coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

करोडौंको खानेपानी अवरुद्ध

ठाटीकाँधमा सडक खन्दा भत्किएको खानेपानीका पाइपहरू। तस्बिर : गोविन्द/नागरिक

दैलेख - मापदण्डविपरीत सडक खन्दा निर्माण सम्पन्न भएको ठाटीकाँध खानेपानी योजनाको मेन–लाइन क्षतिग्रस्त भएको छ। ठाटीकाँध गाउँपालिकाबाट विसल्ला जाने सडक अन्धाधुन्ध खन्दा उद्घाटन तयारीमा रहेको सो खानेपानी योजनाका पाइपहरू क्षतिग्रस्त भएका हुन्। जथाभावी पाइप काटिएपछि ठाटीकाँध गाउँमा अहिले खानेपानी अवरुद्ध भएको छ। मापदण्डविपरीत सडक खनिएको र जताततै पाइप फुटेको स्थानीय बताउँछन्। ठाटीकाँधमा एक करोड ७८ लाख खर्च गरेर निर्माण भएको खानेपानी योजना सडककै कारण अवरुद्ध हुन पुगेको हो। ठाटीकाँधभरि खानेपानीका दुई सय ६७ धारा छन्।

ठाटीकाँध गाउँपालिकामै सडक खन्दा सियाला खानेपानी योजनाको मुहानमा रहेको संरचना पुरियो। सियाला खानेपानी योजनामा ३८ लाख ५८ हजार रुपैयाँ खर्च गरिएको थियो। सियालामा २७ धारा समुदायका लागि निर्माण गरिएको छ भने दुईवटा धारा विद्यालयमा जोडिएको छ। तर मुहानको संरचना पुरिँदा गाउँमा खानेपानी अवरुद्ध भएको छ।

जम्बुकाँधको छिपछिपे खानेपानी योजनाअन्तर्गत ११ लाख रुपैयाँ खर्चेर १० वटा धारा बनाइयो। तर मध्यपहाडी लोकमार्गको नाममा सडक खन्नेहरूले आयोजनाका पाइप छियाछिया हुने गरी भत्काए। पाइप भत्किएपछि खानेपानी पिउनबाट स्थानीय वञ्चित भए। सडक खन्ने क्रममा पूर्णरूपमा क्षतिग्रस्त भएको खानेपानी मुहान र मेन–लाइन अहिलेसम्म बनाइएको छैन।

क्षतिग्रस्त संरचना कसले मर्मत गर्ने भन्ने अलमल छ। मर्मतको जिम्मा भत्काउने मध्यपहाडी आयोजनाले लिने कि चामुण्डा विन्द्रासैनी नगरपालिकाले लिने भन्ने यकिन हुन सकेको छैन। मध्यपहाडी लोकमार्गकै कारण जम्बुकाँधक गडेखोला खानेपानी योजनाको मेनलाइन ध्वस्त भएको छ। २६ लाख ६ हजार रुपैयाँमा निर्माण भएको सो आयोजनाअन्तर्गत बनाइएका २५ वटा धारा अहिले सुक्खा छन्।

त्यसैगरी, नौमुले गाउँपालिकामा निर्माण सकिएको डोब खानेपानी योजना गोगनपानी–सल्लेरी जाने नयाँ सडकले पूरै ध्वस्त पारिदिएको छ। निर्माण भएका धारा र मेनलाइनमा क्षति हुँदा खानेपानी अवरुद्ध भएको छ। अहिलेसम्म मर्मत सुधार नहुँदा पानी यत्रतत्र बगेको छ। सो आयोजनाअन्तर्गत ६४ लाख २६ हजार रुपैयाँमा ६० वटा धारा निर्माण गरिएको छ।

स्थानीय सरकार र राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गबाट सडक निर्माणका क्रममा हेलचक्र्याइँ हुँदा करोडौंको खानेपानी योजनाहरूमा क्षति भएको हो। सडक खन्ने नाममा एकपछि अर्को गर्दै खानेपानीको पाइप भत्काइएपछि स्थानीय आक्रोशित छन्। चामुण्डा विन्द्रासैनी नगरपालिकाका नगरप्रमुख सूर्यबहादुर शाहीले मध्यपहाडी लोकमार्गका कारण क्षतिग्रस्त भएका दुईवटा खानेपानी योजनाका संरचना तत्काल बनाउन मध्यपहाडी लोकमार्गका कर्मचारीसँग छलफल भइरहेको बताए। उनले नगरपालिकाले खानेपानीको मुहान संरक्षण तथा वृक्षरोपण गर्ने विशेष योजना बनाइरहेको पनि जानकारी दिए।

ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले प्राविधिकहरूमार्फत खानेपानी योजनाहरू प्रभावित नहुने गरी सडक खन्न र क्ष्तिग्रस्त संरचना चाँडो मर्मत गर्न सम्बन्धित पक्षलाई दबाब दिइरहेको बताए। नौमुले गाउँपालिका अध्यक्ष भदे बुढामगरका अनुसार खानेपानी योजना पुनः सञ्चालनका लागि गाउँपालिकाले काम गरिरहेको छ।

सडकको कामले करोडौंको संरचना क्षतिग्रस्त भएपछि दैलेखमा निर्माण भएका खानेपानी योजनासँगै विकास–निर्माणको दिगोपनमा प्रश्न थपिएको छ। ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले नगर तथा गाउँपालिकासँग मिलेर निर्माण गरेको खानेपानी योजना सडकले भत्काउन थालेपछि भएका संरचनाहरूको दिगोपनमा प्रश्न जोडिएको हो। यस्तो योजनाको दिगोपनका लागि सरोकारवालाहरू सजग हुनुपर्ने स्थानीय बताउँछन्। ‘विकासको नाममा सडकले खानेपानी भत्काएर ठुलो क्षति भएको छ,’ नौमुलेस्थित डोब खानेपानी योजनाका अध्यक्ष रनबहादुर रावतले भने, ‘भएका पूर्वाधार संरक्षणका लागि सबै गम्भीर हुनुपर्छ।’

प्रकाशित: १ असार २०७६ ०२:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App