७ वैशाख २०८१ शुक्रबार
समाज

रमाइला बालकथा

निर्भिका केसी
कक्षा : ९, काठमाडौं प्रज्ञाकुञ्ज स्कुल, नयाँ बानेश्वर।
‘सजनाको साहस’ र ‘दाइँ गर्ने दिन’ हालसालै छापिएका सचित्र बालकथाका पुस्तक हुन्। दुवै कृतिका सर्जक गोपीकृष्ण ढुंगाना हुन्। यी दुई बालकथाका पुस्तकमा प्रज्वल थापा मगरले चित्रहरू बनाएका हुन् भने सांग्रिला बुक्सले छापेको हो। यी बालकथा पुस्तकको मुल्य १४५ रुपैयाँ पर्छ।

सजनाको साहस बालकथामा सजना नाम गरेकी बालिकाको साहसले भाइलाई सबैभन्दा शक्तिशाली जनावार बाघको पन्जाबाट बचाएको कथा प्रस्तुत गरिएको छ। स्कुल बिदाको दिन सजना र उनको भाइ गाउँका साथीभाइसँग मिलेर चौरमा खेलिरहेकी थिइन्। त्यसैबेला जंगलबाट बाघ आउँछ। सबै जना खेल्न छोडेर भाग्छन्। तर सजनाको भाइ सानो भएकाले भाग्न सक्दैन। बाघले उसलाई झम्टिएपछि ऊ आत्तिएर बेहोस हुन्छ।

बाघले भाइलाई घिसार्दै लगेको देखेर सजना डराउँछिन्। त्यसबेला उनलाई बाघको डरभन्दा भाइको माया लागेर आउँछ। उनी साहस बटुलेर भाइलाई तान्छिन्। भाइलाई अर्कोतिरबाट बाघले तान्छ। त्यतिबेला सजनाको गुहारगुहार भन्दै चिच्याएको सुनेर गाउँले भाला, खुकुरी लट्ठी बोकेर त्यहाँ आइपुग्छन्। गाउँलेलाई देखेर बाघ भाग्छ। बेहोस अवस्थामा रहेको सुजनलाई अस्पताल पु¥याइन्छ। यो खबर गाउँ, समाज हुँदै देशभर फैलिन्छ। उनको साहसलाई कदर गर्दै पुरस्कृत गरिन्छ। सबैले सजनालाई ‘साहसी केटी’ भनेर चिन्छन्।

दाइँ गर्ने दिन पुस्तक सहरी बालबालिकालाई चासो लाग्ने विषय भएकाले पनि पढ्न रमाइलो छ। मंसिरमा धान काटिसकेपछि गरिने दाइँको प्रसंगलाई प्रस्तुत गरिएको छ। किसानले काटेको धान खेतबाट खमारमा ल्याई कुन्यू लगाएर राखेका हुन्छन्। दाइँ गर्ने दिनमा खमार (खलो) को बीचमा मियो गाडेर त्यसमा चारपाँचवटा गोरु बाँधिन्छ। गोरुले दाइँ गर्ने बेला त्यहाँ परालमा खेल्दा केटाकेटी धेरै रमाउँछन्।

दाइँ गर्ने दिन केटाकेटी परालमा घुघुत्ती खेलिरहेका थिए। विनिताले सहरबाट आएकी नम्रतालाई पनि खेल्न लिएर गइन्। नम्रता सुरुमा नखेली साथीले खेलेको हेर्छिन्। उनलाई पनि रमाइलो लाग्छ र उनी पनि खेल्न थाल्छिन्। दाइँ गर्ने दिन त्यो घरमा मीठा परिकार पाक्छन्। दाइँ सकिएपछि सबैले ती मीठा परिकार बाँडेर खान्छन्।
दुवै बालकथा रमाइला छन्। दाइँ गर्ने दिन गाउँले परिवेशलाई समेटेर लेखिएको बालकथा हो। यसको भाषा पनि सरल छ। कथा पढिसकेपछि जोकोहीलाई गाउँघरको सम्झना आउँछ। गाउँमा घर नहुनेले पनि एकपटक गाउँ गएर दाइँ गरेको हेर्न पाए हुन्थ्यो भन्ने ठान्छन्।

कथाको सुरुवातमै दाइँ गर्ने शब्दको अर्थलाई पनि अलि खुलाएर ब्याख्या गरिदिएको भए मजस्ता धेरै सहरीया बालबालिकालाई दाइँ गरेको प्रसंग बुझ्न अझै सहज हुन्थ्यो होला। डरभन्दा साहस ठूलो हो भन्ने सन्देश सजनाको साहस बालकथाले दिएको छ। सजनाले देखाएको साहसले उनको भाइको ज्यान बच्यो। यो निकै प्रशंसायोग्य कुरा हो।

हामीले पनि खेल्दा खेल्दै यस्तै कुनै घटना भइहाले आत्तिनु र डराउनु हुँदैन। साहस जुटाएर समस्याको समाधान गर्नतर्फ लाग्नुपर्छ भन्ने सन्देश यस कथाले दिएको छ। कथा काल्पनिक लागे पनि सत्य घटनामा आधारित छ। पढ्दा निकै रमाइलो लाग्नुका साथै हौसला पनि बढाउँछ। दाइँबारेको कथा पनि निकै सरल र प्रेरणादायी छ। सहरमा बस्ने बालबालिकाले चामल पसलमा पाइन्छ भन्ने बुझेका सन्दर्भ सुनिन्छ। धानलाई दाइँ गरेपछि त्यसपछि सुकाएर मिलमा लगेपछि चामल बन्छजस्ता सन्दर्भ पनि बालबालिकाले बुझ्नेछन्। यस्तै वास्तविक कुरो बुझ्न यस्ता कृतिले सहयोग पुग्ने लेखक ढुंगानाको भनाइ छ।

प्रकाशित: ३२ जेष्ठ २०७६ ०४:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App