coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अत्यधिक गर्मी बढेपछि सर्लाहीमा विद्यालय बन्द

चर्को गर्मीबाट बच्न सर्लाहीको दक्षिणी भारतीय सीमा क्षेत्र संग्रामपुर स्थित चौतारामा जम्मा भएका स्थानीय। तस्बिर : नागरिक

सर्लाही- थेग्नै नसक्ने गरी गर्मी बढेपछि सर्लाहीको लालबन्दी नगरपालिकाका विद्यालयले पठनपाठन बन्द गरेका छन्। आईतबारबाट नगरपालिका भित्रका ४८ वटा सामुदायिक एवं २० वटा भन्दा बढी संस्थागत विद्यालयमा पठनपाठन बन्द गरिएको लालबन्दी नगरपालिकाले जनाएको छ।

केही दिनदेखि बढेको अत्यधिक गर्मीले विद्यालयमै विद्यार्थी बिरामी पर्न थालेको र आधासरो विद्यार्थी नै अनुपस्थित हुने गरेको जानकारी आएपछि नगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालय बन्द गरिएको नगरपालिकाका शिक्षा शाखाका संयोजक उपसचिव बासुदेव तिमल्सिनाले जानकारी दिए।

उपसचिव तिमल्सिनका अनुसार अर्को सूचना जारी नहुञ्जेल विद्यालय बन्द गर्न नगरभित्रका सबै विद्यालयलाई पत्र पठाइएको छ। गर्मीका कारण गरिएको अनिश्चित बिदा बर्खे विदाबाट कटौति गरिने समेत नगरपालिकाले जनाएको छ। गर्मी कम भएपछि अर्को सूचना जारी गरेर विद्यालय सञ्चालन गरिने उपसचिव तिमल्सिनाले बताए।

४ दिनयता जिल्लामा अत्यधिक गर्मी बढेको छ। बिहानैदेखि तात्न सूरु हुने मौसम दिउँसोपछि ४३ डिग्री सम्म पुग्ने गरेको छ। हावा नचली गुम्म मौसममा चर्को घाम लाग्ने गरेका कारण सर्वसाधारण वरपिपल, समी, अशोक, कदम जस्ता विरुवाको छहारी एवं चौतारमा बसेर दिन कटाउन बाध्य भएका छन्। विद्युत पटक–पटक अवरुद्ध हुने र आएको समयमा पनि विद्युतीय पंखाको हावा समेत तातो हुने गरेका कारण सर्वसाधारणहरु घर छाडेर रुखको छहारी एवं चौतारकै शरणमा दिन बिताउने गरेका हुन्।

बजारहरुमा सर्वसाधारणको चहलपहल ह्वात्तै घटेको छ। अत्यावश्यक काम बाहेक सर्वसाधारणहरु बजार निस्कन छाडेका छन्।

 

 

प्रकाशित: १ असार २०७६ ०६:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App