७ वैशाख २०८१ शुक्रबार
समाज

गिरानचौरका भूकम्पपीडितले पाए सुन्दर बस्ती

सिन्धुपाल्चोक- डेढ वर्ष अस्थायी टहरोमा कष्टप्रद दैनिकी गुजारेका मेलम्ची– ८ गिरानचौरका भूकम्पपीडित नयाँ घर सरेका छन् । कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले नेतृत्व गरेको धुर्मुस–सुन्तली फाउन्डेसनद्वारा निर्मित गिरानचौर एकीकृत नमुना बस्ती शुक्रबार हस्तान्तरण गरिएपछि स्थानीय पीडितले नयाँ घर पाएका हुन् । ६६ घर र एक सामुदायिक भवनसहितको बस्ती राष्ट्रपति विद्या भण्डारीले स्थानीयलाई हस्तान्तरण गरेकी हुन् । समुदायको तर्फबाट एकीकृत बस्ती व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर तामाङले घर–संरचना बुझेका थिए ।

नमुना बस्ती हस्तान्तरण गर्न राष्ट्रपति भण्डारी हेलिकप्टर चढेर आएकी थिइन् । उनले २३ घर, दुई चिल्डे«न पार्क, एउटा पार्किङ र दुई सार्वजनिक धारा रहेको ब्लक ‘ए’ समुदायलाई हस्तान्तरण गरिन् । २७ घर, चार चिल्डे«न पार्क, दुई सार्वजनिक शौचालय र चार सार्वजनिक धारा रहेको ब्लक ‘बी’ सीतारामका मातापिता बोधराज र कमला कट्टेलले हस्तान्तरण गरे । त्यस्तै, १५ घर, खेल मैदान र चौतारी, एक चिल्डे«न पार्क, दुई सार्वजनिक धारा रहेको ‘सी’ ब्लक कुञ्जनाका मातापिता हरिप्रसाद, सीतादेवी घिमिरेले समुदायलाई बुझाए ।

राष्ट्रपति भण्डारी फर्केलगत्तै पीडित पोका–पन्तुरा बोकेर क्रमशः टहरोबाट निस्कँदै नयाँ घर सर्न थालेका थिए । नेपाली राष्ट्रिय झन्डाको नीलो, सेतो र रातो रंगका चिटिक्क परेका घरमा सर्दा उनीहरू दंग देखिन्थे । ‘अत्यावश्यक सामग्रीसहित आ–आफ्ना घर स¥यौं,’ समितिका अध्यक्ष तामाङले नागरिकसँग भने । तामाङ पनि भूकम्पपीडित हुन् ।

भूकम्पपछि पहिलोपटक नयाँ घरमा भव्य तरिकाले तिहार मनाउने तयारी भएको उनले बताए । भूकम्पको घाउ र टहरोको अव्यवस्थित बसाइँका कारण उनीहरूले यसअघिका चाडपर्व राम्ररी मनाउन पाएका थिएनन् । ‘बत्ती गए विकल्पमा सोलार छ । झिलिमिलीमा तिहार मनाउने हो,’ तामाङले भने ।

राष्ट्रपति भण्डारीले कलाकार जोडी धुर्मुस–सुन्तलीको प्रयासको प्रशंसा गर्दै उनीहरूले बनाएको एकीकृत नमुना बस्तीले सरकारलाई नै चुनौती दिएको बताइन् । सरकारले भन्दा फाउन्डेसनले ठूलो काम गरेको प्रतिक्रियासमेत उनले दिइन् । ‘तराईमा मात्रै एकीकृत बस्ती देखेकी थिएँ । पहाडको गिरानचौरमा समेत बनेपछि यस्तो बस्ती देशैभर विकास गर्न सकिने देखियो,’ उनले भनिन् ।

जिरोकिलो–मेलम्ची सडकको सिन्धुखोलाबाट पाँच किलो मिटर उकालो हिँडेपछि पुगिने उक्त बस्ती ३५ रोपनी जमिनमा फैलिएको छ । स्वच्छ, हरियाली सहरी अवधारणा अनुसार बनाइएको प्रत्येक घरमा सोलार जडिएको बस्ती अपांगमैत्री, वातावरणमैत्री, बालमैत्री, भूकम्पमैत्री र पहिरोमैत्री छ । ह्विलचियर चढेर सिंगो बस्ती डुल्न र सबै घरमा पुग्न सकिन्छ ।

बस्तीमा तीन बाल उद्यान, चार बगैंचा, आठ सार्वजनिक धारा र चार शौचालय, चौतारी, खेल मैदान, प्रतीक्षालय तथा दुई गाडी पार्किङको समेत व्यवस्था छ । एकतले घरको अगाडि अनिवार्य फूलका दुई बिरुवा र पछाडि फलफूलका दुई वृक्षसमेत रोपिएको छ । ‘एकीकृत बस्तीमा पर्यटन प्रबन्ध गर्न होमस्टे सञ्चालन र जीविकोपार्जनका लागि सामूहिक तरकारीखेतीको समेत अवधारण अघि सारेका छौं,’ एकीकृत बस्ती व्यवस्थापन समितिका अध्यक्ष तामाङले भने ।

फाउन्डेसनका अध्यक्ष सीतारामले बस्ती निर्माणमा पाँच करोड १३ लाख ८५ हजार एक सय ८७ रुपैयाँ खर्च भएको बताए । उनका अनुसार बस्ती बनाउन देश–विदेशमा रहेका पाँच हजारभन्दा बढी व्यक्ति (संस्थासमेत) बाट ६ करोड १७ लाख एक हजार एक सय ३९ रुपैयाँ संकलन भएको थियो । बस्ती बनाउन लागेको कुल लागतमध्ये चार करोड ५२ लाख ४४ हजार दुई सय ८७ रुपैयाँ भुक्तानी भइसकेको छ । ६१ लाख चार हजार नौ सय रुपैयाँ भुक्तानी तिर्न बाँकी छ ।

गत वर्ष १२ वैशाखको भूकम्पले चर्काएको तामाङ समुदायको यो बस्ती २९ गतेको पराकम्पले ढालेको थियो । त्यसको एक वर्षपछि धुर्मुस–सुन्तलीले एकीकृत बस्तीको अवधारणा सार्दै निर्माण थालेका थिए । असार २० बाट मुख्य संरचना निर्माण थालेको फाउन्डेसनले चार महिनामै आकर्षक बस्ती बनाएर सम्बन्धित पीडितलाई हस्तान्तरण गरेको हो । बस्ती हस्तान्तरण कार्यक्रममा मह जोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) र कलाकार मनोज गजुरेल समेत उपस्थित थिए ।

टहरो छोडेर एकैपटक ठूलो संख्यामा पीडित पुनर्निर्माण भएको घरमा पहिलोपटक छिरेका हुन् । भूकम्पपछि प्रभावित जिल्लामा बनेको भूकम्पप्रतिरोधात्मक एकीकृत बस्ती यो पहिलो हो । यसअघि भूकम्पलगत्तै धुर्मुस–सुन्तलीले काभ्रेको पहरी बस्तीमा एकीकृत बस्ती बनाएका थिए ।

प्रकाशित: १३ कार्तिक २०७३ ०५:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App