८ वैशाख २०८१ शनिबार
अर्थ

पर्यटन प्रवर्द्धनको हुङ्कार मात्रै ठूलो

सन्दकपुरबाट देखिएको विश्वको तेस्रो शिखर कञ्चनजंघा । तस्बिर: भीम चापागाइ

इलाम–अमेरिकी गाइड बुक तथा ट्राभल वेबसाइट कम्पनी लोन्ली प्लानेटको विश्वमा घुम्नैपर्ने उत्कृष्ट पाँचौं गन्तव्यमा नेपाल पर्दा नेपाली जति हर्षित छन्, पर्यटकीयस्थल सन्दकपुरको पूर्वाधार थाहा पाए त्यत्तिकै निरास हुनेछन्। सर्वाेच्च शिखर सगरमाथासहित नेपाल, भारत र भुटानका दर्जनौं हिमशृंखला अवलोकनका लागि चर्चित सन्दकपुर (३ हजार ६ सय ३६ मिटर उचाई) नेपालले उपयोग गर्न नसक्दाको सोझो फाइदा भारतले उठाइरहेको छ।

जिल्लाकै प्रमुख र ‘उच्च सम्भावनायुक्त’ यो पर्यटकीयस्थल सदरमुकामबाट करिब ४० किलोमिटर उत्तरको भारतीय सीमामा पर्छ । यहाँसम्म पुग्न नेपालतिरबाट न मोटरबाटो छ न व्यवस्थित पदमार्ग नै । जिल्लाको पर्यटन प्रवद्र्धनका नाममा सदरमुकामका सरकारी र गैरसरकारी कार्यालयले बर्सेनि करोडौं रूपैयाँ खर्चेको ‘प्रतिवेदन’ देखाउँछन् । तर, जिल्लाकै मुख्य मानिने पर्यटकीयस्थल सन्दकपुर पुग्न भने पर्यटकलाई ‘फलामको चिउरा चपाए’सरह छ । अनि, त्यहाँ पुगिसकेपछि होटल र खानपानको राम्रो व्यवस्था नहुँदा पर्यटक निरास हुने गरेका छन् ।

पर्यटन प्रवद्र्धनका लागि बर्सेनि करोडौं रुपैयाँका योजना सुनाउने सदरमुकामका सरकारी तथा गैरसरकारी निकायले सन्दकपुर चाहिँ भारतलाई जिम्मै दिन खोजेझैं देखिन्छ ।

 जैविक विविधता, हिमाल, सूर्याेदय अवलोकनका लागि सन्दकपुर प्रख्यात छ । यहाँबाट सगरमाथा, कञ्चनजंघा, अन्नपूर्णलगायत ३ देशका ३६ भन्दा बढी हिमाल छर्लङ्ग देख्न सकिन्छ । बाह्रैमास सयौं आन्तरिक र बाह्य पर्यटकले खचाखच रहने सन्दकपुर पुग्नेहरूको प्रतिक्रिया छ– पर्यटन प्रवद्र्धनका लागि बर्सेनि करोडौं रुपैयाँका योजना सुनाउने सदरमुकामका सरकारी तथा गैरसरकारी निकायले सन्दकपुर चाहिँ भारतलाई जिम्मै दिन खोजेझैं देखिन्छ । सीमावर्ती क्षेत्र भएपनि सन्दकपुरको सबैभन्दा उचाईको मुख्य विन्दु नेपालकै भूमि हो । तर, नेपालतिरबाट सडक र होटलको राम्रो प्रबन्ध नहुँदा सन्दकपुरबाट भारतले उच्च फाइदा लिइरहेको छ ।  

सन्दकपुर भारतबाट सर्वाेच्च शिखर सगरमाथा देखिने नेपालसँग जोडिएको एकमात्र विन्दु हो । यही आधार उपयोग गरेर भारतले देशभर र तेस्रो मुलुकका हजारौं पर्यटक यहाँ आकर्षित गरिरहेको छ । यहाँ पश्चिम बंगालका पर्यटक सबैभन्दा बढी आउने गरेको स्थानीय होटल व्यवसायी बताउँछन् । भारतको बाटो भएर अमेरिका, बेलायत, जर्मनी, अस्टे«ेलियालगायत देशका पर्यटकमात्र होइन, ती देशका विशिष्ट व्यक्ति र राजनीतिक दलका नेतासमेत यहाँ आउने गरेका छन् ।

सन्दकपुरको भारतपट्टिको भूमिमा दर्जनभन्दा बढी होटल छन् । २०६४ सालको संविधानसभा निर्वाचनका बेला सीमा सुरक्षाका लागि भन्दै भारतले राखेको भारतीय सीमा सुरक्षा बल (एसएसबी)को क्याम्प अहिलेसम्म हटाएको छैन । भारतले यहाँ अन्य सरकारी भवन पनि बनाएको छ । भारतीय पर्यटन व्यवसायीले आधा शताब्दी पुराना ल्यान्डरोभरमा यहाँसम्म पर्यटक ल्याउने गरेका छन् । उताबाट पदमार्ग उपयोग गरेर पनि तेस्रो मुलुकका पर्यटक धुइरिन्छन् । भारत पश्चिम बंगालका पर्यटक यहाँ बढी आउँछन् । ‘दोस्रो विश्वयुद्धमा प्रयोग हुने बेला आफ्नै देशमा बनेका ल्यान्डरोभर चढेर आउन पाउँदा, जीवनमै नयाँ अनुभव भएको छ,’ बेलायती पर्यटक पिटर वाल्कले सुनाए, ‘यहींबाट नेपाल हुँदै फर्कन पाए अझ रमाइलो हुने रहेछ ।’

नेपालमा कानुनले बन्देज गरेका २० वर्ष पुराना ल्यान्डरोभरलाई भारतले भने प्रोत्साहनसहित संरक्षणसूचीमा राखेर ‘एड्भेन्चर टुरिज्म’का लागि प्रयोग गरिरहेको छ । चिटिक्क सजाइएका पुराना ल्यान्डरोभरमा हुलका हुल पर्यटक सन्दकपुरसम्म ओसारिरहेको छ । भारतबाट दिनहुँ दर्जनौं संख्यामा ल्याइने पुराना ल्यान्डरोभर बाहेकका सवारी सन्दकपुर पुग्न सडक पनि सहज छैन । एक भारतीय होटल व्यवसायी भन्छन्, ‘सन्दकपुरमा बाह्रैमास आउने पर्यटकको संख्या थामिसाध्य छैन ।’

भौगोलिक रूपमा विकट सन्दकपुरलाई नेपालकै भूमि सन्दकपुर ‘बेचेर’ भारतले यतिको सफलता हात पारिहँदा नेपालपट्टिको पर्यटकीय पूर्वाधार भने शून्यप्रायः छ । पर्यटकका लागि नेपालपट्टि एउटामात्रै अलि व्यवस्थित तर महँगो होटल छ । स्थानीय शेर्पा च्यालेट होटलमा ५० पर्यटक अटाउँछन् । बाँकी २ होटल छन् । यहाँका नेपाली होटलमा प्रयोग हुने पानीसमेत निकै तलबाट डोकोमा ओसार्नुपर्ने बाध्यता छ । शेर्पा च्लालेट होटल सञ्चालिका निमाफुटी शेर्पाले नेपालको बाटो भएर पर्यटकहरू यहाँ आइपुग्नै कठिन रहेको बताइन् । ‘हामीले आफ्नो जमिन यहीं भएकाले निकै संघर्ष गरेर होटल चलाउनुपरेको छ,’ उनले भनिन्, ‘पर्यटक खचाखच हुने यो ठाउँका लागि सरकारी र गैरसरकारी निकायले कुनै चासो दिएजस्तो लाग्दैन ।’ उनले पर्यटकका लागि उनीहरूले चाहेअनुसारका पूर्वाधार विकासमा कुनै काम हुन नसकेको बताइन् ।

सदरमुकामबाट सन्दकपुर पुग्न ३ किलोमिटर भारतकै भूमि प्रयोग गर्नुपर्छ । जिल्लाकै माइमझुवा र माबु गाविसबाट यहाँसम्म मोटरबाटो, पदमार्ग विस्तार गर्ने प्रसस्त सम्भावना छ । करिब ५ वर्षअघि माबु हुँदै कालपोखरीसम्म कच्ची सडक पु¥याइएको थियो । त्यहाँबाट स्थानीय होटल र यातायात व्यवसायीले करिब ७ किलोमिटर कच्ची सडक आफैं विस्तार गरे । तैपनि, कालपोखरी–बिखेभञ्याङको २ किमीमा मात्रै ल्यान्डरोभर चल्न सकेको चालक गणेश राई बताउँछन् । ‘सन्दकपुरसम्म मोटरबाटो आयो भनेर त्यतिबेला माबु गाउँ मात्रै होइन, जिल्लाबासी नै हर्षित थिए,’ उनले भने, ‘सडक त आयो तर न सवारी गुड्न सके न त्यसैलाई पदमार्ग बनाउन सकियो ।’ अहिले बिखेदेखि सन्दकपुरसम्मको करिब ४ किमीमा सवारी गुड्नै सक्दैन । माइमझुवाबाट सन्दकपुर लगिँदै गरेको सडक पनि सरकारी निकायको ठोस प्राथमिकता अभावमा बीचमै अलपत्र छ । ठाउँ–ठाउँमा पहिरो र हिलोले जीर्ण सडक मर्मतमा कसैले चासो नदिँदा सन्दकपुरमा यातासात असहज भएको यातायात व्यवसायी बताउँछन् ।

यातायात व्यवसायी गृष्म सुब्बा स्थानीयले जति प्रयास गरेपनि सरकारी र गैरसरकारी निकायले योजना नल्याउञ्जेल पर्यटकीय क्षेत्रको विकास जटिल हुने बताउँछन् । ‘अहिलेसम्म सन्दकपुरको पर्यटन विकासका लागि जति काम भएका छन्, ती सबै निजी क्षेत्र र स्थानीयका उपलब्धि हुन्,’ उनले भने । पूर्वेली ट्याक्सी व्यवसायी संघ अध्यक्षसमेत रहेका सुब्बाका अनुसार पर्यटकीय सिजनमा सन्दकपुर आउन चाहने हजारौं पर्यटकले यातायात व्यवसायीलाई सम्पर्क गरेपनि सडक सहज नभएकैले उनीहरू निरास बन्दैछन् । ‘कच्ची सडकमा ल्यान्डरोभर चढेर सन्दकपुर आउनु त पर्यटकका लागि एड्भेन्चर नै हो तर कमसेकम त्यही ल्यान्डरोभर चलाउन पनि नेपालमा सहज कानुन छैन,’ उनले भने, ‘ल्यान्डरोभर खुकुलो नगर्ने हो भने सन्दकपुर मात्र होइन, जिल्लाका कुनै गाउँमा गाडी पुग्नै सक्दैन ।’ पुराना ल्यान्डरोभर कानुनी बन्देज लगाएर हटाउन होइन, ठाउँविशेष, गाडीको कन्डिसन, इन्धन खपत र प्रदूषणको अवस्थाका आधारमा नियमन गर्न व्यवसायीको माग छ ।

सन्दकपुरमा पर्यटकका लागि खड्किएको अर्काे महŒवपूर्ण अभाव हो सुरक्षा । त्यसैपनि भौगोलिक रूपले विकट, त्यसमा पनि भारतीय सीमा क्षेत्र र बाक्लो जंगल । सन्दकपुर आउने पर्यटकको सुरक्षाका लागि यहाँ न कुनै प्रहरी देख्न पाइन्छ न अन्य वैकल्पिक व्यवस्था नै । सन्दकपुरबाट निकै टाढा जौबारी र माबुमा प्रहरी चौकी छन् । सवारी र जनशक्ति अभावको आफ्नै समस्याले ती चौकी सन्दकपुरका लागि चाहिँ भए र नभएको कुनै अनुभव छैन । सवारी भए नै पनि ६–६ जना बस्ने प्रहरी चौकीले मात्रै यहाँ सुरक्षा दिन सम्भव नभएको स्थानीय साङ्गे शेर्पाले बताए । ‘प्रहरी हेर्न त यहाँबाट निकै तलसम्म धाएरै जानुपर्छ,’ उनले भने, ‘सन्दकपुरमै प्रहरी वा सशस्त्र प्रहरीको इकाई राख्दा मात्रै पर्यटक र यहाँको बहुमूल्य जैविक विविधत सुरक्षित गर्न सकिन्छ ।’

छिमेकी गाविस जमुनाका अगुवा उमेश गुरुङले सन्दकपुर उच्च सम्भावना भएर पनि सरकारी निकायकै बेवास्ताको शिकार भएको बताए । ‘सदरमुकाममा जिल्लाको पर्यटन विकास गर्छु भन्नेहरूको फुइँ हेर्दा त सगरमाथा नै छेउमा ल्याउलान्जस्तो लाग्छ तर सन्दकपुर पुग्दा उनीहरूको गफ बालुवामा पानीबाहेक केही लाग्दैन,’ उनले भने । नेकपा एमाले जिल्ला उपसचिवसमेत रहेका गुरुङले पशुपतिनगर नाकामा अध्यागमन कार्यालय राख्न सके अहिले भारतले तेस्रो मुलुकका पर्यटकबाट लिइरहेको फाइदा नेपालले लिनसक्ने सुझाए ।

सन्दकपुरमै भेटिएका इलाम–काठमाडौं सम्पर्क मञ्चका लोकनाथ खनालले प्रसस्त सम्भावना रहेको सन्दकपुरको पर्यटकीय पूर्वाधार विकासमा ठोस योजना ल्याउनु आवश्यक रहेको ठम्याए । उनले भने, ‘सन्दकपुरसहित जिल्लाका उत्तरी क्षेत्रको पर्यटन विकास गर्न सके जिल्लाकै आर्थिक आम्दानीको भरपुर स्रोत हुने रहेछ । अर्काको मुख हेर्नुमात्र होइन, हामी सबैले यहाँको पर्यटन प्रवद्र्धनका लागि आ–आफ्नो क्षेत्रबाट योगदान गर्न सकिन्छ । त्यही सोचको खाँचो छ ।’  

सहायक प्रमुख जिल्ला अधिकारी सुजन फागोले सन्दकपुरमा सुरक्षा इकाई अनिवार्य रहेको विषय निकैपटक उठेपनि निर्णय चाहिँ हुन नसकेको बताए । ‘जिल्लाकै मुख्य पर्यटकीयस्थल सन्दकपुरमा सुरक्षा चुनौती देखिएको छ  । तर, नढाँटी भन्नुपर्दा प्रहरी चौकी या सशस्त्र प्रहरी राख्नेबारे केही काम चाहिँ हुन सकेको छैन,’ उनले भने, ‘यो विषय छलफलमा आउँदै सेलाउँदै गरिरहेको छ ।’

डिभिजन सडक कार्यालय प्रमुख शिव दाहालले सदरमुकामबाट माइपोखरी हुँदै सन्दकपुरसम्म पु¥याउने सडक विस्तारका लागि काम भइरहेको तर बजेट पर्याप्त नभएको बताए । ‘वर्षको ५–७ लाख आउँछ, त्यसले अलिकति काम गरिन्छ, वर्षा लागेपछि पहिरोले बगाएर उस्ताको उस्तै,’ उनले भने, ‘चालू आवमा त्यो सडकका लागि ५० लाख रुपैयाँ आएको छ । यो वर्ष अलि बढी काम गर्न सकिन्छ ।’ उनले यो सडकमा विभिन्न स्थानमा पुलसमेत आवश्यक रहेकाले त्यसको योजनासमेत आउने बताए । पर्यटकीय भनिएको यो सडकलाई अलि बढी रकम छुट्याएर काम गर्ने उनले बताए । मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका कार्यकारी निर्देशक केशव धौरालीले सन्दकपुरको आहालटारमा भ्युटावर निर्माण गरिने बताए । उनले चालू वर्षमा १० लाख रुपैयाँ लागतमा यहाँ भ्युटावर बनाउने योजना रहेको सुनाए ।

 

प्रकाशित: १३ कार्तिक २०७३ ०६:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App