७ वैशाख २०८१ शुक्रबार
समाज

गर्मी सहन नसकेर वडाध्यक्ष बेहोस, उपचारका लागि आइसीयुमा भर्ना

हरिवन नगरपालिका वडा नं. ११ का वडाध्यक्ष शेख मेहबुब रेजा। (तस्बिर: टंक/नागरिक)

सर्लाही -  थेग्नै नसक्ने गर्मीका कारण हरिवन नगरपालिकाका–११ का वडा अध्यक्ष शेख महबुब रेजा बेहोस(‘फेन्ट’) भएका छन्। आइतबार दिउँसो चर्को गर्मीका बीच आप्mनै वडा भित्र ढल निर्माण कार्यको अनुगमनमा हिडिरहेको बेला वडा अध्यक्ष रेजा एक्कासी भुँइमा ढलेको उनका भाइ शेख कौसिन रेजाले जानकारी दिए। तत्काल हरिवन स्थित स्वाभिमान अस्पतालमा प्राथमिक उपचार पश्चात उनलाई वीरगंज हेल्थ केयर रेफर गरिएको थियो।

‘रगत परिक्षणमा केही पनि देखिएन’, वडा अध्यक्षका भाइ शेखले भने, ‘अहिले आईसीयुमै हुनुहुन्छ, डाक्टरले अब अल्ट्रासाउण्ड गर्ने भनेका छन्।’ अन्य कुनै गडबडी नदेखिएकाले गर्मीकै कारण फेन्ट भएको हुनसक्ने डाक्टर साबहरुले भन्नु भएको छ।

सातायता अत्यधिक गर्मी बढेका कारण विद्यार्थीहरु बेहोस हुन थालेपछि जिल्लाका स्थानीय तहहरुले धमाधम विद्यालय बन्द गरेका छन्। मलंगवा, लालबन्दी, हरिवन, बागमती र गोडैता नगरपालिका एवं चन्द्रनगर गाउँपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। चर्को घाम र अत्यधिक गर्मीले पठनपाठन गराउनै मुस्किल पर्न थालेपछि सर्लाहीका स्थानीय तहले धमाधम विद्यालय बन्द गरेका हुन्।

केही दिनदेखि बढेको अत्यधिक गर्मीले विद्यालयमै विद्यार्थी बिरामी पर्न थालेको र आधासरो विद्यार्थी नै अनुपस्थित हुने गरेको जानकारी आएपछि नगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालय बन्द गरिएको नगरपालिकाका शिक्षा शाखाका संयोजक उपसचिव बासुदेव तिमल्सिनाले जानकारी दिए।

गर्मीका कारण गरिएको अनिश्चित बिदा बर्खे विदाबाट कटौती गरिने समेत नगरपालिकाले जनाएको छ। गर्मी कम भएपछि अर्को सूचना जारी गरेर विद्यालय सञ्चालन गरिने उपसचिव तिमल्सिनाले बताए। सातायता जिल्लामा अत्यधिक गर्मी बढेको छ। बिहानैदेखि तात्न सूरु हुने मौसम दिउँसोपछि ४३ डिग्री सम्म पुग्ने गरेको छ।

हावा नचली गुम्म मौसममा चर्को घाम लाग्ने गरेका कारण सर्वसाधारण वरपिपल, समी, अशोक, कदम जस्ता विरुवाको छहारी एवं चौतारमा बसेर दिन कटाउन बाध्य भएका छन्। विद्युत पटक–पटक अवरुद्ध हुने र आएको समयमा पनि विद्युतीय पंखाको हावा समेत तातो हुने गरेका कारण सर्वसाधारणहरु घर छाडेर रुखको छहारी एवं चौतारकै शरणमा दिन बिताउने गरेका हुन्। बजारहरुमा सर्वसाधारणको चहलपहल ह्वात्तै घटेको छ। अत्यावश्यक काम बाहेक सर्वसाधारणहरु बजार निस्कन छाडेका छन्।

प्रकाशित: २ असार २०७६ ०५:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App