coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

४८ पृष्ठ लामो प्रदेश–३ को ४७ अर्ब ६० करोड बजेटमा के छ ? (पूर्णपाठ)

मकवानपुर– प्रदेश नम्बर–३ सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार रुपैंयाको बजेट ल्याएको गरेको छ। प्रदेशसभा बैठकमा आइतबार प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले बजेट वक्तव्य प्रस्तुत गर्दै चालुतर्फ २४ अर्ब ४६ करोड ७९ लाख ९० हजार रुपैंया अर्थात् ५१ दशमलव ३९ प्रतिशत र पूँजिगततर्फ २२ अर्ब ८३ करोड ९८ लाख ९६ हजार रुपैंया अर्थात् ४७ दशमलव ९८ प्रतिशत विनियोजन गरेको बताए।

प्रदेश सरकारले ‘स्वास्थ्य, सुसंस्कृत र सुखी जनताः समाजवाद उन्मुख समृद्ध प्रदेश’ भन्ने मूल नाराका साथ तेस्रो आर्थिक वर्षको बजेट गत आव २०७५÷७६ मा भन्दा ११ अर्ब ९९ करोड ५२ लाख बढी ल्याएको हो। कूल बजेटको शुन्य दशमलव ६३ प्रतिशत अर्थात् ३० करोड रुपैयाँ वित्तीय व्यवस्थापनका लागि सरकारले विनियोजन गरेको छ। आगामी आवको आम्दानीतर्फ कर राजस्वतर्फ १५ अर्ब ४९ करोड ४९ लाख, अन्तरसरकारी अनुदानतर्फ १८ अर्ब छ करोड १३ लाख, अन्य राजस्वतर्फ सात अर्ब ३० करोड र राजस्व बचततर्फ छ अर्ब ७५ करोड १६ लाख ८६ हजार अनुमान गरिएको छ।

‘प्रदेश समृद्धिको आधारः श्रम सिर्जना, उत्पादन र रोजगार’, ‘निरक्षरतामुक्त प्रदेश तीन, पूर्ण साक्षर भएको उज्यालो दिन’, ‘प्रदेश तीनको ईच्छा, छोरी बुहारीलाई उच्च शिक्षा’, ‘प्रदेश तीनको सरोकार, महिलालाई सामाजिक र आर्थिक अधिकार’ जस्ता आकर्षक नारा दिएपनि क्षेत्रगत रुपमा स्पष्ट रुपमा बजेट विनियोजन गरिएको छैन्।
प्रदेशका एक सय १९ स्थानीय तहलाई एक अर्ब २५ करोड र समपूरक अनुदानतर्फ दुई अर्ब ४० करोड, प्रदेश पूर्वाधार विकासका लागि एक अर्ब ९८ करोड, खेलकुद पूर्वाधारका लागि ६८ करोड ४० लाख, मुख्य सामुदायिक अस्पतालहरुको पूर्वाधार र उपकरणका लागि ४१ करोड, भौतिक सबलीकरण र शैक्षिक गुणस्तर सुधारका लागि सामुदायिक विद्यालयलाई २४ करोड, सामुदायिक क्याम्पसहरुलाई २३ करोड विनियोजन गरिएको छ।

त्यस्तै, प्रत्येक निर्वाचन क्षेत्रमा विशिष्टिकृत नमुना कृषि फार्म स्थापना गर्न २० करोड, किसानलाई प्रोत्साहन गर्न १२ करोड, सिन्धुपाल्चोकमा बहु–प्राविधिक विद्यालय स्थापना र सञ्चालन गर्न ११ करोड, स्वास्थ्य परिक्षण वर्षका लागि ११ करोड, एक विद्यालय, एक नर्स कार्यक्रमका लागि छ करोड ६५ लाख छुट्याईएको छ।

४८ पृष्ठ लामो बजेट वक्तव्यमा प्रदेशलाई सहयोगापेक्षी सडक मानवमुक्त बनाउने, २०७८ सम्ममा बालविबाहमुक्त र २०८० सम्ममा बालमैत्री बनाउने, एक स्थानीय तह एक विशेष उत्पादनसहित कृषि क्षेत्र र पर्यटनका महत्वकांक्षी योजना पनि अघि सारिएको छ।

त्यस्तै, बजेटमा प्रदेश गौरवको आयोजनाको रुपमा पोष्टबहादुर बोगटी सुरुङमार्ग (भिमफेदी–कुलेखानी), पुष्पलाल प्रदेश चक्रपथ, हेटौंडा–फाखेल–फर्पिङ सडक स्तरोन्नती, मदनकुमार भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका साथै विद्युतीय सवारी साधन सञ्चालनमा प्राथमिकता दिइएको मन्त्री ढुङ्गेलले बताए।

प्रदेशलाई तीन वर्षभित्र फलफूल, तरकारी, पुष्प, मह, च्याउ, माछा, मासु, अण्डा र दूधमा तथा पाँच वर्षभित्र खाद्यान्नमा आत्मनिर्भर बनाउन बजेट राखिएको बताईएपनि स्पष्ट छैन। चालु आर्थिक वर्ष २०७५÷७६ को गौरवको योजना मुख्यमन्त्री स्वास्थ्य परिक्षण कार्यक्रमलाई पाँच जिल्लाबाट अन्य जिल्लामा विस्तार गरिने उनले बताए।

सन् २०२० देखि प्रदेश भ्रमण दशक मनाउने प्रदेशको १३ स्थानमा फलफूल र तरकारी भण्डारणका लागि कोल्ड स्टोर निर्माण गर्ने, एक घर एक धारा कार्यक्रम, कृषि पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने, कृषिमा यान्त्रिकरण, पशुपन्छी, जडिबुटी र वन विकास, युवा वैज्ञानिक प्रोत्साहनलगायतका कार्यक्रमसँगै मकवानपुरको मनहरी र सिन्धुलीको मरिनमा प्रदेश औद्योगिक क्षेत्र स्थापना गर्न बजेट विनियोजन गरिएको छ।

प्रदेश नम्बर ३ सरकारले चालु आव २०७५÷७६ का लागि ३५ अर्ब ६१ करोड ५६ लाख रुपैयाँ बजेट ल्याएको थियो। जसमध्ये चालुतर्फ १३ अर्ब ८६ करोड २५ लाख ९१ हजार रुपैयाँ अर्थात् ३८ दशमलव ९२ प्रतिशत र पूँजीगततर्फ २१ अर्ब ७५ करोड ३० लाख ९ हजार रुपैयाँ अर्थात् ६१ दशमलब ०८ प्रतिशत विनियोजन गरिएको थियो। त्यस्तै, प्रदेश सरकारले अघिल्लो आर्थिक वर्ष २०७४/७५ का लागि १ अर्ब २ करोड ५ लाख रुपैंयाको बजेट ल्याएको थियो।

प्रकाशित: १ असार २०७६ १५:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App