८ वैशाख २०८१ शनिबार
खेल

निरन्तर किफायती बलिङको आशा

इङ्ल्यान्ड– भारतले अन्तर्राष्ट्रिय क्रिकेटमा सुखद नतिजा आत्मसात् गर्दा तीव्र गतिका बलर भुवनेश्वर कुमारको प्रदर्शन पनि निर्णायक बन्ने गरेको छ।

यसै विश्वकपमा पनि भुवनेश्वरले सोही किसिमको छवि जोगाइराखेका छन्। भारतले विश्वकपमा दुई खेलमा शतप्रतिशत जित निकाल्दा भुवनेश्वरले राम्रो बलिङ प्रदर्शन गरिरहेका छन्। उनले कुल २० ओभर फ्याँक्दा ५ विकेट लिएका छन्। त्यस क्रममा निकै किफायती बलिङ गरेका भुवनेश्वरले ४.७४ को रनरेटमा प्रर्दशन गरिरहेका छन्।

उनी भारतको तीव्र गतिको बलिङका लागि सदैव पहिलो रोजाइमा पर्ने गर्छन्। सोही अनुरूप भुवनेश्वरले पनि प्रदर्शन गर्छन्। यस पटक उनले प्रशिक्षक र कप्तानको मन जित्दा अर्का तीव्र गतिका बलर मोहम्मद सामी बेन्चमै सीमित छन्। भारतले बलियो टोली अस्ट्रेलियालाई हराइसकेको छ। उक्त खेलमा भुवनेश्वरले १० ओभरमा ५ को रनरेटमा बलिङ गरेका थिए।

त्यस क्रममा उनले खेलमा जमिरहेका स्टेभन स्मिथ र मार्कुस स्टोनिसजस्ता खेलाडीलाई एकै ओभरमा आउट गर्दै अफ्ठ्यारो स्थितिमा भारतलाई खेलमा फर्काएका थिए। उनले दुई विकेट नलिँदासम्म अस्ट्रेलियाले खेलमा पकड जमाएको थियो। सो खेलमा अन्तिम विकेटको रूपमा उनले एडम जाम्पालाई आउट गर्दै तीन विकेट लिएका थिए।

दक्षिण अफ्रिकाविरुद्धको पहिलो सफलतामा पनि भुवनेश्वरको बलिङ यादगार रह्यो। उक्त खेलमा पनि १० ओभर बलिङ गरेका भुवनेश्वरले ४४ रन मात्र खर्चिएका थिए। सो खेलमा उनले सर्वाधिक स्कोरकर्ता क्रिस मोरिसलाई ४२ रनमा आउट गर्दै भारतलाई सहज जिततर्फ अग्रसर गराएका थिए। अर्का दक्षिण अफ्रिकी ब्याट्सम्यान इमरान ताहिरलाई आउट गर्दै उनले दुई विकेट पूरा गरेका थिए।

पाकिस्तानविरुद्धको खेलमा उनी जितका लागि निर्णायक बन्न सक्नेछन्। पाकिस्तानका ब्याट्सम्यान पनि उनको गल्तीमा मात्र ठूलो सट लगाउँदै सजक भएर खेल्ने प्रयासमा हुनेछन्।

प्रकाशित: १ असार २०७६ ०६:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App