७ वैशाख २०८१ शुक्रबार
अन्य

विश्व शाक्य ‘ट्याम’

सञ्जीव पौडेल

कुनै पनि सभा, समारोह निर्धारित समयमै सुरु भयो भने पोखरेलीहरू भन्छन्, ‘यो त विश्व शाक्य समय पो भयो त।’ कुनै पनि कार्यक्रम निर्धारित समयमै सुरु हुनुपर्ने कुरालाई व्यवहारमै लागू गरेका छन् सर्जक विश्व शाक्यले। हुन पनि कार्यक्रममा आउने निम्तालुको समय महत्वपूर्ण हुन्छ। आयोजकहरूले कार्यक्रममा ढिलाइ गरेर उनीहरूको समय बर्बाद पारिनु अपराध मान्छन् उनी।

एकपटक मोती जयन्तीका अवसरमा आयोजित कार्यक्रम सुरु हुने समयमा ‘गोरखापत्र बाजे’ (स्व. चन्द्रकान्त पौडेल) र शाक्य मात्र पुगेछन्। त्यसपछि गोरखापत्र बाजेलाई सभापति बनाई कार्यक्रम सक्ने तयारी गरिरहँदा पाँच मिनेटपछि अरू तीन जना थपिएपछि क्रमशः उपस्थिति बाक्लो भएको थियो।

समय पालनाका सम्बन्धमा अर्को घटना पनि उनको स्मृतिमा छ। एउटा आवासीय विद्यालयको उनी आधिकारिक फोटोग्राफर थिए। एउटा कार्यक्रमको फोटो खिच्न जाँदा विद्यालयका पालेले आफ्नो अधिकार प्रयोग ग¥यो र ‘भित्र कार्यक्रम हुँदै छ’ भनेर गेटमै आधा घन्टाभन्दा बढी कुराइदियो। पछि भित्र जाँदा ढिला आएको भनेर प्राचार्यको गाली खानु परेपछि दुःखी बनेका उनी अर्को पटक सोही विद्यालयमा बोलाउँदा निर्धारित समयभन्दा आधा घन्टा ढिला गए। कार्यक्रम सकिइसकेको थियो, पहिलेझैँ प्राचार्यको झर्किलो स्वर केही बेर सुने, क्रुद्ध अनुहार हेरेर भने, ‘बल्ल थाहा पाउनुभयो सर, समय कति महŒवपूर्ण हुन्छ भन्ने कुरा ? अघिल्लो पटक मलाई गेटमा कुर्दा कति गाह्रो भयो होला, सोच्नुस् त।’

यो घटनापछि विद्यालयले उनलाई सधैँ यथासमयमै काम गराएको स्मरण गर्छन् उनी। आज पनि उनी कुनै कार्यक्रममा आयोजकभन्दा अगाडि (निर्धारित समयमा) नै पुग्छन् र आयोजकलाई नै लाजले पानीपानी पारिदिन्छन्। कहिले आयोजकलाई प्याच्च भनेर समयको सही पालना गर्न सांकेतिक दबाब दिन्छन् र आधा घन्टा कुर्दा पनि कार्यक्रम सुरु नभएमा चुपचाप उठेर हिँड्छन्। स्पष्ट स्वभावका शाक्य पेशाले फोटोग्राफर भएको कारण उनमा समय पालनाको चेत अलि बढी छ। अत्यन्त छोटो समयको अन्तरले अत्यन्त मूल्यवान् दृश्य क्यामेराले कैद गर्न नसक्ने बताउँदै क्यामेराका कुशल शिल्पी समयको सही पालना सबैले गरेमा विकास पनि समयको सापेक्षमा हिँड्ने दाबी गर्छन्।

फोटोग्राफर 
उनको जीवनका तीन आयाम छन्, जसमध्ये फोटोग्राफरका रूपमा विश्व शाक्यलाई उनी जीविकोपार्जनसँग जोड्न मन पराउँछन्। पोखरामा रहेर आज उनीसँग जे छ, त्यो फोटोग्राफीकै कारण भएकाले फोटोग्राफीलाई मुख्य पेशा मान्छन्। पोखरामा फोटोग्राफीको इतिहास वि.सं. २०१७ सालतिर सुरु भएको तर फोटो जेनिथ खुलेपछि नै फोटोग्राफीमा नयाँपन आएको दाबी गर्छन् उनी।

‘आफू कलाकार पनि भएको र कुची चलाउँदा आफूमा आएको रङ संयोजनको ज्ञान र कलाचेतले फोटोग्राफीलाई समेत कलात्मक बनाउन सहयोग पुग्यो,’ उनले भने। उनले प्रकृति र संस्कृतिलाई फोटोमा उतारेर पोखराको पर्यटकीय विकासमा फोटो स्टुडियोमार्फत् टेवा पु-याए। ग्रिटिङ कार्डको चलन थिएन त्योताका, उनी आफैँले फोटो टाँसेर ग्रिटिङ कार्डको चलन सुरु गरेको र पोखराका महत्वपूर्ण दृश्यको फोटो टाँसिएको कार्ड विदेशीले पनि किनेर लगेको सम्झन्छन्।

पोखरामा फोटो धुलाइ हुँदैनथ्यो, रिल बोकेर काठमाडौँ जानुपथ्र्यो। कलर प्रिन्टका लागि हङकङ पठाइन्थ्यो। पोखरामा वि.सं. २०४१/०४२ सालताका गोशेली कलर ल्याब खुलेपछि फोटो छाप्न अन्यत्र जानुपर्ने दुःख हटेको बताउँछन् उनी। गुणस्तरीय फोटोग्राफीका लागि निकै कठिनाइ भएको सुनाउँछन् उनी र आफूमा भएको फोटोग्राफीको रुचि यसरी अभिव्यक्त गर्छन् – केही कार्यक्रममा त अरूले एक रिल फोटो खिच्दा कुनै ३-४ रिल फोटो खिचिसक्थेँ।’
यही रुचिले उनलाई पोखराको फोटोग्राफीमा स्थापित बनायो।

उनले पोखरा फोटोग्राफर संघको अध्यक्ष हुँदा सामूहिक फोटो प्रदर्शनी शुभारम्भ गरे। पोखराले फोटो पनि प्रदर्शन गर्न मिल्छ भन्ने कुरा त्यही कार्यक्रमबाट थाहा पायो। वि.सं. २०२९ सालमा पोखरामा चित्रकला प्रदर्शनी र एकल फोटो प्रदर्शनी पनि पहिलोपटक वि.सं. २०४१ सालमै सुरु गरेका हुन् उनले।हालसालै ‘पोखरा हिजो र आज’ नामक फोटो पुस्तक प्रकाशन गरेका छन् उनले। पुस्तकले केही दशक अगाडिको पोखरा र पछिल्लो दशकको पोखराको तुलनात्मक फोटो सँगसँगै प्रस्तुत गरेको छ। पोखराका सांस्कृतिक, सामाजिक, धार्मिक, व्यापारिक आदि विविध पक्षलाई फोटोमा उतारेर पोखराको सहरीकरणका विविध पाटालाई उनले सुन्दर फोटोमार्फत् पुस्तकमा चित्रित गरेका छन्। नयाँ पुस्ताका लागि पोखराको इतिहासका बारेमा ज्ञान दिन फोटो पुस्तक सहयोगी देखिन्छ।

९ वर्षअगाडि नै पाण्डुलिपि तयार भए तापनि प्राविधिक कारणले ढिला गरी पुस्तक प्रकाशन गरेको बताउँछन् उनी। पोखरा आउने पर्यटकका लागि पुस्तक पोखराको कोसेलीका रूपमा अत्यन्त उपयोगी हुन सक्छ।

व्यंग्यकार 
पोखरामा रहेर व्यंग्य निबन्ध लेख्ने निबन्धकार थिए यमनाथ देवकोटा। शाक्यलाई देवकोटाको  व्यंग्य लेखनले चुम्बकीय रूपमा आकर्षण ग¥यो। त्यसपछि उनी देवकोटाको संगतमा रहे, उक्त संगतले व्यंग्य लेखनमा लाग्न प्रेरणा मिल्यो। लेखनको क्रम विद्यालय तहबाटै थालेका उनी व्यंग्य लेखन पोखरामा जुन रूपमा अगाडि आउनुपर्ने हो त्यो हुन नसकेको तर्क गर्छन्। तेजनाथ घिमिरेले काव्यमा व्यंग्य लेख्ने गरेको र पछि शेषराज भट्टराई, चूडामणि खनालहरू पोखराको व्यंग्य लेखनमा थपिएको बताउँछन् उनी।

पञ्चायत कालभर अभिव्यक्ति स्वतन्त्रता नभएका बेला व्यंग्य लेखनको निकै ठूलो प्रभाव देशभरि थियो। त्यस समयमा लेखिने व्यंग्यमा कलात्मक चेतना र शैलीशिल्प निकै प्रभावकारी रहने गरेको बताउँछन् शाक्य। प्रजातन्त्र पुनस्र्थापनापश्चात् लेखनमा ठाडो शैली हावी भएर आयो, जसले साहित्यमा कलात्मकता नाश गरी समग्र व्यंग्य  शिथिल बनेको ठान्छन् उनी। पछिल्लो समय पोखरामा व्यंग्य लेखन सेलाएर गएकोमा उनी चिन्तित छन्। व्यंग्य लेखनमा विशेष अध्ययन, अनुसन्धान एवम् यसको विकासका लागि बहसका कार्यक्रम आयोजना गर्नुपर्ने औँल्याउँदै उनी भन्छन्– पोखरामा साहित्यका विविध कार्यक्रम हुने गरे पनि व्यंग्य लेखनका बारेमा कार्यक्रम नहुनु दुःखद् कुरा हो।

व्यंग्य निबन्धमा उनको कलम प्रभावकारी ढंगले अगाडि बढ्थ्यो। तर, उनले व्यंग्य लेख्न छाडेकै दशक नाघिसक्यो। उनको कलम सुतेको भने छैन। पछिल्लो समय बौद्ध दर्शनसँग सम्बन्धित भएर आफ्नो लेखनी चलाउँछन्। तत्कालीन मल्टीपर्पोज हाइस्कुल (हालको राष्ट्रिय उच्च मावि) मा पढ्ने क्रममा हरेक शुक्रबार बाल सम्मेलन हुँदा कविता लेख्न थालेका हुन् उनले। त्यसै समयमा प्रकाश कोविदका उपन्यासको प्रभावमा परेर उनले ‘मिलन’ नाम गरेको उपन्यास पनि लेखे। आज पनि त्यो उपन्यास उनको डायरीभित्र जतनसाथ छ। तर, उनी यसलाई प्रकाशनमा चाहिँ ल्याउने मुडमा छैनन्।

कला, साहित्य र फोटोग्राफीका त्रिवेणी शाक्यले पहिलो पटक २०२८ सालमा ‘राष्ट्रपुकार’मा कविता प्रकाशन गरेर साहित्यमा प्रवेश गरेका हुन्। उनका व्यंग्यसम्बन्धी १०, बौद्धदर्शनका १० र अन्य ८ गरी कुल २८ पुस्तक प्रकाशन भइसकेका छन्।

कला, साहित्य र फोटोग्राफीमा मात्रै नभई बौद्धदर्शनमा समेत उनको गहिरो रुचि छ। यतिबेला उनी न त फोटोका लागि व्यावसायिक रूपमा क्यामेरा चलाउँछन् न त साहित्य लेखनमै सक्रिय छन्। आजकल ध्यान गर्छन्, विद्यार्थी पढाउँछन् र समाजसेवामा समर्पित छन्।

भौतिक दृश्यसँग क्यामेराको लेन्सको मितेरी लगाएर खेलिरहेको मान्छे कसरी एकाएक ध्यानमार्फत् आत्मिक खेल खेल्न थाल्यो त ? प्रश्न सुन्नासाथ उनी बौद्ध दर्शनमा सानैदेखि रुचि रहेको सुनाउँछन्। आफ्नो २० औँ जन्मदिनका अवसरमा एक जना साथीबाट ‘धम्मपद’ पुस्तक उपहार पाएको र त्यसको अध्ययनपछि आफूभित्र बौद्धचेत र आत्मिक संवेग जागृत भएको सुनाउँछन्। त्यस प्रकारको संवेगले उनलाई २४-२५ वर्षको उमेरमै माछामासु खान छोड्नेसम्म बनायो। तर, त्यसले लामो समयसम्म निरन्तरता भने प्राप्त गर्न सकेन। जाग्रत अवस्थाको संवेगलाई नेवारी परिकारमा बानी परेको उनको जिब्रोको स्वादग्रन्थीले विस्थापित गरिदियो। उनी धम्मपद पुस्तकको अध्ययनले आफूमा आन्तरिक संवेग जागृत भए तापनि त्यसको भेउ पाउन लामो समय लागेको सुनाउँछन्।

उनको त्यो सुषुप्त बौद्धचेत त्यतिबेला पुनर्जागृत भयो जति बेला उनले ‘आत्मदर्शन’ पुस्तक पढे। सुभद्रा भन्तेबाट वि.सं. २०३९ सालतिर ‘आत्मदर्शन’ (विपश्यना साधनासम्बन्धी पुस्तक) प्राप्त गरेपछि उनको जीवनले नयाँ मोड लियो। यही पुस्तकले उनलाई लेन्स मात्र चलाउने होइन कि ध्यान साधनातर्फ लाग्न खास रूपमा प्रेरित ग¥यो। हिन्दीमा अनूदित ‘आत्मदर्शन’ पुस्तकको अध्ययनबाट ध्यान साधनामा लागेका उनी त्यस पुस्तकको ज्ञानलाई नेपाली भाषामा अनुवाद गरी अरू धेरैलाई ध्यान साधनाको महत्ता बुझाउन पाए बेस हुन्थ्यो भन्ने सोच्न थाले। उनले उक्त पुस्तकलाई नेपाली भाषामा अनुवाद त गरे। तर, त्यसको प्रकाशन गर्ने अनुमति सहजै पाएनन्। ध्यान साधनाको शिविरमा बसेर अनुभव प्राप्त नगरेको व्यक्तिले पुस्तक लेख्न र प्रकाशन गर्न नपाइने नियम थाहा पाएपछि उनी तत्कालै विपश्यना साधनाको १० दिने शिविरमा हाजिर भए। उक्त साधनापछि बल्ल उनलाई पुस्तक प्रकाशनको अनुमति मिल्यो।

त्यसो त उनी ध्यान साधनामा लाग्न थालेपछि उनको हरेक कुरामा छिट्टै प्रतिक्रिया गर्ने स्वभावमा ‘डिस्क ब्रेक’ लागेजस्तै भयो। साधनामा लागेपछि अरूलाई उपदेश दिने र आक्रोश प्रस्तुत गर्नुभन्दा आफूभित्रै शुद्धता ल्याउनु महŒवपूर्ण रहेको सत्य बोध हुने अनुभव उनी सुनाउँछन्। पहिले स–सानो कुरामा पनि निकै कडा प्रतिक्रिया गर्ने आफ्नो बानी सम्झँदै उनी भन्छन्, ‘त्यही प्रतिक्रियामुखी प्रवृत्तिले आफूलाई व्यंग्य लेखनतर्फ आकर्षित गरेको रहेछ, जब ध्यानसाधनामा म व्यस्त हुन थालेँ त्यसपछि ससाना मात्रै होइन गम्भीर प्रकृतिका आरोपसमेत सहजै सहन सक्ने क्षमता विकास हुन थाल्यो। त्यसले प्रतिक्रियामा होइन कि कर्ममा विश्वास गर्ने स्वभाव निर्माण हुन थाल्यो। लाग्छ– मेरो व्यंग्य लेखनमा यही चेतनासँगै पूर्णविराम लाग्यो।’

व्यंग्य भनेको बेथितिप्रतिको तीव्र र ठाडो प्रतिक्रिया हो, साधनाले प्रतिक्रिया जनाएर मात्र बेथिति अन्त्य हुँदैन भन्ने चेतना दिन्छ अनि मान्छे सत्कर्ममार्फत् बेथितिविरुद्ध लड्न थाल्छ। यस प्रकारको लडाइँ नै वास्तविक क्रान्ति भएको र यसैबाट समाजको आमूल परिवर्तन सम्भव भएकोतर्फ उनी संकेत गर्छन्। जीवनका वास्तविकताको बोध गर्न साधनाको विकल्प नभएको र बालबालिकालाई सानैदेखि यस प्रकारको संस्कारमा हुर्काउन आवश्यक रहेको बताउँछन् शाक्य। पछिल्लो समय उनको धेरैजसो समय परोपकारका कार्यमा व्यतीत हुने गरेको छ।

अन्त्यमा
हिजो क्यामेरा चलाउँदा होस् वा आज ध्यान साधनामा हृदय लगाउँदा, उनलाई फूलहरूले सधैँ लोभ्याई नै रहे। उनी फूल अति मन पराउँछन्। उनको घरको छत, बगैँचा मात्र होइन गमलामा पनि विभिन्न प्रजातिका फूलहरू मौरी र पुतली डाक्दै मुस्कुराइरहेका भेटिन्छन्। कतिपय फूलको उनलाई नामसमेत थाहा हुँदैन। तर, उनी यत्तिकै बस्दैनन् ती प्रजातिका फूलको न्वारन गरिदिन्छन् आफैँ पण्डित बनेर। फूलको आकार, प्रकार, सुवास आदिको मापदण्ड बनाएर नाम जुराइदिन्छन् उनी।

सिंगो पोखरामै खरो स्वभावको मान्छेका रूपमा चिनिने उनी भन्छन्, ‘म जे बोल्छु त्यही गर्छु।’ उनको खरो स्वभाव कतिपयलाई मन पर्दैन र उनलाई टर्रो मान्छेका रूपमा पनि लिने गरेको पाइन्छ। बाहिर जति टर्रो स्वभावमा उनी देखिन्छन् त्यत्तिकै कोमल दिल छ उनको। मान्छेमा पछिल्लो समय हराउँदै गएको सहयोगी भावना निकै बलियो गरी उनको मनमा बास बसेको छ। उनलाई राजनीतिकर्मीका झुटा आश्वासनप्रति सधैँ वितृष्णा छ। राजनीति सबैभन्दा शुद्ध मनले गर्नुपर्ने कर्म भएको तर नेपाली राजनीतिमा त्यो मृगतृष्णा मात्र भएकोमा गुनासो छ उनको।

‘जस्ता जनता उस्तै नेता’ भन्ने कुरामा सहमत हुँदै देशको समग्र कुसंस्कार परिवर्तनका लागि ध्यान र साधना नै उत्तम विकल्प हुन सक्ने विचार व्यक्त गर्दै उनी असल आचरण नै बढ्दो भ्रष्टाचार रोक्ने रामवाण हुने धारणा राख्छन्। अरूलाई दोष लगाउन सजिलो भएको तर आफूले त्यही काम गर्नुपरेमा निकै कठिन हुने बताउँदै उनी कमजोरी होइन कि सबल पक्ष खोज्ने संस्कारको विकास गर्न सकेमा सुन्दर नेपाल थप सुन्दर बन्न सक्ने बताउँछन्। क्यामेराको लेन्सदेखि ध्यानमार्फत् छैटौँ ‘सेन्स’ सम्मको शाक्यको यात्रा मानवहितमा निरन्तर अगाडि बढोस्।

प्रकाशित: ३२ जेष्ठ २०७६ ०३:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App