८ वैशाख २०८१ शनिबार
खेल

सागका लागि पाँच अर्ब माग

काठमाडौं – घरेलु मैदानमा आगामी मंसिरको तेस्रो सातादेखि हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि साग बजेट निर्माण कार्यदलले पाँच अर्ब बढीको महत्वाकांक्षी बजेट माग गरेको छ।

सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रममा बीच बजेट निर्माण कार्यदलले विभिन्न १६ शीर्षकमा ५ अर्ब २६ करोड ५७ लाख ४२ हजार ६ सय ७० रुपैयाँबराबरको बजेट माग गरेको हो। यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले तीन अर्ब रुपैयाँ हारहारी बजेट भए पर्याप्त रहने भने पनि कार्यदलले भने ५ अर्बभन्दा बढीको महत्वाकांक्षी बजेट माग गरेको हो।

राखेपका उपाध्यक्ष पीताम्बर तिम्सिना संयोजक रहेको बजेट निर्माण कार्यदलले आइतबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) लाई सारांशसहित अनुमानित बजेट पुस्तक हस्तान्तरण गरेको हो। आगामी मंसिर १५ देखि २४ गतेसम्म हुने साग सञ्चालनका लागि आकार निर्धारणसहित आवश्यक बजेट खेलकुद मन्त्रालयमार्पmत अर्थ मन्त्रालयमा स्वीकृतिका लागि प्रस्तुत हुनेछ।

अर्थको स्वीकृतिपश्चात् मात्र १३औं साग सञ्चालनका लागि बनेका १६ समितिको कामकारबाहीले पूर्ण रूपमा पूर्णता पाउनेछ। बजेट कार्यदलका संयोजक तिम्सिनाले विज्ञहरूको सल्लाहसहित अनुमानित बजेट माग गरिएको बताएका छन्। उनले बजेट केही महत्वाकांक्षी रहेको स्वीकार गर्दै तयारीलाई भव्य रूपमा अगाडि बढाउन प्राविधिक तालिम र प्रशिक्षण समावेश गरिएकाले आकार ठूलो बनेको दाबी गरेका छन्।

मन्त्री सुनारले १३औं साग राष्ट्रको इज्जत र प्रतिष्ठासँग जोडिएको भन्दै सबै पक्षलाई यसलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि सहयोग गर्न अपिल गरे। सागको तयारी सुचारी गर्न बजेटको स्वीकृति आवश्यक रहेको बताउँदै मन्त्री सुनारले यो प्रारम्भिक र अनुमानित बजेट भएकाले अर्थ मन्त्रालयको स्वीकृतिपश्चात् मात्र पूर्ण बजेट आइपुग्ने उल्लेख गरे।

उनले सागका लागि कार्यविधि र मस्यौदा मन्त्रिपरिषद्मा पठाइसकेको उल्लेख गर्दै त्यहाँको निर्णयपश्चात् तयारीले पूर्णता पाउने धारणा व्यक्त गरेका छन्। १३औं दक्षिण एसियाली खेलकुद तयारी तथा व्यवस्थापन समितिको गत वैशाख २६ गते बसेको बैठकले समितिका सदस्य एवं राखेप उपाध्यक्ष तिम्सिनाको संयोजकत्वमा बजेट निर्माण कार्यदल गठन गरिएको थियो।

सोही कार्यदलले राष्ट्रिय टिम तयारी समितिका लागि ८८ करोड १२ लाख ६८ हजार १ सय ५०, खेलस्थल व्यवस्थापनमा ३ करोड ११ लाख, प्राविधिकमा ३० करोड ४० लाख ६९ हजार ९ सय, श्रोतसाधन परिचालनमा २० लाख, सुरक्षामा ५० करोड २६ लाख १ हजार ८ सय ४०, आवास व्यवस्थापनमा ४५ करोड ५२ लाख ८६ हजार र यातायात व्यवस्थापन १५ करोड ७१ लाख ४ हजार रुपैयाँ समावेश गरेका छन्।

त्यस्तै स्वास्थ्य समितिका लागि ३ करोड ४३ लाख ५२ हजार, प्रचारप्रसार तथा प्रकाशनमा ८ करोड ९५ लाख ८ हजार ५ सय, समारोह व्यवस्थापनमा ७१ करोड ४६ लाख ८२ हजार, स्वयंसेवक परिचालनमा २ करोड २ लाख ९७ हजार, अतिथि सत्कारमा १ करोड २९ लाख ५ हजार, खेलसामग्री, उपकरण तथा पोसाक व्यवस्थापन सचिवालयमा १ अर्ब २९ करोड ९१ लाख ५ हजार, एन्टी डोपिङ समितिका लागि ३ करोड ५४ लाख ६१ हजार, आयोजक समितिमा २७ करोड ९९ लाख २७ हजार, आइटी व्यवस्थापनका लागि १९ करोड ६० लाख ७५ हजार तथा विविधमा २५ करोड रुपैयाँसहितको बजेट कार्यदलले माग गरेको छ।

यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले तीन अर्ब रुपैयाँ हारहारी बजेट भए पर्याप्त रहने भने पनि कार्यदलले भने ५ अर्बभन्दा बढीको महत्वाकांक्षी बजेट माग गरेको हो।

 

प्रकाशित: २ असार २०७६ ०३:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App