coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

स्विमिङ पुल बनाउन साढे दुई करोड

पोखरा - नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी गण्डकी प्रदेश खेलकुद परिषद्को पाएको छ। त्यसभन्दा अघि पोखरामै सागका केही खेल समापन गरिनेछ। सागका लागि पूर्वाधार निर्माण गरिएको छ। गण्डकी प्रदेशले आयोजना गर्ने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि स्विमिङ पुल (पौडी पोखरी) निर्माणलाई प्राथमिकतामा राखेको छ। सरकारले पनि पौडी पोखरी निर्माणका लागि रातो किताबमै उल्लेख गरी बजेट छुट्ट्याएको छ। रातो किताबमा उल्लेख भएअनुसार पोखरामा पौडी पोखरी निर्माणका लागि साढे दुई करोड रुपैयाँ छुट्ट्याइएको छ।

‘पौडी पोखरी बनाउन रातो किताबमा उल्लेख गर्दै साढे दुई करोड छुट्ट्याइएको छ,’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले भने, ‘श्रावणमा बजेट आउने अपेक्षामा छौं। त्यसपछि टेन्डर प्रक्रिया गरेर काम अगाडि बढाउँछौं।’ गण्डकी प्रदेशले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने मिति भने २०७७ फागुन २० देखि २७ गतेसम्म तय गरिएको छ। पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराले पूर्वाधारका विभिन्न शीर्षकमा बजेटको लागि प्रस्तावसमेत गरेको छ।  पोखरा रंगशाला परिसरभित्रै जग्गा छुट्ट्याइएको छ। पौडी पोखरी निर्माण नभएको अवस्थामा निजी क्षेत्रका स्वीमिङ पुलमै पौडी प्रतियोगिता टुंग्याउनुपर्ने बाध्यता छ, जुन नेपालगन्जमा देखिएको थियो।

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशालाभित्रको ४ सय १५ रोपनी जग्गामा विभिन्न खेलकुदका भौतिक पूर्वाधार निर्माण गरेको छ। गुरुयोजनाअनुसार जग्गा छुट्ट्याइएको छ। छुट्ट्याइएको जग्गामा पौडी पोखरी निर्माण गर्न पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराले परिषद्सँग ४० करोडको अनुमानित बजेट माग गरेको थियो। ‘रंगशालाको बनाइएको गुरुयोजनाअनुसार भलिबल कोर्टभन्दा माथिल्लो भागमा जग्गा छुट्ट्याइएको छ।’ उनले भने, ‘अहिलेसम्म त्यही छुट्ट्याइएको जग्गामा बनाउने योजना छ, भोलि राष्ट्रिय खेलकुद परिषद्को सल्लाहमा निर्माणको काम गर्नेछौं।’

अध्यक्ष श्रेष्ठका अनुसार नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी अन्तर्राष्ट्रिय मापदण्डअनुसारको पौडी पोखरी निर्माण गरिनेछ। बजेट विनियोजन भए टेन्डर प्रक्रियामार्फत निर्माण कार्यलाई छिटो पूरा गर्ने लक्ष्य र योजना क्षेत्रीय खेलकुद विकास समितिको छ। राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पौडीको महिला तथा पुरुष दुवै इभेन्ट पोखरामै आयोजना गर्ने प्रारम्भिक निर्णय गरिसकिएको छ। अन्तर्राष्ट्रिय मापदण्डअनुसार पौडी पोखरीको चौडाइ २५ मिटर र लम्बाइ ५० मिटर हुनेछ। यद्यपि २५ मिटर लम्बाइ र २५ मिटरकै चौडाइसमेत अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुने प्राविधिक बताउँछन्। ‘हामीले ४० करोड रुपैयाँ बजेट प्रस्ताव गरेका हौं,’ उनले भने, ‘प्रस्तावअनुसार बजेट उपलब्ध भए हिटिङयुक्त पोखरी बनाइनेछ।’

पोखरामा आयोजना हुने विद्यालयस्तरीयदेखि खुला पौडी प्रतियोगिता भने निजी क्षेत्रका पौडी पोखरीमा गरिँदै आएको छ। खेलकुद परिसरभित्रै निर्माण गरिए खेलाडीले नियमित रूपमा पौडीको प्रशिक्षण पाउनेछन्। रंगशालाभित्रै छुट्ट्याइएको जग्गामा पौडी पोखरी बनाउन सकिए लागत केही कम पर्ने पौडी संघको भनाइ छ। २५ मिटरको चौडाइको बनाई आवश्यकताअनुसार लेन बनाउन सकिने कास्की जिल्ला पौडी संघका अध्यक्ष वैभव पौडेल बताउँछन्। लेन खेलाडीको सहभागिता अनुसार बनाउन सकिन्छ। पोखरी न्यूनतम ६ फिट गहिराइको बनाउन जरुरी छ। हिटिङको व्यवस्था भएको अवस्थामा बाह्रै महिना प्रशिक्षण गराउन सकिन्छ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार पौडी पोखरीको चौडाइ २५ मिटर र लम्बाइ ५० मिटर हुनेछ। यद्यपि २५ मिटर लम्बाइ र २५ मिटरकै चौडाइसमेत अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुने प्राविधिक बताउँछन्।

प्रकाशित: २ असार २०७६ ०३:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App