५ वैशाख २०८१ बुधबार
विचार

ईश्वर नमान्ने प्रचण्डद्वारा पूजा र आरती !

भैरव रिसाल
काम्रेड प्रचण्डले गलेश्वर बाबाको विधिवत् पूजा र आरतीसमेत गरे। यो पूजा उनले आफ्नी श्रीमती र सहयोद्धा सीतादेवीको सुस्वास्थका लागि गरेको भन्ठानेको छु। पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कहिलेदेखि यस्ता मूर्तिपूजामा विश्वास गर्न थाले थाहा छैन र सार्वजनिक भएको जस्तो पनि लाग्दैन। माक्र्सवाद र मूर्तिपूजा कति संगत छ, कति अन्तर्निहित छ, कति अनुबन्धित छ र कति छ गलेश्वर बाबाको शिलापूजा, आरती र सीतादेवी दहालको गम्भीर बिरामी अवस्थाको तादात्म्य एवं तारतम्य ? त्यो पनि थाहा छैन। कां. प्रचण्डले गरेको बाबाको पूजा र आरतीको निहीतार्थ के हो थाहा छैन, साँच्चै भन्नुपर्दा। तर कहिलेकाहीँ यस्ता अनियमित आकस्मिकता उभिन आइपुग्छन्, जसबाट अकस्मात् छटपटी लाग्न थाल्छ, हुटहुटी हुन थाल्छ। यो त्यही छटपटी तथा हुटहुटीको परिणाम हो। गलेश्वर महादेवको पूजा गर्दा, आरती गर्दा उनको अनुहारमा जुन दयनीयता र भावातीतता देखेँ साँच्चै भावुक भएँ म पनि। उनी (प्रचण्ड) पार्टीको काममा हो कि सीतादेवीको स्वास्थ्य लाभका लागि तातोपानीमा उष्ण स्नानका लागि गएका हुन्, म्याग्दी ? त्यो पनि थाहा छैन औपचारिक रूपमा। जे भए पनि म सीतादेवी दाहालको स्वास्थ्य तुरुन्तै राम्रो होस्, सामान्य बनोस् र तन्दुरुस्त होस् भन्ने कामना गर्छु।

के गर्दैन मान्छे आफ्ना मान्छेका लागि !
मान्छे भनेको मान्छे नै हो। परको मान्छे, अज्ञात मान्छे पनि वेदनाले छटपटाएको देखेपछि त्यसै पनि भावुक बन्छ। यो स्वभाव हो मान्छेको र हो मान्छेपन पनि। त्यसमाथि आफ्नै श्रीमती, श्रीमान्, छोराछोरी, नातीनातिना गम्भीर बिरामी हुँदा भित्रैदेखि विश्वास नभएका कुरा पनि पत्याउन थाल्छ क्रमशः मान्छे। हो कि हो कि लाग्न थाल्छ। सुरुमा त एलोपेथिक उपचार नै गराउँछ सामान्यतः। जब डाक्टरी औषधिले छुँदैन तब लाग्छ, आयुर्वेदतिर। वैद्यबाकहाँ जान्छ, वैद्यखानाको ढोकामा पुग्छ। त्यहाँबाट पनि निको भएन, अब कहीँबाट पनि जाती भएन भने फलानालाई, फलानीलाई झारफुक गर्नेले निको पारे रे भन्ने सुन्यो भने उता पनि लाग्छ मान्छे। भूतप्रेत मन्सन्छ।  धामीझाँक्रीले भयो रे भन्ने सुन्यो भने जस्तै कट्टर सिद्धान्तवादी, अत्याधुनिक, धुरन्धर माक्र्सवादी, संघर्षशील भए पनि आफूभन्दा पनि श्रीमती वा श्रीमान् गम्भीर बिरामी भएको अवस्थामा के–के हो देखेका, सुनेका सबै विधि र विधा प्रयोग गर्न तत्पर हुन्छ। किनभने यो आममान्छेको स्वभाव हो, प्रकृति हो, अभ्यास हो र हो– अनन्य विश्वास पनि। कां. प्रचण्ड पनि सर्वप्रथम मान्छे हो नि ! अनि सीतादेवी उनकी श्रीमती हो र हो– जनयुद्धका दौरान सहयोद्धा पनि। अनि गलेश्वरको पूजा गरे, आरती गरे रोग भाग्छ भने किन नगर्नु ! त्यसै गरे होलान्, प्रचण्डले पनि।

प्रचण्डबाट पूजा र आरती
युवा एवं लोभलाग्दो पुत्र। अझ पुत्रमात्र हो र ! जनयुद्धका लामो समयसम्मका सहयोद्धा, आफ्ना संरक्षक, हिमाल अभियन्ता, आफ्नो राजनीतिक अभियानको विश्वसनीय अभियन्ता पुत्रको आकस्मिक मरणको असह्य पीडामा परेका कां. प्रचण्ड श्रीमतीको संवेदनशील स्वास्थ्य ठीक नभएपछि धैर्य गर्न पनि सहज भो र ! अनि हिजोका सशस्त्र जनयुद्धका बेला अनेक हृदयविदारक दुर्घटना र हत्या, हिंसा, मानव रगत, बीभत्स दृश्य सम्झँदा हुन्। मुटु भक्कानिँदो हो। जनयुद्धका दौरान चितौनको बाँदरमुढे घटना, जनकारबाही सम्झे भने झन् कति डाहा छटपटी हुँदो हो ! म त्यो पनि सम्झन्छु। जनयुद्धका दौरान संस्कृत पाठशालाहरूका विद्यार्थीउपर गरिएका अमान्य व्यवहार सम्झन्छु र गलेश्वर बाबालाई खुसी पारी आफ्नो अभीष्ट सिद्धिका लागि प्रार्थनारत प्रचण्डलाई देख्छु। अचम्म लाग्छ, छक्क पर्छु ! ती जनयुद्धका भयावह परिदृश्यको तुलना गर्ने हिम्मत हुँदैन। पुराना जनयुद्ध, हिंस्रक घटना बिर्सन खोज्छु, मुस्किल पर्छ। मेरो विचारमा नेता हुनेहरूले सग्लो नेतृत्व दिन सक्नुपर्छ ‘जनताले गरेको’ भनेर सहनु हुँदैन। खराब परिणाम आउने काम कठोर भएर भए पनि रोक्नुपर्छ। अन्यथा, कुशल नेतृत्व ठहरिँदैन।
अबीरको रासायनीक प्रभाव

एउटा दृष्टान्तः अबीर प्रयोग बढी हुने संस्कार बढ्दै छ। अबीरलाई बढी गाढा बनाउन रसायन मिसाउन थालिएको छ रे ! तसर्थ अबीर प्रयोगले छालामा प्रभाव पार्छ रे भन्ने सुनेँ। कतिपय नेताको ध्यान आकर्षण गर्न खोजेँ। राम्रो ‘रेस्पोन्स’ भएन। ‘जनताले प्रयोग गर्छ’ जस्ता उत्तर आए। जनता भनेको त जनता नै हो आखिर। जनताले भन्यो भन्दैमा ‘केमिकल’ मिसिएको अबीर वा अन्य सामग्री निर्धक्क प्रयोग गर्नु भएन नि ! नेता भनेपछि तत्काल जनताले मन नपराउने भए पनि भन्नैपर्छ, मेरो विचारमा। नेतृत्व भनेकै यही हो। कां. प्रचण्ड क्रमभंग गर्नेमा सोखिन नेता हो भन्ठान्छु। गलेश्वर पूजा र आरती क्रमभंगताको अर्को उपमा भएको छ भन्दा अतिशयोक्ति नहोला। प्रचण्ड एउटा रहस्य थियो, जनयुद्ध कालमा। कति जना भन्थे– प्रचण्ड भन्ने मान्छे नै छैन। कोही त ज्ञानेन्द्र नै प्रचण्ड होसम्म भन्थे। प्रचण्डलाई दिल्लीमा गिरिजाप्रसाद कोइरालाले, सिलगुडीमा माधव नेपाललगायतले भेटेर कुरा गरी फर्केपछि त्यो भ्रम अलि पातलिएको हो। अन्यथा, कैयौँ अवधिसम्म त प्रचण्ड रहस्यको एउटा भाँडोकै रूपमा थियो।

राजा पूरै गले, पुनःस्थापना भो
सात राजनीतिक दलसँग दिल्लीमा १२ बुँदे समझदारीपछि कां. प्रचण्ड संवैधानिक बाटोतिर डोरिने क्रम प्रारम्भ भएको भन्दा अन्यथा मानिने छैन। अब सात दल र माओवादीसहितको संयुक्त राजनीतिक शक्ति संयुक्त संघर्षमा दह्रैसँग उœयो। राजा ज्ञानेन्द्र गल्दै गए। राजाले २०६३ सालको नयाँ वर्षको उपलक्ष्यमा शुभकामना सन्देशमा पनि राजनीतिक दाउपेच मिसाए। दलहरू तै फसेनन् ! आन्दोलन चर्कँदै गयो र सोही वैशाख ८ मा अर्को घोषणा गरेर फकाउने चेष्टा गरे फेरि। त्यो घेषणा मान्न भारतले कर्णसिंहलाई पठाएर निकै दबाब दियो। जनता भयभीत थिए, त्राहिमाम थिए। तर दलहरूले धर्म नछाडेकाले राजा पूरै गले। परिणाम २०६३ वैशाख ११ मा झन्डै ४ वर्षअघि २०५९ जेठ ८ मा विघटित संसद पुनः स्थापना गरे। २०६१ माघ २० मा गठित आफ्नै अध्यक्षताको मन्त्रिपरिषद् भंग गरी २०६३ वैशाख १९ गते गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्रित्वमा आन्दोलनकारी शक्तिहरूको मन्त्रिपरिषद् गठन गरे तर यो सरकारमा माओवादी पार्टी पसेन। २०६३ असार ३ गते गृहमन्त्री कृष्णप्रसाद सिटौला कास्कीको सिक्लेस गै हेलिकप्टरबाट कां. प्रचण्डलाई काठमाडौँ उतारी प्रधानमन्त्री निवास बालुवाटार पु¥याए। त्यहीँ शान्ति सन्धि भयो। यताबाट प्र.मं. गिरिजाले उताबाट पुष्पकमल दहाल प्रचण्डले हस्ताक्षर गरे।  प्रचण्ड सार्वजनिक भए। बल्ल प्रमाणित भो, प्रचण्ड रहस्य होइन मान्छे नै हो।   
प्रचण्ड एउटै, स्वरूप धेरै

पुनःस्थापित संसदमा माओवादीहरू पनि प्रवेश गर्ने भए। त्यसपछि २०६३ माघ १ गते  माओवादीबाट ८३ जना संसदमा थपिए, ३२८ सदस्यीय अन्तरिम व्यवस्थापिका संसद बन्यो। २०६३ जेठ ४ को प्रतिनिधिसभाले कार्यकारी अधिकार मन्त्रिपरिषद्मा रहने र सरकारको नाम पनि नेपाल सरकार रहने, सेनाको नाम नेपाली सेना हुने र सेना परिचालन मन्त्रिपरिषद्ले गर्नेजस्ता घोषणा ग¥यो। २०६३ चैत १८ गतेदेखि माओवादी पार्टी सरकारमा पनि प्रवेश ग¥यो। प्रचण्ड र डा. बाबुराम भट्टराइ सरकारमा गएनन्। २०६४ चैत २८ मा संविधानसभाको निर्वाचन भो। माओवादी पार्टी सबैभन्दा बढी स्थानमा विजयी भयो। कुनै दलले पनि बहुमत ल्याउन सकेनन्। संविधानसभाको पहिलो बैठक २०६५ जेठ १५ मा राजतन्त्र उन्मूलन र गणतन्त्र स्थापनाको घोषणा भो। २०६५ भदौ ६ गते पुष्पकमल दाहाल प्रधानमन्त्री भए। प्रचण्डले प्रधानमन्त्री बन्दा शपथ लिने समारोह वा अन्य कुनै पनि समारोहमा टोपी लगाएको, दौरा सुरुवाल लगाएको देखिएन। यहाँसम्म कि शपथको वाक्यको ‘ईश्वर साक्षी राखी’ भन्ने अंशसमेत उच्चारण गरेनन्। तर अहिले आएर तिनै प्रचण्ड गलेश्वर बाबाको पूजा र आरती गर्नेसम्म भए। समयको चक्रले कस्तो मान्छेलाई कस्तो बनाउँदोरहेछ भन्ने उदाहरण दिन खोजेको मात्र हुँ।

प्रकाशित: १ असार २०७६ ०२:५० आइतबार

शपथ प्रचण्ड पूजा ईश्वर