रामबहादुर थापा
बागलुङ– रामबहादुर थापा प्रेक्षालय खचाखच छ। मानिसहरू पलेँटी कसेर बसेका छन्। मञ्चपट्टि हुनुहुन्छ, योगगुरु डा योगी विकासानन्द। योग प्रवचन र अभ्यास चलिरहेको छ। छिनछिनमा अट्टहास हाँसोले प्रेक्षालय गुञ्जिन्छ।
यहाँका योगप्रेमीले पछिल्ला तीन बिहान यस्तै माहोलमा कटाए। मज्जाले हाँसे। खुसी हुन सिके। 'खुशीको अभिव्यक्ति हाँसो हो, योगगुरु डा योगी विकासानन्दले भने, 'हाँसोले समाज र परिवारलाई जोड्छ।'
हाँस्ने मान्छेले दुनियाँलाई नियन्त्रण गर्ने उनको तर्क छ। 'नहाँस्ने मान्छेलाई अरुले नियन्त्रणमा राख्छ', योगगुरु विकासानन्दले भने। व्यस्त र तनावपूर्ण जीवनशैलीका कारण मानिसले हाँस्न बिर्सदै गएको उनको बुझाइ छ। 'मानिसमात्र हाँस्ने प्राणी भएकाले हाँस्न बिर्से मानिस अन्य प्राणीसरह हुन्छ', उनले भने।
हाँस्दा शरीरमा एक प्रकारको ‘हर्मोन’ उत्पादन हुने र त्यसले तनाव कम गर्ने बताइन्छ। खुलेर हाँस्दा मानिसको पीडा र चिन्ता भाग्छ। फोक्सोमा ताजा हावा पुग्ने हुँदा शरीरमा ऊर्जा प्राप्त हुन्छ। हाँसोले शरीरको प्रतिरक्षा प्रणाली पनि बलियो बनाउने योगगुरु विकासानन्दले बताए। स्वस्थ र तनावमुक्त जीवन, व्यवसायमा सफलता, सकारात्मक ऊर्जा र सामाजिक सम्बन्ध विकासमा हाँसोले फाइदा पु-याउने बताइन्छ।
बिहीबारदेखि बागलुङ बजारमा शुरु भएको निःशुल्क योग शिविर शनिबार सकिएको छ। सहभागी हाँस्दै बिदा भए। फर्किदाँ योगबारे धेरथोर ज्ञान र सीप लिएर गए। योग शिविरको चाँजोपाँचो गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले मिलाएको हो,। मन्त्रालयको ‘स्वस्थ जीवन’ अभियानअन्तर्गत चलेको शिविरमा ४०० भन्दा बढी सहभागी थिए। शिविरमा १६ प्रकारका योगासनबारे योगगुरु विकासानन्दले प्रशिक्षण दिएका थिए।
योग शिविरमा नसर्ने रोग र जीवनशैली व्यस्थापनबारेको प्रवचन पनि भएको थियो। अनुहार होइन, चाल हेर्नुस् प्रवचनकै क्रममा योगगुरुले मानिस अनुहारले नभई चालले सुन्दर हुने बताए। ठट्यौली शैलीमा उनले भने 'बिहेवारीको लागि ज्वाइँ खोज्दै हुनुहुन्छ भने उसको अनुहार होइन, शरीरको चाल हेर्नुस्।' शरीरको चाल कम भएको तर मनको चाल बढी हुने मानिस रोगी हुने उनको भनाइ छ।
'स्वस्थ हुनलाई शरीर चलायमान र मन स्थिर हुनुपर्छ', उनले भने, 'सफल मानिसले आकाशतिर हेर्दै हिँड्छ, असफल र तनावयुक्त मानिसले भुइँतिर हेर्छ।' शारीरिक, मानसिकसँगै सामाजिक स्वास्थ्यका लागि पनि योग जरुरी रहेको योगगुरु विकासानन्दले बताए। नसर्ने रोग जटिल समस्याका रूपमा देखापरेको भन्दै उनले त्यसबाट बच्न ध्यान र योग साधनामा जोड दिए।
'योगले रोगबाट त बचाउँछ नै सँगै यसले मानिसमा शान्ति, सुख र प्रेमको अनुभूति दिलाउँछ', उनले भने। शरीर, आत्मा र मस्तिष्क शुद्धीका लागि हरेकले योगसाधनलाई अपनाउनुपर्ने उनको सुझाव छ। स्वस्थ जीवनयापनमा सघाउन योग शिविर राखिएको मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखाका अधिकृत नवीनकिरण भुसालले बताए। 'मधमेह, उच्च रक्तचापजस्ता रोगका कारण अल्पायुमै ज्यान गुमाउनेको सङ्ख्या बढी छ', उनले भने, 'यस्ता रोगबाट बच्न योगसाधनाले ठूलो टेवा पु-याउँछ।'
‘स्वस्थ जीवन’ अभियानमार्फत मानिसलाई स्वस्थ जीवनशैली, खानपान र व्यायमबारे प्रशिक्षित गर्ने गरिएको छ। बागलुङसँगै म्याग्दी र लमजुङमा योग शिविर सञ्चालन भइसकेको छ। नवलपुर र स्याङ्जामा शिविर राख्ने तयारी छ। मन्त्रालयले प्रदेशका नागरिकको जीवनशैलीलाई स्वस्थ र तनावमुक्त बनाउन योग शिक्षा प्रवद्र्धनमा जोड दिएको हो।
सबै उमेर समूहका नागरिकलाई योग अभ्यासबारे प्रशिक्षित गर्ने उद्देश्य लिइएको छ। 'नसर्ने रोगको औषधि नै योग हो', योगी विकासानन्दले भने, 'स्वस्थ र सुखी नागरिक तयार गर्न योग जरुरी छ।' संसारमा योगको उत्पत्ति पाँच हजार वर्षअघि भएको मानिन्छ। योगबारेको खोज सन् १९२० को शुरुआतमा भएको इतिहास छ।
प्रकाशित: २ असार २०७६ ०७:३३ सोमबार