४ वैशाख २०८१ मंगलबार
समाज

न्युरोडमा दुई खण्ड पार्किङ

काठमाडौं – न्युरोडको धर्मपथ र विशालबजार अगाडिको भागमा स्मार्ट पार्किङ व्यवस्था सुरु गरिएको छ। आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले पिओयस मेसिनबाट क्युआर कोडसहितको बिल प्रिन्ट गरेर सेवा सुचारु गरे। मेयर शाक्यले स्थानीय र सरोकारवालासँगको लामो समय छलफल गरेर सेवा सञ्चालन गर्ने निष्कर्षमा पुगेको बताए। ‘भूमिगत र बहुतले पार्किङ् स्थल निर्माण गर्ने योजना पनि अघि बढिरहेको छ। हाम्रो प्राथमिक पार्किङ क्षेत्र भनेको बहुतले वा भूमिगत पार्किङ् नै हो,’ उनले भने, ‘त्यो व्यवस्थामा नपुगुञ्जेल सवारीधनी र स्थानीयको मागअनुसार अस्थायी रुपमा सडकको किनारालाई पार्किङ व्यवस्थापन गर्ने ठाउँ तोकेका हौं। यसले सवारीसाधन चालकलाई सेवा पुग्नेछ।’

महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञानेन्द्र कार्कीले, स्मार्ट पार्किङमा गरिने अभ्यास, स्मार्ट सहरी व्यवस्थापनमा सिकाइ हुने विश्वास व्यक्त गरे। उनका अनुसार सुरुवती चरण न्युरोडको दुई वटा खण्डमा सुरु गरिएको सेवालाई क्रमशः प्युखा, खिचापोखरी, धर्मपथ, पाकोलगायत ठाउँमा बिस्तार गरिनेछ। उक्त पार्किङमा एकपटकमा करिब ८ सय वटा मोटरसाइकल र ४० वटा गाडी पार्किङ गर्न सकिनेछ। ती ठाउँमा स्मार्ट अटोमेटेड पार्किङ सिस्टमबाट सञ्चालन हुनेछन्। न्युरोड जानुअघि उपभोक्ताले मोबाइलबाटै रियल टाइममा कुन ठाउँ खाली छ भनेर हेर्न र पार्किङ गर्ने ठाउँ बुकिङ गर्न सक्छन्। ठाउँ रिजर्भ नगरी पुग्नेले अगाडि राखिएको स्क्रिन हेरेर पार्किङ् गर्ने ठाउँ हेर्न सक्छन्। त्यस ठाउँको व्यवस्थापनका लागि गोप्रो क्यामरा सहितका पार्किङ सहयोगीले सवारी चालकलाई सहयोग गर्नेछन्।

महानगरपालिकाका अनुसार पार्किङ गर्दा दुई पांगे सवारीका लागि प्रति घण्टा २५ रुपैयाँ, चार पांग्रेका लागि प्रति घण्टा ८० रुपैयाँ शुल्क लाग्नेछ। यसरी संकलन गरिएको रकमको रेकर्ड सिधै महानगरको प्रणालीमा जानेछ। यो प्रणालीबाट पार्किङ स्थान बुकिङ गर्न पार्क केटिएम मोबाइल एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ। यो एप्लिकेसन एन्ड्रोइड र आओएस दुवै सिस्टमका मोबाइलमा उपलब्ध हुनेछ।

प्रकाशित: २ असार २०७६ ०२:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App