भक्तपुर भेलुखेलकी पूर्णिमा नागजुको अनुहार उनको नामजस्तै उज्यालो छ । बिस्केटको लिंगो ठडाउने ठाउँमा धानको रास ठडाइरहेकी उनी विगतको तुलनामा यसपटक धान बढी फलेको सुनाउँछिन् । बिहानदेखि साँझसम्म धानकै ओल्टाइपल्टाइमा लागेकी उनलाई तिहारअगावै अन्न भकारीमा भित्राउन भ्याइनभ्याइ छ । किनकी उनलाई नयाँ धान लक्ष्मीपूजामा चढाउनु छ ।
‘यही चार दिनको चटारोले सिंगो साल खेप्नु पर्छ,’ उनले भनिन्, ‘यही हाम्रो सबैथोक हो ।’ साढे पाँच रोपनी जग्गाको धान फिँजारिरहेकी उनले धानसँगै घरमा खुसी भित्रिने सुनाइन् ।
भूकम्पले घरआँगन भत्काएपछि उनीहरू मठमन्दिरका आँगन तथा खुल्ला चौरमा धान सुकाउँदै छन् । यस्तो लाग्छ मन्दिरको गजुरबाट धानको वर्षा भइरहेको छ ।
पूर्णिमाजस्तै उज्यालो छ यहाँका किसानको अनुहार । उनीहरू पनि धानको गेडासँगै घरघरमा खुसी भित्रिने सुनाउँछन् । भूकम्पले लुटेको खुसी अन्नको गेडाले भित्रिने गरेको उनीहरू बताउँछन् । त्यसैले उनीहरूको लागि अन्न नै देवता भएको छ, जसले उनीहरूलाई जीवनप्रति झनै आशावादी बनाएको छ ।
भूकम्पले घरआँगन भत्काएपछि उनीहरू मठमन्दिरका आँगन तथा खुला चौरमा धान सुकाउँदै छन् । यस्तो लाग्छ मन्दिरको गजुरबाट धानको वर्षा भइरहेको छ । सिँचाइको राम्रो सुविधा नपाएका किसान यो वर्ष समयमा वर्षा हुनुलाई भगवानको कृपा ठान्छन् ।
‘पानी समयसमयमा परेकाले धान राम्रै भएको छ,’ लक्ष्मीकेसरीले भनिन्, ‘घर भत्के पनि धानको रास ठडिएको छ ।’ टहरोमा बस्दै आएकी उनले माइतीघरमा धान भण्डारण गर्ने गरेको सुनाइन् ।
भूकम्पले भक्तपुर नगरको मुख्य बस्तीमा १७ हजार घरमध्ये झन्डै नौ हजार घरलाई क्षति पु¥याएको छ । त्यसैले यहाँका कतिपय किसानले टहरामै धान भित्राएका छन् त कतिले आफन्तको घरमा थन्काएका छन् । यहाँका खाली चोक तथा आँगन धानले भरिएका छन् । सडक किनारमा सुकाइरहेको धान नियालेर यहाँ घुम्न आउने पर्यटकसमेत रमाएका छन् । धानको धुलोको बेवास्ता गर्दे उनीहरू किसानको जीवनशैलीमा रमाएका छन् ।
यहाँमात्र हैन, उपत्यकाका अन्य सहरमा पनि धान भित्राउने चटारो छ । कोही खेतमा धान काट्दैछन् त कोही घरआँगनमा धान सुकाउन व्यस्त छन् । खेतमा धान काट्ने–चुट्नेको रमाइलो छ । दिनभरको कामपछि खेतको आलीमा बसेर खाजा खादै गरेको दृश्य झनै रमाइलो लाग्छ । खेतको धानले अहिले घरआँगन पहेंलपुर देखिएको छ ।
पुराना नेवारी बस्तीमा भने मठमन्दिरको प्रांगण नै धान सुकाउने थलो बनेको छ । अन्नको देवता रातो मच्छिन्द्रनाथको जात्रा मनाएका बुङमतीका किसान मन्दिर ढले पनि बुङमतीस्थित मच्छिन्द्रनाथको मूर्तिमा धानको बाला चढाएर धान भित्राउँदै छन् । पानी अनुकूल भएकाले उत्पादन राम्रो भएकोमा उनीहरूको अनुहार खुसी छाएको छ ।
त्यस्तै ललितपुर सानागाउँका किसान आफैंले बुनेका सुकुलमा बिस्कुन फिँजाएर बसेका छन् । खोकनाका सबैजसो घरअगाडि धान उकेर्नेको भीड छ । कोही पंखा चलाएर धान बत्ताउँदै छन् त कोही नाङ्ला नचाउँदै धानको धुलो उडाउँदै छन् । ‘खेत र धान सुकाउने खलामा खुसीयाली छ,’ साना गाउँकी चिरिमाया महर्जनले भनिन्, ‘हाम्रो लागि धान नै सबैथोक हो, त्यसैले हामी धानमा रमाएका छौं ।’
प्रकाशित: १३ कार्तिक २०७३ ०४:०५ शनिबार