काठमाडौं- सरकारले १५ जिल्लामा व्यावसायिक बंगुरपालन कार्यक्रम सञ्चालन गर्ने भएको छ । मासुमा आत्मनिर्भर बन्ने घोषणा गरेको सरकारले युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न यो कार्यक्रम ल्याएको हो ।
झापा, सुनसरी, काभ्रे, चितवन, कास्की, तनहुँ, बाँके, बर्दिया, दाङ, कैलाली, धनकुटा, मकवानपुर, नवलपरासी, सुर्खेत, कञ्चनपुरमा विशेष प्याकेज कार्यक्रम सञ्चालन गर्ने भएको छ । विभिन्न जिल्लामा किसानले बंगुर पाल्दै आएको भए पनि सरकारले यो व्यवसायलाई थप प्रोत्साहित गर्न नयाँ कार्यक्रम ल्याएको पशुपक्षी विभागले जनाएको छ ।
मूल्य शृंखलामा आधारित यस कार्यक्रममा किसानलाई बंगुरको खोर निर्माण, जैविक सुरक्षा, दाना बनाउन लगायत आर्थिक र प्राविधिक सहयोग गर्ने कार्यक्रम छ । लक्षित किसानले चार लाख रुपैयाँसम्म अनुदान पाउनेछन् ।
मासुका लागि सहज र राम्रो आम्दानी हुने भएकाले बंगुरपालनको प्रवद्र्धनमा टेवा पु¥याएको पशुपक्षी मन्त्रालयले जनाएको छ । पुरानो फार्मको सुधार गर्दै, नयाँ फार्म स्थापनासहित व्यावसायीकरण गर्न सहयोग गरिएको हो । सस्तो र कम खर्चमा धेरै आम्दानी गर्न सकिने भएकाले किसान पनि आकर्षित छन् ।
१५ मध्ये दुई जिल्लामा बंगुर व्यवसाय फार्म नमुनाको रूपमा अघि बढाइनेछ । कास्की र झापामा बंगुरपालनलाई नमुनाको रूपमा विकास गर्न करिब १४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको विभागले जनाएको छ । त्यहाँ बंगुरका बच्चा उत्पादनदेखि मासु उत्पादन, प्याकेज गरेर विदेशसमेत निर्यात गर्ने सरकारी योजना छ । ‘दुई जिल्लामा बंगुरपालनका लागि नमुना फार्म बनाउने तयारीमा छौं,’ पशुपक्षी विकासका पशु विकास अधिकृत मोती लामिछानेले भने, ‘निजी क्षेत्रको सहकार्यमा कार्यक्रम सञ्चालन गर्छौं ।’
दुई जिल्लामा व्यावसायिक बंगुरपालनमा अग्रसर हुने र लगानी गर्न सक्ने किसानसँग साझेदारी गर्ने विभागको योजना छ । ‘ती जिल्लामा बंगुरपालनको नमुना फार्म बनाउँछौं,’ लामिछानेले भने, ‘त्यहाँ गएपछि बंगुरपालनको सबै चक्र हेर्न पाइने व्यवस्था हुन्छ ।’ बंगुरको मासु विदेश आयात गरेर वैदेशिक मुद्रा आर्जन गर्ने राम्रो अवसर भएकाले त्यसलाई पनि प्राथमिकतामा राखेको विभागले जनाएको छ । ‘एउटै फार्मभित्र बंगुर काटेर मासुको प्याकेजिङ गर्ने व्यवस्था मिलाउँछौं,’ उनले भने, ‘गुणस्तरीय मासु उत्पादन प्राथमिकतामा छ ।’ त्यसका लागि कार्यविधि बनाएर कार्यान्वयन चरणमा जाने सरकारी योजना छ ।
नेपालमा करिब १२ लाख तीन हजार बंगुर पालिएको पशुपक्षी विभागले गत साउनको प्रतिवेदनमा उल्लेख गरेको छ । वार्षिक २० हजार एक सय ३५ मेट्रिक टन उत्पादन हुन्छ । बंगुर विगतमा जनजाति समुदायले मात्र पाल्दै आएकामा पछिल्लो समय अन्यले पनि व्यावसायिक रूपमा पाल्न थालेका छन् । नेपालमा खपत हुने मासुको करिब ६ प्रतिशत बंगुरले ओगट्ने सरकारी अधिकारी बताउँछन् ।
यहाँ चोंचे, हुर्रा, बामपुड्के, जंगली बँदेल, पाख्रीबास, पिग्मी बँदेल, धराने कालो बंगुरलगायत स्थानीय जात पालिएको छ । स्थानीय जात छाडा छाडेर पाल्न सकिने, आफैं आहार खोजेर खाने, स्थानीय वातावरणसँग घुममिल हुन सक्छन् ।
त्यसैगरी ल्यान्डरेस, योर्कसायर, ह्याम्पसायर, टेमवर्थ, ड्युरोक, मेगसान वा नागपुरीलगायत उन्नत जातका बंगुर रहेका छन् । विशेषगरी जनजातिले बंगुरपालन गर्ने गरेका छन् । विदेशबाट फर्किएका युवाहरू पनि यो पेसामा आकर्षित भएका छन् ।
मासु उत्पादन गर्न बंगुरपालनसहित अन्य पशुमा पनि विभिन्न कार्यक्रम सञ्चालन गरेको पशुपक्षी विभागका महानिर्देशक केशवप्रसाद प्रेमीले बताए । ‘मासुमा आत्मनिर्भर बन्ने सरकारी योजना छ,’ प्रेमीले भने, ‘किसानलाई बंगुरपालनसहित व्यावसायिक पशुपालनमा प्रोत्साहन गरेका छौं ।’
रोगव्याधीबाट जोगाउन सके बंगुरपालनबाट किसानले राम्रो आम्दानी गर्न सक्छन् । बंगुरमा स्वाइन फिभर (बंगुरको हैजा) इन्जोटिक निमोनिया, प्लुरो निमोनिया, पिआरआरएस, प्रोसाइन रेसपाइरेटोरी रोगहरूले असर गर्ने भएकाले किसानलाई ती रोगबारे पूर्वजानकारी गराउनुपर्ने पशु चिकित्सक बताउँछन् ।
अरु पशुपालनको तुलनामा बंगुर सस्तोमा पाल्न सकिने भएकाले थोरै लगानीमा धेरै कमाई गर्न सकिने पेसाको रूपमा लिइएको छ । कृषि र कृषिजन्य उद्योगबाट निस्किएका वस्तुलाई आहारमा प्रयोग गर्न सकिने भएकाले पाल्न सजिलो हुन्छ । बंगुर मासुसहित पाठापाठी पनि बिक्री गर्न सकिन्छ ।
प्रकाशित: १३ कार्तिक २०७३ ०४:०३ शनिबार