coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतले पनि अमेरिकी सामानमा कर बढायो

नयाँदिल्ली – भारतले आइतबारबाट लागू हुने गरी २८ किसिमका अमेरिकी सामानमा करवृद्धि गरेको जनाएको छ। उसले आलमन्ड र स्याउसहित २८ अमेरिकी सामानमा ट्यारिफ लगाएको हो। अमेरिकाले भारतलाई दिँदै आएको व्यापार सुविधा कटौती गरेको बदलामा नयाँ दिल्लीले पनि यस्तो कदम चालेको भारतीय अधिकारीहरुलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।

भारतीय केन्द्रीय राजश्व तथा भन्सार बोर्डका अनुसार अमेरिकाबाट आयात हुने बदाम, स्याउ र ओखर समेतका सामानमा करवृद्धि गरिएको छ। भारत र अमेरिकाबीच पछिल्लो समय आपसी सम्बन्ध निकै प्रगाढ रहेको भनिए पनि दुवै देशले एकअर्का मुलुकका सामानमा करवृद्धि गरेका छन्। तैपनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सामानलाई भारतीय बजारमा सहज पहुँच नभएको र भारतले कृषिलगायतका कतिपय क्षेत्रमा ठूलो मात्रामा अनुदान दिएर प्रतिस्पर्धी क्षमता कमजोर पारेको आरोप लगाउँदै आएका छन्। भारतले अमेरिकी सामानमा ७० प्रतिशतसम्म करवृद्धि गरेको छ। भारतले गत जुन महिनामै अमेरिकी सामानमा १२० प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेको भए पनि दुई देशबीचको व्यापार वार्ताका कारण यो निर्णय लागू हुने समय लागेको बताइएको छ।

भारतले गत जुन महिनामै अमेरिकी सामानमा १२० प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेको भए पनि दुई देशबीचको व्यापार वार्ताका कारण यो निर्णय लागू हुने समय लागेको बताइएको छ।

स्टिल र आल्मुनियम आयातमा लाग्दै आएको उच्च कर घटाउन नयाँ दिल्लीले गरेको आग्रह वासिङ्टनले अस्वीकार गरेपछि पछिल्लो निर्णय आएको भारतीय अधिकारीहरुले बताएका छन्। यसै महिनाको सुरुवातमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि भारतलाई दिँदै आएको व्यापार सुविधासम्बन्धी सम्झौताबाट हात झिकेको घोषणा गरेका थिए। राष्ट्रपति ट्रम्पले यदि भारतले इरानसँग तेल किनेमा उसविरुद्ध प्रतिबन्ध लगाउने चेतावनी पनि दिएका छन्। उनले यदि भारतले रुसी एस–४०० एन्टि–एयरक्राफ्ट क्षेप्यास्त्र किन्ने योजना अगाडि बढाए पनि उसविरुद्ध प्रतिबन्ध लगाउने बताउँदै आएका छन्।

‘जनताको चाहनाबमोजिम’ अमेरिकी सामानमा कर लगाउने निर्णय गरिएको शुक्रबार करवृद्धिको घोषणा गर्दै भारतको अर्थ मन्त्रालयले बतायो। आगामी जुन २८–२९ मा जापानको ओसाकामा हुने विश्वका २० औद्योगिक राष्ट्रको सम्मेलनका क्रममा पनि करवृद्धिका विषयमा भारत र अमेरिकी नेताबीच छलफल हुन सक्ने बताइएको छ। भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशंकर र अमेरिकी समकक्षी माइक पोम्पेओबीच केही दिनपछि जापानमा हुने ‘जी–ट्वान्टी’ सम्मेलनमा भेटवार्ता हुने तयारी पनि रहेको छ। सोही सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच पनि भेटवार्ता हुनसक्ने अनुमान गरिएको छ।
सरकारी विवरण अनुसार भारतसँग अमेरिकी सामान तथा सेवाको व्यापार सन् २०१८ मा करिब एक खर्ब ४२ अर्ब अमेरिकी डलर बराबरको रहेको छ। भारतसँग अमेरिकी व्यापार घाटा करिब २४ अर्ब अमेरिकी डलर छ।

प्रकाशित: २ असार २०७६ ०२:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App