नटिङ्घम – समान खेलबाट तालिकामा समान अंक जोडेका टोलीद्वय बंगलादेश र वेस्ट इन्डिज सोमबार आमनेसामने हुँदा दुवै टोली जितको खोजीमा मैदान उत्रनेछन्। अघिल्लो चरणको यात्रालाई सहज बनाउन दुवै टोलीलाई दबाब पनि उत्तिकै छ। एक÷एक खेलमा वर्षाका कारण अंक बाँडेका दुवै टोलीले चार खेलबाट एक जित निकालेका छन् भने दुई खेलमा नतिजा सुम्पिएका छन्। यद्यपि ६ खेल बाँकी रहँदा दुवै टोलीलाई अघिल्लो चरण प्रवेश गर्नका लागि कम्तीमा चार खेल आफ्नो पक्षमा पार्नुपर्ने हुन्छ।
पाकिस्तानमाथि सहज जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरे पनि त्यसपछि खेल वेस्ट इन्डिजको पक्षमा परेको छैन। त्यसैले बंगलादेशविरुद्ध जित निकाल्दै वेस्ट इन्डिज जारी विश्वकपको लयमा फर्किन चाहन्छ। यस कारण पनि विस्फोटक ब्याट्सम्यान क्रिस गेलको टोली वेस्ट इन्डिज खेलमा फर्किन चाहन्छ। वेस्ट इन्डिजले दोस्रो खेलमा अस्ट्रेलियासँग १५ रनले पराजित हुँदा दक्षिण अफ्रिकाविरुद्धको तेस्रो खेल वर्षका कारण अनिर्णीत बनेको थियो। चौथो खेलमा आयोजक इङ्ल्यान्डलाई ८ विकेटको नतिजा सुम्पिएको वेस्ट इन्डिज अघिल्लो चरणको यात्रालाई सहज बनाउन सोमबार हुने खेलमा लयमा फर्किन चाहेको हो। अहिलेसम्म भएका खेलमा वेस्ट इन्डिजको बलिङ पक्ष राम्रो देखिएको छ भने ब्याटिङलाइन सन्तुलित छैन। विश्वकपअघिका खेलमा वेस्ट इन्डिजविरुद्ध राम्रो प्रदर्शन गर्दै अब्बल देखिए पनि त्यो लयलाई वेस्ट इन्डिजले निरन्तरता दिन सकेको छैन।
वेस्ट इन्डिजका लागि साही होप र क्रिस गेल मुख्य ब्याट्सम्यान हुन् भने बलिङतर्फ औसाने थोमस र शानोन गाब्रिल रहेका छन्। यस्तै आयोजक इङ्ल्यान्डविरुद्ध अर्धशतकीय इनिङ खेलका निकोलस पुरन इन्डिज टोलीका भरोसा हुन्। यस्तै अर्को टोली बंगलादेश पनि जितको खोजीमा मैदान उत्रिँदै छ। तालिकाको सातौं स्थानमा रहेको बंगलादेश नेट रनरेटका आधारमा पछि परेको हो। सुखद लक्ष्यका लागि बंगलादेशले सुरुआती रोजाइमा केही परिवर्तन गर्न पनि सक्छ। साकिब अल हसन प्रभावकारी खेललाई निरन्तरता दिन चाहन्छन्। सम्पन्न तीन खेलमा साकिबले २ सय ६० स्कोर गरेका छन्। उनको यो स्कोर औसतमा ८६ रन रहेको छ। साकिबको अलाबा मुसफिकर रहिमले पनि पनि बंगलादेशको इनिङ्सलाई सहयोग पु¥याएका छन्। मुसफिकर पनि वेस्ट इन्डिजविरुद्ध प्रभाव पार्ने खेलाडी हुन सक्छन्।
पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकालाई २१ रनले पराजित गरेको बंगालदेशले दोस्रो खेलमा २ विकेटको हार बेहोरेको थियो। तेस्रो खेलमा आयोजक इङ्ल्यान्डसँग १ सय ६ रनको फराकिलो अन्तरले पराजित भएको बंगलादेशले चौथो खेलमा अर्को एसियाली टोली श्रीलंकासँग वर्षाका कारण अंक बाँडेको थियो। एकदिवसीय विश्वकपमा यी दुई टोली अहिलेसम्म चार पटक प्रतिस्पर्धा गरेका छन्। जसमा वेस्ट इन्डिजले सर्वाधिक ३ पटक सफलता हासिल गर्दा १ खेल नतिजाविहीन भएको छ। वेस्ट इन्डिजले २०११ मा ९ विकेट, २००७ मा ९९ रन र १९९९ मा ७ विकेटको जित निकाल्दा २००३ मा भएको खेलमा नतिजा प्राप्त भएको थिएन। बंगलादेशले एकदिवसीय विश्वकपमा वेस्ट इन्डिजलाई हराउन सकेको छैन। यी दुईको प्रतिस्पर्धामा बंगलादेशले सबैभन्दा धेरै १ सय ८२ रन बनाएको छ भने वेस्ट इन्डिजले बंगलादेशविरुद्ध सबैभन्दा धेरै २ सय ४४ बनाएको छ।
प्रकाशित: २ असार २०७६ ०३:३२ सोमबार