७ वैशाख २०८१ शुक्रबार
अन्य

तीन कविता

नवीन प्यासी

अराजक प्रेम  

म जासुस प्रेमको चिहानमाथि सुतेको एउटा प्रेमी

उठेर यो चिहानबाट

म दुनियाँको एउटा यस्तो प्रतिबन्धित बाटोमा हिँड्न चाहन्छु

जहाँ तिमी र मलाई मात्र हिँड्ने छुट होस्,

जहाँ तिम्रो सुगन्ध चोर्ने बतासको हातमा हतकडी होस्,

जहाँ तिम्रो सुन्दरता चाहिने फूलहरू हिरासतमा होऊन्,

जहाँ तिम्रो मुस्कान कुरिरहेको क्षितिजमा अँध्यारो छाइसकेको होस् ।

हिँड्दै गर्दा तिमीले–

अचानक मेरो हात समातेर मुटुमा आतंक मच्चाइदिनु

चन्द्रमाले हड्बडाएर आफ्नो अक्षमा हिँड्न बिर्सियोस्

र, थप्पड लगाओस् औँसीले सम्झाउने बहानामा

बादल अत्तालिएर कोकोहोलो गरोस्

र खसालोस् पानीका केही हरफ तिम्रो केसको सम्राज्यमा !

रात आफै डराएर कुलेलम ठोकोस्

र, छोडोस् घाँटी थिचिएको एकजोर उज्यालो बिहानी,

जहाँ तिम्रो भाकामा भाका मिलाउने

चराहरूको चुच्चामा खतराको संकेत होस्,

जहाँ तिम्रो वैँशालु घाँघरभित्र छिरेर विलिन हुन खोज्ने

तिम्रै आफ्नो छायाँलाई काँडेतारको बार होस्,

जहाँ तिम्रो चौबन्दीको कुर्सीमा बस्ने

मेरो आँखालाई खिसी गर्ने

पहरेदार तुनालाई सत्ताच्युत गरिएको होस् ।

म तिम्रो पैतालाका छापहरू पनि मेटिएको देख्न चाहन्छु

ताकि ती छापहरू पहिल्याउँदै–पहिल्याउँदै

कोही पनि तिम्रो पाउजुको संगीत सुन्न नआइपुगून् ।

जसरी आइपुग्दैन किरणहरूको रङ

मंसिर–पुसले कोरेका शीतलहरको स्केचसम्म ।

जसरी आइपुग्दैन गुडेको चक्का पछ्याउँदै–पछ्याउँदै

चक्काले नै कुल्चेको सुदूर ठाउँको माटोको मन ।

जसरी आइपुग्दैन भाग्यरेखाहरू विपनाको जहाज चढेर

खुसीको लगेज घिसार्दै–घिसार्दै जीवनको एयरपोर्टसम्म ।

उसैगरी नआइपुगोस् झुक्किएर पनि पुतलीको जुलुस

तिमीले टेकेको भूगोल वरिपरि...

जहाँ तिम्रो रूप पिएर लर्खराउने ऐनामा ढुांहरू ठोक्किउन्,

जहाँ तिम्रो आँसुको व्यापार गर्ने नदीमा बगरहरूले छापा मारुन्,

जहाँ तिमीलाई अल्मल्याउने सहरमाथि समयले युद्ध छेडोस् ।

म जासुस प्रेमको चिहानमाथि सुतेको एउटा प्रेमी !

उठेर यो चिहानबाट

म दुनियाँको एउटा यस्तो प्रतिबन्धित बाटोमा हिँड्न चाहन्छु

जहाँ तिमी र मलाई मात्र हिँड्ने छुट होस् ।

र, नहोस् रोइरहेका सल्लाहरूको देशमा

चखेवाको जवानी हराएको गीत ।

 

तिमी आउनुपूर्व 

तिमी आउनुपूर्व

फुटाउनेछु सप्पै काँचको गिलास

बेस्सरी पछारेर फुटाउनेछु

च्यात्नेछु भित्ताबाट

रङ खुइलिसकेका पुराना स्केचहरू

सल्र्यामसुर्लुम च्यात्नेछु

बनाउनेछु अस्तव्यस्त सम्पूर्ण कुरालाई

बेसुरले अस्तव्यस्त बनाउनेछु

ताकि तिमी आएपछि मात्र व्यवस्थित बनून् सबै कुरा ।

तिमी आउनुपूर्व

रित्तो बनाउनेछु मन पनि बस् रित्तो बनाउनेछु

छेडिदिनेछु मलाई घुरेर हेरिरहने

घडीको आँखा नमज्जाले छेडिदिनेछु

ताला लगाइदिनेछु

अलमल्याउने किताबको मुखमा

निसंकोच ताला लगाइदिनेछु

बनाउनेछु ओछ्यानलाई मुर्दासमान बनाउनेछु

ताकि कसैले केही थाहा नपाओस् हाम्रो मौन संवाद ।

तिमी आउनुपूर्व

म फुटाल्नेछु ऐनालाई केही नभनी झ¥याम्म फुटाल्नेछु

चुँडाल्नेछु फूलहरू डालीबाट थाहै नपाइ चुँडाल्नेछु

बोलाउनेछु अँध्यारोलाई सुस्तरी बोलाउनेछु

ताकि हावाले पनि चाल नपाओस् हाम्रो सम्बन्धबारे ।

तिमी आउनुपूर्व

जलाउनेछु असमानताको इतिहासलाई

निर्धक्क जलाउनेछु

घिसार्नेछु आफ्नै अहम्लाई

घाइते बनाएर घिसार्नेछु

लखेट्नेछु दुखाइरहने विगतलाई

बिनापश्चात्ताप लखेट्नेछु

ताकि झुक्किएर पनि दुखिरहन नपरोस् ।

तिमी आउनुपूर्व

बनाउनेछु तिमी आउने पुरानो बाटो

अझ फराकिलो बनाउनेछु

भत्काउनेछु हामीबीचको पर्खाल

चुपचाप भत्काउनेछु

उखेल्नेछु देवथानको ढुंगा बेरोकटोक उखेल्नेछु

जसले पु¥याइरहन्छ टाढा

झन्झन् टाढा पु¥याइरहन्छ

हामी दुई पुग्नैपर्ने पर...को क्षितिजलाई ।

 

इजलासमा ईश्वर 

वेश्यालयको बिरामी खाटले केहीपलको विश्रामपछि

जब बजाउन थाल्छ शोकधुन

तब पाक्न थाल्छ चुल्हामा उत्साहका गेडाहरू,

कोर्न थाल्छ कलिला हत्केलाले रंगीन भाग्यरेखाहरू,

छरिन थाल्छ अँध्यारो कोठैभरि अबोध मुस्कानका किरणहरू ।

सेतो साडीको पानामा...

जब लाइन लाग्न थाल्छ मर्दपनका हस्ताक्षरहरू

तब सल्काउन थाल्छ अगरबत्तीले आफ्नै जिन्दगी,

ठोक्काउन थाल्छन् घन्टीहरूले आफ्नै निधार,

सुरु हुन्छ मान्छेजस्तो देखिने पुजारीको पूजा ।

जब बिउँझन्छ थाकेको बिहान

केही थोपा उज्यालो बोकेर

तब राख्न पाउँछ बालकले

विद्यालयको आँगनमा आफ्ना पाइलाहरू,

भन्न पाउँछ गुरुहरूलाई

आफ्नो ठेगाना र बाबुको नाम,

छुन पाउँछ किताबभित्रको देशको मानचित्र

र, राख्न पाउँछ छातीमा हात ।

नाप्न पाउँछ फराकिलो आकाशमा

आफ्नो आँखाको क्षेत्रफल,

बोक्न पाउँछ झोलामा सपनाको मंगलग्रह,

खेल्न पाउँछ उसको चाहनाभन्दा

लामो बाटो डुलिहिँड्ने पुतलीहरूसँग ।

उनले पनि...

बुझ्न पाउँछिन् भलाद्मी र बुख्याँचाबीचको फरक,

हेर्न पाउँछिन नांगो सडकमाथि

मार्सिडिज, टोयोटा र मारुतीका इनअग्र्यानिक किचाइ,

नियाल्न पाउँछिन् सभ्यसहरको अश्लील दैनिकी ।

जब उनी निभ्नै लागेको साँझमा

खहरेले सोहरेको फुस्रो भुइँजस्तो ओँठ,

केहीवटा बटम चुँडिएको चोली,

र, उनको जवानीभन्दा निराश साडीसँग फर्कन्छे

तब लाग्छ उनलाई

कि ईश्वरहरू अचेल मन्दिरमा बस्दैनन् !

प्रकाशित: १३ कार्तिक २०७३ ०४:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App