८ वैशाख २०८१ शनिबार
अर्थ

पर्यटकबाट उठाउनु पर्ने ३३ लाख राजश्व उधारो

हुम्ला– सिमकोट र नाम्खा गाउँपालिकाले सिमकोट विमानस्थलमा पर्यटकबाट सरसफाई शुल्क बापत जेष्ठ महिनामा उठाउनु पर्ने ३८ लाख ४३ हजार सात सय राजश्वमा  शुक्रबार सम्म जम्मा ५ लाख मात्र उठेको छ। बाँकी ३३ लाख ४३ हजार सात सय रकम पछि दिने गरी पैसा नउठाइ उधारोमा पर्यटकलाई छोडिएको खुलासा भएको छ। सिमकोटको बाटो भएर आउने पर्यटक बड्न थाले पछि  सिमकोट गाउपालिकाको राजश्वमा पनि वृद्धि  हुने भनिएको भए पनि गत वर्ष ९ हजार ९ सय १५ जना भारतीय पर्यटक र अन्य ८ सय २७ जना गरी १० हजार ७ सय ४२ जना पर्यटकबाट १ करोड २१ लाख ४७ हजार राजश्व उठेको थियो। तर यस वर्ष राजश्वमा कमी आउने देखिएको छ। पर्यटक आए पनि राजश्व बापतको रकम नउठी उधारो रहेकोले समस्या देखिएको छ।

सिमकोट हुँदै आउने प्रति पर्यटक सार्क भित्रका भए एघार सय र सार्क बाहिरकालाई पन्ध्र सयका दरले पर्यटन शुल्क उठाउने गरिएको भए पनि सङ्घीयता कार्यान्वयनमा आएपछि पर्यटन मन्त्रालयले दोहोरो शुल्क नउठाउन स्थानीय सरकारलाई पत्राचार ग-यो। तर गाउँपालिकाले गाउँसभाबाट पारीत गराई सरसफाई शुल्क बापत भन्दै उतिकै रकम उठाउँदै आएका छन् । उक्त रकम मध्ये ६० प्रतिशत सिमकोटले र ४० प्रतिशत नाम्खाले लिने गरेको छ। गएको जेठ ३ गतेदेखि ३१ गते सम्म ३ हजार ३ सय १७ जना भारतीय पर्यटक र एक सय ३० जना तेस्रो मुलुकका पर्यटकबाट ३८ लाख ४३ हजार ७ सय राजश्व उठ्नु पर्नेमा अहिलेसम्म पाँच लाख मात्र उठेको सिमकोट गाउपालिका बाट राजश्व संकलनका लागि सिमकोट विमानस्थलमा खटिएका कर्मचारी दिपेन्द्र भण्डारीले बताए।

विमानस्थल हाताभित्र नागरिक उड्डयन प्राधिकरणको अनुमति बिना कसैले पनि कुनै किसिमको शुल्क उठाउन पाउँदैन। तर सिमकोट गाउँपालिकाले नियम विपरीत सिमकोट विमानस्थलमा राजश्व संकलन केन्द्र स्थापना गरी सरसफाईको नाममा सिमकोट भएर आउने पर्यटकहरुबाट शुल्क उठाई रहेको छ। सिमकोट नागरीक उडड्यन कार्यालयका प्रमुख गौरीशंकर शाह विमानस्थल हाताभित्र सरसफाईका नाममा रकम उठाउन नमिल्ने बताउँछन्।

‘हामीले पर्यटक आए बापत लिइने शुल्क कानुन संवत लिने गरेका छौं। यो पालिकाको आर्थिक ऐनको परीधिमा रहेर सरसफाई शुल्क उठाउने गरेको छौं। राजश्व उधारोको कुरामा हामीले प्रत्येक पर्यटकबाट नभई ट्राभल एजेन्सीका स्थानीय प्रतिनिधिले जिम्मा लिएको यो पैसा जसरी पनि उठ्छ।’ सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दर्जीले भने। पछिल्लाे समय कैलाश मानसरोवर दर्शनका लागि हुम्लाको बाटो भएर जाने पर्यटकको स‌ंख्या बृद्धि भएको छ।

 

प्रकाशित: ३२ जेष्ठ २०७६ ०८:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App