८ वैशाख २०८१ शनिबार
समाज

जनयुद्धका मृतक र वेपत्ता परिवारलाई राहत

खोटाङ– गृह मन्त्रालयले जनयुद्धको समयमा ज्यान गुमाएका तथा वेपत्ता पारिएका परिवारका लागि एक करोडभन्दा बढि राहत रकम पठाएको छ। जनयुद्धको समयमा मृत्यु भएका तथा बेपत्ता पारिएका व्यक्तिको नजिकको हकदारलाई प्रदान गर्नेगरी मन्त्रालयले आर्थिक वर्ष सकिन लाग्दा एक करोड २८ लाख ५० हजार रकम पठाएको हो।

२०५२ साल फागुन १ गतेदेखि २०६३ साल मंसिर ५ गतेको अवधिमा ज्यान गुमाएका जिल्लाका १ सय २६ सर्वसाधारण र ३९ सुरक्षाकर्मीमध्ये हालसम्म १० लाख पाउन बाँकी हकदारका लागि सहायता रकम आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जनयुद्धको क्रममा मृत्यु भएका तथा बेपत्ता पारिएका व्यक्तिको हकदारलाई हालसम्म पाएको रकम गणना गरी कुल १० लाखमा नबढ्ने गरी उपलव्ध गराउने शर्तमा रकम आएको सहायक प्रमुख जिल्ला अधिकारी श्याम राईले बताए।

मन्त्रालयले जेठ २३ गते पठाएको पत्रमा हालसम्म सो रकम नपाएका वा रकम पाउनै छुट भएका जनयुद्धका पीडित परिवारले मात्र सो आर्थिक सहायता पाउने उल्लेख छ। युद्धको क्रममा मृत्यु भएका तथा बेपत्ता पारिएका व्यक्तिको हकदारलाई नेपाल सरकारबाट १० लाख राहत तथा आर्थिक सहायता उपलव्ध गराउने कार्यक्रम अन्तरगत गृह मन्त्रालयले पठाएको रकम आगामी असार १० गतेभित्र आवश्यक कागजातसहित लिन सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। ‘युद्धकाक्रममा ज्यान गुमाएका सर्वसाधारण र सुरक्षाकर्मीका परिवारलाई १० लाख दिने सरकारको नीति अनुसार थप राहत रकम आएको हो’ सहायक प्रमुख जिल्ला अधिकारी राईले भने, ‘१० लाख पाउन बाँकी परिवारले मात्र यो रकम पाउने छ।’

युद्धका क्रममा ज्यान गुमाएका परिवारलाई राज्यले यसअघि किस्ता–किस्तामा राहत तथा सहयोग रकम उपलव्ध गराउँदै आएको छ। ज्यान गुमाउनेमध्ये हालसम्म ३८ जनाले मात्र १० लाख लिन बाँकी रहेको प्रशासनले जनाएको छ। सरकारले युद्धका पीडितका लागि अन्तिम पटक राहत तथा आर्थिक सहायता पठाएको हो।

प्रकाशित: १ असार २०७६ ११:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App