्डिस र घाँटी दुख्ने समस्या लिएर बिरामीहरु आइरहेका छन्। दूषित पानी र दूषित खानाले रोग सर्ने मात्र बढेको हो। यी रोगका बिरामीको संख्या कुल बिरामीमा हाराहारी १५ प्रतिशत रहेको छ।

काठमाडौंको सिभिल अस्पतालमा जनरल बहिरंग सेवामा कुल बिरामीको ५० प्रतिशत झाडापखाला र ज्वरोका बिरामी छन्। त्यहाँ बहिरंग विभागमा २ सय ६० बिरामी आइरहेका छन् भने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा औसत १५ जना ज्वरो र पखालाका बिरामी छन्। गर्मीकै कारण ज्वरो, घाँटी दुख्ने, रुघाखोकी लागेर बिरामी अस्पताल पुगेका छन्।

‘काठमाडौं नजिकका गाउँबाट आउने बिरामीहरु पानीको स्रोत दूषित हुनु र पानी नउमाली खाने गरेको पाइयो,’ डा. गैरेले भने, ‘बजारमा बिक्री भइरहेको प्रशोधित भनिएका पानी पनि शंकास्पद देखिएका छन्।’

चिकित्सकका अनुसार टाइफाइड र झाडापखाला भएर आउने बढी छन्। यी दुवै रोग दूषित पानी र दूषित खानाको कारणले हुन्छ। टाइफाइड पानीमा हुने जीवाणु साल्मोनेला टाइफीको संक्रमणले हुन्छ भने हेपाटाइटिस ए र इको संक्रमणले जन्डिस देखिन्छ। दिसामिश्रित पानीमै झाडापखालामा पाइने भिब्रिायो कलेरा र कोलिफर्म पाइन्छ। टाइफाइडको समयमै उपचार नभएमा आन्द्रामा प्वाल समेत पर्ने र जन्डिस भने केही अवधिपछि आफैं निको भएर जान्छ। पखालाको समयमै उपचार नभएमा शरीरबाट नुन र पानीको मात्रा बगेर जलवियोजन भई बिरामीको ज्यानै जान सक्छ।

व्यवसायीले विगतका वर्षहरुमा प्रदूषित पानी समेत बिक्री गरेको प्रमाण पाइएको डा. पुनले स्मरण गरे। ‘यो अवस्था फेरि पनि दोहोरिन सक्छ। मुख्य कुरा उपभोक्ता सचेत हुनुपर्छ,’ उनले भने। कतिपय होटेल रेष्टुराँले कम पानी खपत गर्ने क्रममा राम्रोसँग सलाद नपखाल्ने र भाँडा सफा नगर्ने कारणले पनि घरबाहिर खानेहरुमा रोगको संक्रमण भएको देखिन्छ।

त्यसैगरी काठमाडौंमा पानीको अभाव र पुराना ढल र पानीको पाइप मिसिएर पानी संक्रमण हुने समस्या पुरानै छ। बढ्दो गर्मी र हामी कहाँ विद्यमान दूषित पानी, सफाइको अभाव तथा दूषित खानाको कारणले गर्मीमा देखिने यी रोगहरु थप बढ्ने क्रममा रहेको चिकित्सकहरु बताउँछन्।

चिकित्सकका अनुसार गर्मीको मौसममा सकेसम्म घरबाहिर नखाने र पानी उमालेर या शुद्धीकरण गरेर मात्र खाने, सलाद राम्रोसँग पखालेर खाने र व्यक्तिगत सफाइमा ध्यान दिएमा यो रोगबाट बच्न सकिन्छ। राजधानीमा वर्षेनी यो रोग दूषित पानी र दूषित खानाकै कारणले हुने गरेको चिकित्सकहरुको अनुभव छ। यो मौसममा विशेष गरी पानी, खाना र सफाइमा बढी सचेत हुनु चिकित्सक सुझाउँछन्।

प्रकाशित: ३ असार २०७६ ०१:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App