८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

स्थगन भए पनि प्रदर्शन जारी

हङकङ – सरकारले विवादित सुपुर्दगीसम्बन्धी विधेयक स्थगित गरे पनि हङकङमा प्रदर्शन जारी नै रहेको छ। चौतर्फी विरोध भएपछि हङकङ सरकारले मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्न सक्नेबारेको विधेयक हाललाई स्थगन गरेको शनिबार घोषणा गरेको थियो।

सरकारले विवादित विधेयक स्थगन गरे पनि आइतबार हजारौं प्रदर्शनकारीले सहरका विभिन्न क्षेत्रमा प्रदर्शन गरेको बिबिसीले उल्लेख गरेको छ। हजारौंको सहभागिता रहेको भीडले हङकङदेखि मुख्यभूमि चीनमा सुपुर्दगी गर्न मिल्नेबारेका विधेयकलाई स्थगन नभई खारेज गर्नुपर्ने माग गरेको बताइएको छ। हङकङकी प्रमुख कार्यकारी क्यारी लामले शनिबार तत्कालका लागि विधेयक स्थगन गरिएको घोषणा गर्दै ‘द्वन्द्व र विवाद’ उत्पन्न भएको माफीसमेत मागेकी थिइन्। साताभर विशाल प्रदर्शन भए पनि क्यारीले शुक्रबारसम्म विधेयक कुनै हालतमा पारित गरि छाड्ने बताएकी थिइन्।

हङकङमा चिनियाँ प्रभाव बढिरहेको प्रति चिन्तित कैयौं प्रदर्शनकारीले पछिल्लो तनावका लागि प्रमुख कार्यकारी क्यारी जिम्मेवार रहेको भन्दै उनको राजीनामासमेत माग गरेको बिबिसीले उल्लेख गरेको छ। अन्य दिनका प्रदर्शनको तुलनामा आइतबारको प्रदर्शन भने अत्यन्तै शान्तिपूर्ण रूपमा भएको थियो। केही दिनअघि मात्रै हङकङमा भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच हिंसात्मक झडप भएका कारण दर्जनौं घाइते भएका थिए।

आइतबार दिउँसो सरहको भिक्टोरिया स्क्वायरमा ठूलो भीड जम्मा भएको थियो। जसमध्ये अधिकांशले कालो लगाएका थिए वा सेतो फुल बोकेका थिए। आइतबारको प्रदर्शनमा १० लाख मानिसको उपस्थिति रहेको आयोजकहरुले दाबीसमेत गरेका छन्। प्रदर्शनकारीले ‘विद्यार्थीले दंगा फैलाएका छैनन्’ लेखको प्लेकार्ड पनि बोकेका थिए। बुधबारमात्रै हङकङ प्रहरीले विद्यार्थीको प्रदर्शनलाई दंगाको संज्ञा दिएको थियो। हङकङमा दंगा फैलाउनेलाई १० वर्षको जेल सजाय हुने कानुनी व्यवस्था रहेको छ। प्रहरीको भनाइप्रति कटाक्ष व्यक्त गर्दै प्रदर्शनकारीले त्यस्तो प्लेकार्ड बोकेका हुन्।

प्रदर्शनकारीमध्ये कैयौंले त प्रमुख कार्यकारी क्यारीले सुपुर्दगीसम्बन्धी विधेयकलाई स्थगन गर्नेबारे शनिबार गरेको घोषणाप्रति नै आशंका व्यक्त गरेका छन्। ‘हङकङवासीको भावनालाई क्यारी लामले वेवास्ता गरेकी छन्,’ मा नाम गरेका एक ६७ वर्षीय प्रदर्शनकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। प्रमुख कार्यकारी क्यारीले यत्रो प्रदर्शन हुँदा पनि यो विषय केही नभएको जस्तो गरेको उनको आरोप छ।

‘अर्को कुरा, प्रहरीको आक्रोशपूर्ण शैलीको शिकार भएका विद्यार्थीका लागि हाम्रो प्रदर्शन हो। हामीले उनीहरुको न्यायका लागि पनि लड्नु पर्ने छ,’ उनले भने।
पहिलो पटक प्रदर्शनमा सहभागी भएका चलोई यिम नाम गरेका एक २० वर्षीय प्रदर्शनकारीले भने, ‘हजारौं मानिस सडकका आएको मात्रै देख्ने र उनीहरुले मागेको विषय नसुन्ने हो भने क्यारी लाम पनि तानाशाह बनिरहेकी छन्, जसलाई हङकङवासीले स्वीकार गर्न सक्दैनन्।’ ताइवानमा एक हत्याकाण्ड भएपछि सुपुर्दगीसम्बन्धी कानुनमा संशोधन आवश्यक रहेको हङकङ सरकाले बताएको थियो। विधेयकले कानुनमा रहेका छिद्रहरु बन्द गर्ने र अपराधीका लागि हङकङ सुरक्षितस्थल नहुने सरकारले तर्क गरेको थियो।

हङकङले सुपुर्दगीसम्बन्धी विधेयकमा गर्न लागेको परिवर्तनमा मूख्य भूमि चीन ताइवान र मकाउबाट अपराधिक सुपुर्दगीको अनुरोध आएमा हङकङ अदालतले हरेक मुद्दाका आधारमा गरेको निर्णयमा आधारित भएर सुपर्दगी गर्न सकिने व्यवस्था गरिएको छ। ताइवानमा बिदा मनाउन गएका बेला हङकङका एक व्यक्तिले आफ्नी केटी साथीको हत्या गरेको आरोप लागेपछि ताइवान सुपुर्दगी गर्न नसकेको सन्दर्भ पारेर नयाँ विधेयक ल्याइएको थियो।

प्रकाशित: २ असार २०७६ ०२:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App