रियाद– साउदी अरबका युवराज मोहम्मद बिन सल्मान अल साउदले आफ्नो देशले क्षेत्रीय युद्ध नचाहेको बताएका छन्।
एक पत्रिकालाई आइतबार दिएको अन्तर्वार्तामा उनले कसैको दवावमा कुनै सम्झौता गर्न नडराउने पनि प्रष्ट पारे। 'यो अधिराज्य क्षेत्रीय युद्ध गर्न चाहँदैन, तर हाम्रो देश, जनता, सार्वभौमिकता र हाम्रो महत्वपूर्ण चासोको विरुद्धमा दिइने दवावबाट पछाडि हट्ने छैनौं,' अन्तर्वार्ताका क्रममा उनले भनेका छन्।
इरानको हालैको गतिविधिलाई लक्षित गर्दै युवराज सल्मानले यस्तो धारणा राखेकाे बताइन्छ। यमन संकटका बारेमा सोधिएको प्रश्नमा उनले राजनीतिक तरिकाले संकट समाधान गर्नु पर्नेमा जोड दिए। युवराज सल्मानले क्षेत्रीय सुरक्षा र स्थायित्वलाई आधार बनाएर अमेरिकासँग रणनीतिक सम्बन्ध कायम गर्नुपर्ने धारणा राखेका छन्।
साउदी पत्रकार जमाल खसोग्जीको पीडादायी हत्याका सम्बन्धमा उनले 'पूर्ण न्याय र विश्वसनीयता' साउदी अरबले चाहेको उल्लेख गरे। 'कपिपयले यसलाई राजनीतिक रुप दिन खोजेका छन्, त्यसलाई रोकौँ, बरु प्रमाणहरु छन् भने अदालतमा पेस गरौँ' उनले भने। रासस
प्रकाशित: १ असार २०७६ ११:१७ आइतबार