coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘आठ दिनपछि न्याय पाएँ’

काठमाडौं  – युट्युब भिडियोमा गलत किसिमले फिल्म समीक्षा गरेको आरोपमा पक्राउ परेका मिम नेपालका प्रनेश गौतम जिल्ला अदालत काठमाडौंकोे आदेशमा आइतबार साधारण तारेखमा रिहा भएका छन्। अदालतले उनलाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो। अदालतको आदेशमा छोरा रिहा भएपछि प्रनेशका बुवा ऋषिराज गौतमले आफूले एकचरणको न्याय पाएको बताए। ‘आठ दिनदेखि छोरा हिरासतमा हुँदा मैले ठूलो पीडा भोगेको थिएँ। आज अदालतले छोरालाई साधारण तारेखमा रिहाइको आदेश दिएको छ’, उनले भने, ‘अदालतको निर्णयले आठ दिनपछि न्याय पाएँ।’

फिल्म ‘वीर विक्रम २’ का निर्माता तथा निर्देशक मिलन चाम्सले दिएको जाहेरीका आधारमा प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाले गत जेठ २४ मा प्रनेशलाई पक्राउ गरेको थियो। गौतम पक्राउ सर्वसाधारण तथा नागरिक समाजले विरोध गरेको थियो। फिल्म समीक्षाकै कारण साइबर अपराधको आरोपमा पक्राउ परेका गौतमविरुद्ध जिल्ला अदालत काठमाडौंमा विद्युतिय कारोबार ऐन अन्र्तगत मुद्दा दर्ता भएपछि हिरासतमै राखिएको थियो। मुद्दा दर्तापछि शुक्रवार नै पेशी तोकिएपनि सरकारी वकिल उपस्थित नभएपछि आइतबारलाई थुनछेक बहस सारिएको थियो। प्रनेस निकटस्थअनुसार थुनामा परेपछि उनी मानसिक रूपमा कमजोर भएका छन्।

निर्देशक चाम्सले गौतमविरुद्ध अभद्र खालको टिप्पणी गरेर कलाकारको मानहानी गरेको भन्दै कारबाहीका लागि प्रहरीमा उजुरी दिएका थिए। स्ट्यान्डअप कमेडी गर्दै आएका गौतमले फिल्मबारे व्यंग्यात्मक शैलीमा समीक्षा गरेका छन्। चलचित्र समीक्षक समाजले प्रनेशको शैलीलाई ‘एब्सर्ड शैली’को समीक्षा भनेको थियो।

कांग्रेस नेता गगन थापाले समेत प्रनेस पक्राउको विरोधमा ‘एब्सर्डिस्ट ह्युमरलाई विश्वभर सामान्य रूपमा लिईन्छ। त्यस्तै शैलीमा सिनेमाको हस्यौली समीक्षा गरेकोमा प्रनेश गौतमलाई नेपाल प्रहरीद्वारा साइबर अपराधमा पक्राउ गरिनु दुर्भाग्यपूर्ण र अभिव्यक्ति स्वतन्त्रताको खिलाफ छ। आलोचनात्मक चेत लोकतन्त्रको मूल मर्म हो, यसको संरक्षण गरियोस्।’ भन्दै ट्वीट गरेका थिए।

प्रनेशलाई साइबर अपराधको आरोपमा पक्राउ परेपछि राजनीतिकर्मी, सर्जक र बौद्धिक व्यक्तित्वहरुले ‘अभिव्यक्ति स्वतन्त्रताप्रतिको हस्तक्षेप’ र ‘कानुनको दुरुपयोग’ भन्दै आवाज उठाइरहँदा केही अपवादबाहेक नेपाली फिल्मजगत् र हास्यव्यंग्य कलाकारहरू मौन देखिएका थिए। हास्यकलाकार दीपकराज गिरीले फेसबुकमा प्रनेशको पक्राउलाई अभिव्यक्ति स्वतन्त्रताको हनन् नभनी मानवीय दृष्टिकोणले हेरिदिएर माफी दिन निर्देशक चाम्सलाई आग्रह गरेका थिए।

नेपाली फिल्म क्षेत्रसँग सम्बन्धित १० संघसंस्थाले प्रनेशको समीक्षाले ‘वीर विक्रम–२’ माथि अन्याय भएको भन्दै विज्ञप्ती निकालेपछि फिल्म निर्देशक दीपक रौनियारले ट्विटमा एकताको संयुक्त विज्ञप्ति सेयर गर्दै ‘देख्नेलाई लाज’ लेखेका थिए। विज्ञप्तिमा चलचित्र पत्रकार संघसहित चलचित्र निर्माता संघ, नेपाल चलचित्र संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र उपकरण व्यवसायी संघ, नेपाल चलचित्र द्वन्द्व संघ, नेपाल चलचित्र नृत्यकार संघ र आदिवासी जनजाति चलचित्र महासंघका पदाधिकारीको हस्ताक्षर थियो।

 

प्रकाशित: २ असार २०७६ ०३:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App