६ वैशाख २०८१ बिहीबार
अर्थ

सीप नसिकी विदेश जान नपाइने

काठमाडौं - सरकारले सीप नसिकेका व्यक्तिलाई वैदेशिक रोजगारीमा जान नदिने भएको छ। सरकारको यो निर्णयले वैदेशिक रोजगारीमा जाँदा हुने कामदारको खर्च बढ्ने देखिएको छ। राम्रो काम र आकर्षक आम्दानीका लागि विदेश जानेहरु दक्ष हुनु आवश्यक भए पनि एक महिनाको छोटो तालिमले तात्विक फरक पार्ने सम्भावना भने देखिँदैन। बरु तालिमको बहानामा कामदारको वैदेशिक रोजगारी लागत कम्तीमा ३० हजार रुपैयाँले बढ्ने देखिएको छ।

सरकारले चार वर्षअघि गरेको निःशुल्क भिसा र टिकटको निर्णयमा विवाद भइरहँदा कामदारलाई थप आर्थिक भार पार्ने सीप सिकाउने कार्यक्रम सुरु गर्न लागेपछि उक्त कार्यक्रम समेत विवादमा तानिने सम्भावना देखिएको सम्बद्ध व्यक्ति बताउँछन्। सीप नसिकी विदेश जाँदा आर्थिक र शारीरिक शोषणमा पर्ने गरेको भन्दै असार १५ देखि सीप सिकेकालाई मात्र श्रम स्वीकृति दिने निर्णय गरिएको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए। ‘वैदेशिक रोजगारीको क्रममा विदेशमा समस्या नहोस् भनेर जुन काममा जाने हो, सोसम्बन्धी सीपको लागि अनिवार्य तालिम र परीक्षण गर्ने व्यवस्था गरिएको हो,’ श्रेष्ठले भने।

वैदेशिक रोजगारी लागत कम्तीमा ३० हजार रुपैयाँले बढ्ने

हाल वैदेशिक रोजगारीमा जानुअघि तीन दिनको अभिमुखीकरण तालिम लिनुपर्ने नियम छ। उक्त अभिमुखीकरण तालिम पर्याप्त हुन नसकेपछि कम्तीमा एक महिने सीपलाई अनिवार्य गरिएको कार्यकारी निर्देशक श्रेष्ठले बताए। सीपसँगै अभिमुखीकरण तालिम पनि लिनुपर्नेछ। केन्द्रीय तथ्यांक विभागका अनुसार हाल वैदेशिक रोजगारीमा जाने युवामध्ये करिब ७५ प्रतिशत अदक्ष हुन्छन्।

श्रेष्ठले तिनै ७५ प्रतिशत अदक्ष युवालाई लक्षित गरी सीप सिकाउने कार्यक्रम सुरु गर्न लागेको बताए। असार १५ पछि युवायुवती जुन काममा विदेश जाने हो, त्यसका लागि कम्तीमा एक महिना वा एक सय ६० घन्टा बराबरको सीप सिकेको प्रमाणपत्र पेस गर्नुपर्नेछ। श्रष्ेठले वैदेशिक रोजगारीमा गर्नुपर्ने कामबारे सिकेको सीप प्रमाणपत्र पेस नगरेसम्म वैदेशिक रोजगार विभागले श्रम स्वीकृति नदिने बताए। सरकारले वैदेशिक रोजगारीमा जाने युवालाई दक्ष बनाउने मनसायस्वरुप अनिवार्य सीपको व्यवस्था गर्न लागेको जनाए पनि म्यानपावर व्यवसायीले भने यसबाट केही निश्चित संस्थाले प्रमाणपत्र बेच्ने मौका पाउने र झन् जटिल समस्या आउने दाबी गरेका छन्।

‘विदेशमा आवश्यक पर्ने सीपको परीक्षण नेपालमा गरेर हुँदैन,’ वैदेशिक रोजगार व्यवसायी संघका पूर्वउपाध्यक्ष कुमुद खनालले भने, ‘सबैलाई सीप अनिवार्य गर्नुको उद्देश्य आफ्ना व्यक्तिलाई सीप सिकाउने संस्था खोल्ने मौका दिएर सिन्डिकेट लाद्नु मात्र हो।’ उनले नेपालबाट सीप परीक्षण गरेर गएको व्यक्तिलाई रोजगारदाताले सोही काममा नलगाए को जिम्मेवार हुने भन्नेमा सरकार प्रस्ट हुनुपर्ने बताए।

सीप सिक्न प्रतिव्यक्ति १० देखि १२ हजार रुपैयाँ लाग्ने बोर्डले जनाएको छ। त्यसमा तालिम र परीक्षणका लागि राजधानी आउँदा–जाँदा र बस्दा ३० हजार रुपैयाँभन्दा माथि खर्च हुन्छ। विश्वभरी नै वैदेशिक रोजगारीको लागत कटौती हुनुपर्ने आवाज उठिरहेका बेला सरकारको यो निर्णयसँगै सीप सिक्ने नाममा नेपाली कामदारमाथि थप व्ययभार पर्ने निश्चित भएको।

सीप सिकाउने संस्थालाई बुझाउने शुल्कबाहेक राष्ट्रिय सीप परीक्षण समितिलाई कामदारले सीप परीक्षण गर्दा दुई हजार रुपैयाँ जति बुझाउनु पर्ने बोर्डले जनाएको छ।
सीप सिकाउने संस्था काठमाडौंमा मात्र सीमित छन्। सूचीकृत संस्थाबाट सीप सिकेका व्यक्तिको सीप परीक्षण राष्ट्रिय सीप परीक्षण समितिबाट भएपछि मात्र श्रम स्वीकृतिको प्रक्रिया अघि बढ्ने बताइएको छ। समितिले समयमै सीप परीक्षण गर्न नसके श्रमिकको खर्च बढ्दै जानेछ।

सरकारले सीप सिकाउन २९ संस्था छानेको छ। ती सबै काठमाडौंमा छन्। श्रमिक अधिकारको पक्षमा काम गर्दै आएका व्यक्तिहरूले युवालाई सीपप्रति आकर्षित गर्न सोझै शुल्क उठाउनुभन्दा पनि प्रधानमन्त्री रोजगार वा त्यस्तै अन्य कार्यक्रमबाट शुल्क बेहोर्ने व्यवस्था मिलाउन आवश्यक रहेको सुझाव दिएका छन्। सरकारले आफ्नोतर्फबाट लगानी नगर्ने हो भने उक्त कार्यक्रमबाट युवा पीडित हुने, युवामा निराशा छाउने र अन्ततः रेमिट्यान्समा असर पुग्ने विज्ञहरूको ठहर छ। बोर्डका कार्यकारी निर्देशक श्रेष्ठ सीप नसिकी वैदेशिक रोजगारीमा गएका युवा नै सबभन्दा बढी जोखिममा पर्ने गरेको र तिनै युवाको सजिलोको लागि सीप सिकाउने कार्यक्रम सुरु गर्नुपरेको बताउँछन्।

सरकारी अधिकारीहरू सीप सिक्दा स्वदेशमा समेत त्यो उपयोगी हुने र बाध्यताको वैदेशिक रोजगारी अन्त्य गर्न योगदान पुग्ने तर्क गर्छन्। कतिपय व्यक्ति सीप सिकेर वैदेशिक रोजगारीमा जाँदा श्रमिकले राम्रो पारिश्रमिक पाउनुको साथै सुरक्षित हुने ठान्छन्। हाल वैदेशिक रोजगारीमा दैनिक सात–आठ सय युवा जाने गरेका छन्। अघिल्लो वर्षसम्म दैनिक १२ देखि १५ सय युवा रोजगारीका लागि विदेश जाने गर्थे। गत जेठ २ देखि सरकारले सबभन्दा ठूलो गन्तव्य मलेसिया रोकेका कारण वैदेशिक रोजगारमा जानेको संख्या घटेको हो।

प्रकाशित: २ असार २०७६ ०४:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App