coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

जीवित दन्त्यकथाको एउटा पात्र

रमण घिमिरे   

सुरेन चौधरी कहाँबाट हाम्रो गाउँमा आएको थिए, मलाई थाहा छैन। बालाई थाहा थियो होला। तर, अब बा पनि हुनुहुन्न। र, सुरेन पनि छैनन्, जोसँग म यसको जानकारी प्राप्त गर्न सकूँ। मेरो बाल्यकाल सुरेनकै आँगनमा खेल्दै बित्यो। पहाडिया र आदिवासी करुवा जातिको छ्यासमिस बस्तीबीच थारूको एक मात्र घर थियो सुरेनको। हामीसँग करेसा जोडिएको घर थियो उनको। भलै पानी झरीमा घरभित्रै घुम ओड्नु पर्ने फुसको त्यो घर आज उनका सन्नतिले आधुनिक ढाँचामा रूपान्तरित गरेका छन्। तर, सुरेनको झझल्को बोकेको त्यो घर भएको ठाउँ आज पनि त्यहीँ छ। उनको घरअगाडि सानो राँगा या गोरुगाडा चल्ने बाटो थियो, जुन दक्षिणका छिमेकी गाउँ गौचरन र बीच कामत हुँदै ज्यामिरगढी गाउँ पञ्चायत रहेको बिचार्नी हाटमा पुग्थ्यो। र, त्यहीँ बाटोबाट हामी धान बेच्न राँगा गाडामा धानका बोरा लादेर भद्रपुर बजार पुग्थ्यौँ।

यस्ता गाडा त्यसबेलाका गाउँले यातायातका एक मात्र साधन थिए। सामना ढुवानी गर्ने, टाढाटाढाको जंगलबाट जर्ना (दाउरा) का लागि काठ ल्याउनेदेखि कोही आकस्मिक बिरामी भयो भने धुलाबारी बजारको जोगेन कम्पान्डर कहाँ उपचार गर्न लैजाने ‘एम्बुलेन्स’ सम्मको काम गर्ने निर्विकल्प त्यही गाडा थियो। कसैको बिहे भयो भने त्यही गाडालाई रंगीचंगी ध्वजापताकाले सजाएर बेहली भिœयाउने काममा पनि प्रयोग गरिन्थ्यो। विशेष गरेर राजवंशीको विवाहमा यस्ता रंगीचंगी गाडा प्रयोग गरिन्थ्यो। सिँगारिएर घुम्टो काढेकी बेहुली बोकेको त्यही गाडाको पछि लागेर जन्तीहरू बेहुली लिएर पैदल फर्किन्थे। यस्ता गाडा चल्ने बाटो सुरेनको आँगनसँगै जोडिएको थियो।

हो, त्यही बाटोसँग जोडिएको उसको आँगनमा हामी खेल्थ्यौँ। जाडो याममा सुरेन धुनी बालेर बेलुका आङ सेकाउँथे। त्यस बेला हुनेखानेलाई त रूपियाँको अनिकाल हुन्थ्यो भने सुरेनका लागि त झन् कठिन थियो नगदको मुख देख्न। पुस–माघमा पनि एकसरो लुगाबाहेक गाउँलेको आङले प्रायः थप स्वेटर या तातो लुगा भिर्न पाउँदैथ्यो। धेरै भए सीमापारिको नक्सालबाढीमा गएर किनेको कम्बलजस्तो धुस्सा ओढेर जाडो काट्थे। धुस्साले बाक्लो ओड्नेको काम गथ्र्यो। पुराना कपडा रिसाइक्लिन गरेर बनाइएको धुस्सा गरिब किसानका लागि जाडो छल्ने एक मात्र विकल्प थियो, त्यस बेला।

अनि जाडोका लागि धुनी नै सबैभन्दा उपयुक्त उपाय थियो। हामी केटाकेटी र अरू ठूलाबडाहरू पनि उनको त्यही धुनीमा गोलबद्ध भएर जाडो भगाउँथ्यौं। धुनी ताप्दै सुरेन बेलुका–बेलुका हुक्का तान्थे। हुक्काको फेदमा एउटा नरिवलजस्तो डल्लो हुन्थ्यो। त्यसमा पानी भरिन्थ्यो। त्यही डल्लोमा एउटा ठाडो नली जोडिएको हुन्थ्यो। त्यसमाथि चिलिम चढाइन्थ्यो। चिलिममा प्रायः कंकट (माडेको सुर्ती) राखिन्थ्यो। सुर्तीमाथि राख्ने आगो पनि सुरेन अचम्मसँग बनाउँथे। सनपाटलाई बाटेर धुनीको आगोमा हाल्थे र त्यो सल्केर रातो भएपछि चिलिममा चढाउँथे। त्यही नरिवलजस्तो डल्लोको अर्को छेउमा एउटा सानो प्वाल पारिएको हुन्थ्यो।

चिलिममा कंकट खाँदेर त्यो सनपाटको आगो चडाएपछि उनी छेउको त्यही प्वालबाट सासले बिस्तारै धुवाँ तान्थे। यसरी तान्दा डल्लोभित्रको पानी गुडगुडाउँथ्यो र त्यो गुडगुडाहटसँगै धुवाँ पनि आउँथ्यो। पहिलोपटक सुरेनको हुक्काको गुडगुड गर्ने आवाजले मलाई त्यसप्रतिको मोह जगाएको थियो। केटाकेटी उमेर न हो, मलाई त्यो गुडगुडाहट रहस्यमय लाग्थ्यो। माथि टुप्पोमा राखेको चिलिमबाट छिरेर कसरी तल पानी भरिएको नरिवलको प्वालबाट धुवाँबाहिर आउँछ ? यो रहस्य खोज्न म पहिलोपटक हुक्का तान्न तम्सिएँ। बाआमाको आँखा छलेर सुरेनको हुक्का तानेँ।

चिलिममा त आगो बल्यो बल्यो, त्यसको धुवाँले मेरो सर्वांगमा पनि डढेलो सल्काइदियो। म भाउन्न भएर लडेँ, धुनीकै छेउमा। जीउ रन्केको छ, टाउको फन्केको छ र आँखाअघि सारा संसार फनफनी घुमेको छ। रिँगटा लागेर एक घन्टैजति पसारो परेँ सुरेनको धुनीमा। त्यस दिनदेखि हुक्का र चिलिम दुवैलाई सुरेनकै लागि भनेर परित्याग गरिदिएँ।

पहिलोपटक हुक्का गुडगुडाउँदा मैले आकाशमा होइन, भुइँमै तारा देखेको थिएँ। सुरेन भन्दै थिए– ‘बिस्तारै तान् भाइ, कडा हुन्छ, मात लाग्छ।’ तर, अल्लारे उमेर, अनि हुक्काको गुडगुडे मनोरञ्जन। किन बिस्तारै तान्थेँ। जोड लगाएर सुरेनकै तालमा तानेको पहिलो स्वाँठमै वाकवाक भएर, रिँगटा लागेर भाउन्न भयो। अब के गर्ने ? सुरेनसँग पनि त्यसको ओखती थिएन।

तर, त्यो पहिलो हुक्कापानले नै मेरो मनमा वितृष्णा जगायो। हिजो रिँगटा लागेको कुरा भोलिपल्ट सम्झिँदा पनि आङ सिरिंग हुन्थ्यो। अनि म त्यसपछि हुक्का मोहबाट विरक्त भएँ। त्यसलाई छोयो भने पनि रिँगटा लाग्छजस्तो भयो। बेलाबेला सुरेन चिमिम पनि तान्थे। त्यस बेला गाँजा र भाङ प्रजातान्त्रिक दलहरूजस्तो प्रतिबन्धित भइसकेका थिएनन्। बारीका डिलडिलमा गाँजाभाङ नरोपी नै उम्रिन्थे, बढ्थे र सुरेनको चिलिममा भरिन पुग्थे।

अलि पछि मात्र थाहा भयो– सुरेन हुक्काबिनाको चिलिममा धूमपान गर्दा गाँजा तान्दा रहेछन्। चिलिमको रहस्य पनि अनौठो थियो। त्यो चिलिम हुक्कामा राख्ने माटाकै त्यही चिलिम हुन्थ्यो। तर, त्यसको रहस्य के थियो भने सुरेनले त्यसमा गाँजा हालेर स्वाँट्ट तान्दा त्यसको टुप्पोमा हुर्र आगो बल्थ्यो। हो, त्यही आगो बाल्ने चुमचुम लागेर एक दिन मैले पनि चिलिम तानँे। तर, चिलिम तान्नुको अनुभव हुक्का गुडगुडाउँदाको भन्दा पनि कता हो कता धेरै कष्टकर  भयो। हुक्कामा त पानीमा छानिएर धुवाँ आउने हुँदा अलि कम असर गथ्र्यो। तर, चिलिममा त सोझै धुवाँ आउँदो रहेछ। त्यसमाथि गाँजाको मतैलो धुवाँ। सुरेन पहिला दुई–चार चोटि बिस्तारै धुवाँ फुसफुस पारेपछि मात्र स्वाँट्ट पार्थे र चिलिमको टुप्पोमा आगो बाल्थे। मलाई त एकैपटकमा आगो बाल्नु थियो अनि पहिलोपटक फोक्सोदेखिको बल लगाएर तानेँ। चिलिममा त आगो बल्यो बल्यो, त्यसको धुवाँले मेरो सर्वांगमा पनि डढेलो सल्काइदियो। म भाउन्न भएर लडेँ, धुनीकै छेउमा।

जीउ रन्केको छ, टाउको फन्केको छ र आँखाअघि सारा संसार फनफनी घुमेको छ। एकैछिन होस आउँदा सुरेनलाई गुहार माग्थेँ। सुरेन भन्थे, ‘तँलाई अघि नै यो खानु हुँदैन भनेको मानिनस्, अब आधा घन्टा यही गुन्द्रीमा सुत ! ठीक भएपछि घर जानू।’ उनको उपदेश नसकिँदै फेरि मलाई त्यस असती धुवाँले हावामा उडाउन थाल्थ्यो। म कहालिन्थेँ, सुरेन हाँस्थे।

‘अनाडी लड्का गाँजा खान्छ अनि दोष मेरो सरमा बिठाउँछ,’ ऊ उल्टै मलाई दोष दिन्थ्यो। मैले त कंकट भनेर रमाइलोका लागि पो तानेको थिएँ। तर, चिलिम त हुक्काभन्दा कता हो कता गतिमान हुँदो रहेछ दिमाग घुमाउन। अनि केको रमाइलो हुन्थ्यो ? यो गाँजा हो, केटाकेटीले तान्नु हुँदैन भनेर त सुरेनले पो रोक्नुपथ्र्यो त ! एकछिन् होस आएको मेरो मस्तिष्कले भन्थ्यो। त्यस दिन म रिँगटा लागेर एक घन्टैजति पसारो परेँ सुरेनको धुनीमा। बल्लबल्ल अलि बिसेकजस्तो भएपछि कसैले थाहा नपाउने गरी सुटुक्क गएर ओछ्यानमा सिरक खापेर घुस्रिएँ। त्यस दिनदेखि हुक्का र चिलिम दुवैलाई सुरेनकै लागि भनेर परित्याग गरिदिएँ।

तर, सुरेनले चिमिलमा गाँजा तानेको दृश्य मलाई मनमोहक लाग्थ्यो। लामो सासले गाँजा तानेपछि उनी अर्कै लोकमा गएको भान हुन्थ्यो। आँखा चिम्म गरेर गाँजा तानेपछि उनी केही सेकेन्ड धुवाँलाई मुखभित्रै राख्थे। त्यो बेला लाग्थ्यो– उनी आँखा चिम्लेर ध्यानमुद्राको गहिराइमा डुबिरहेका छन्। त्यो केही सेकेन्डले उनलाई सायद आनन्द लोकको अनुभूति पनि गराउँदो हो। धुवाँ फ्याँकिसकेपछि उनी बिस्तारै जब आँखा खोल्थे, उनका आँखाको रङ नै बदलिसकेको हुन्थ्यो। आँखाका नानीका माथि र तलका सेता भागहरू निख्खुर राता भइसकेका हुन्थे।

त्यस बेला मलाई सुरेन एकै छिनअघिको सुरेन नै होइन, जस्तो: कुनै अर्कै मान्छेजस्ता लाग्थे। म उनको अनुहारमा एकोहोरो हेरिरहेन्थेँ। यो थाहा पाएर उनी स्मित मुस्कान ओठमा पोत्दै भन्थे, ‘के हेर्छस् रे बबुवा मेरो अनुहारमा, रसगुल्ला पाकेको छ र ?’

म झल्याँस्स हुन्थेँ र चेतनावस्थामा फर्किन्थें। र केही बहाना बनाएर उनको प्रश्नबाट फड्को मार्ने कोसिस गर्थें। तर, सुरेनको त्यो गाँजापानपछिको ध्यानमुद्रा आज पनि मेरो स्मृतिमा शिलापत्र भएर बसेको छ। हो, शिलापत्र पुरानो भएपछि ठाउँठाउँमा चर्किन्छ, अक्षरहरू धमिला हुन थाल्छन्। त्यसरी नै समयको धपेडी र परिस्थितिको जञ्जालले गर्दा मेरो मस्तिष्कमा लिपिवद्ध सुरेनको शिलापत्रका पनि धेरै पाप्रा उक्किसके, धेरै यादहरू धूमिल भइसके। यद्यपि मैले त्यसपछि आजका मितिसम्म पनि गाँजा तान्ने अरु थुप्रैलाई देखेको छु, संगत पनि गरेको छु। तर, सुरेनको शैलीमा भित्रैदेखि आत्मानुभूति हुने गरी गाँजा तान्ने सुरेनबाहेक अर्को पारखी भेटेको छैन।

सुरेनको आफ्नो जग्गाजमिन थिएन। उनी मोहियानीमा राजवंशी देउनिया (जमिनदार) को जग्गा कमाउँथे। उनी बसेको घरको भिटा पनि उनको थिएन। हामीले थाहा पाउँदा उनकी श्रीमती पनि थिइनन्। त्यहाँ आउनुअघि नै मृत्यु भएको अरे भनिथ्यो। तर, उनकी सासू, भाइ र बुहारी भने उनीसँगै बस्थे। धेरै वर्षपछि सुरेनले श्रीमती भिœयाएका थिए, छोराछोरीसहित। कतैबाट अरू कसैकी श्रीमती उपहार पाएछन्।

सुरेनकी सासू मेहनती थिइन्। उनी बिहान ५ बजे नै उठेर नुहाइधुवाइ सकेर माटोले आँगन–पिँढीलाई सिनित्त पारेर लिप्थिन्। त्यसपछि सुरु हुन्थ्यो चौधरी परिवारको दिनचर्या। सुरेन र उनका भाइ शंकर हालगोरु नारेर खेततिर लाग्थे। अनि आमा–छोरी बिहानको जलपान र दिउँसोको खाना बनाउन जुट्थे। सासू आमै हामीलाई स्नेह गर्थिन्। म बाटोमा खेलिरहेको देखिन् भने बोलाएर सोध्थिन्, ‘भात खाइस् बबुवा?’ ‘खाएँ’ भन्यो भने फेरि सोध्थिन्, ‘के साग खाइस् ?’ जुनसुकै जातको तरकारीलाई पनि उनीहरू साग नै भन्थे। खाएको छैन भन्यो भने भात पस्किहाल्थिन् र भन्थिन्, ‘आइज अलिकति खा !’ उनले पकाएको ‘साग’ हाम्रो घरमा पाक्नेभन्दा फरक साग हुन्थ्यो। घुँगी, गङ्गटा, झिँगेमाछा र उसिना चामलको फुरफुराउँदो भात। म पनि पिँढीमा बसेर खाइहाल्थेँ।

घुँगी, गँगटा भनेपछि सामान्यतया पहाडियाहरू दिगमिग मान्थे। तर, म त सानैदेखि त्यसैमा रस बसेको स्वाट्ट घुँगी तान्दै गँगटाको अचार र झिँगेमाछाको लेदोसँग एक थाल भात बजाइहाल्थेँ। बरु अचेल दिगमिग लाग्छ। कतै विदेश जाँदा पनि सी फुड भनेपछि परै तर्किन्छु। तर, उनी मेलै मीठो मानेर खाएको दृश्य धीत मरुञ्जेल हेरिरहन्थिन्। सायद, अरूलाई सन्तुष्ट पारेर आफू सन्तुष्ट हु्न्थिन् कि ! सासूआमै वर्षमा एकपटक अनौठो खालको गुलियो रोटी बनाउँथिन्। त्यो रोटी भनेपछि म हुरुक्क हुन्थेँ। यस्तो मीठो परिकार पहिले कहिल्यै खाएकै थिइनँ मैले। निकै पछि मात्र थाहा पाएँ, त्यो छठमा बनाइने ठेकुवा रोटी रहेछ। त्यस समय हाम्रो इलाकामा छठ पर्वको गाइँगुइँसम्म पुगेको थिएन।

त्यस बेला गाउँमा बिजुली बत्ती भनेको मानिसले सुनेका मात्र हुन्थे। हाम्रो घरबाट कोसौँ टाढा उत्तर–पूर्वी पहाडमा राती बिजुली बत्ती चम्केको देखिन्थ्यो। बा भन्नु हुन्थ्यो, ‘त्यो खर्साङ हो, दार्जिलिङभन्दा अलि वरै पर्छ।’ हामीले त्यही मधुरो झिलिमिली हेरेर बिजुली बत्तीको कल्पना गथ्र्यौँ। हुन त सीमावारिको नक्सालबाढीमा पनि बिजुली बत्ती बल्थे। तर, ती राती बल्थे। त्यहाँ बलेको बिजुली हेर्न हामी राति नै त्यहाँ पुग्ने सम्भावना थिएन। टुकी बत्तीको त्यस युगमा गाउँमा साँझसँगै रात पथ्र्यो। त्यसैले सम्साँझै खाना खाएर हामी सुत्ने तर्खरमा लागिसकेका हुन्थ्यौँ। तर, सुरेनको चुल्होमा त्यति बेलासम्म भातको भाँडासम्म बसाएको हुँदैनथ्यो।

सुरेनको परिवारमा बेलुकाको खाना खाने एउटा निश्चित समय हुन्थ्यो। उनको कुनै घडी थिएन समय हेर्न तर खाना खाने समय निश्चित थियो। त्यो समय बताउँथ्यो भद्रपुरपारि भारत, बिहारको किसनगञ्ज जिल्लाको गलगलिया स्टेसनबाट चल्ने रेलले। हिजोआज गाउँसहरमा काखीकै मुनिबाट आइरहेको सवारीको आवाज मानिसले सुन्दैनन्। तर, त्यसबेलाको गाउँमा त्यति परको गलगलियाबाट राति नौ बजे बङ्गालको शिलिगुढीतर्फ चल्ने रेलको छुकछुक र भोँपूको ध्वनि हाम्रो गाउँसम्म सुनिन्थ्यो। त्यस बेला गाउँ यति धेरै सुनसान हुन्थ्यो। सुरेन त्यही रेलको छुकछुक र भोँपू सुनेर इनारमा हात धुन जान्थे र खाना खान बस्थे। त्यस बेला ९ बजेको हुन्थ्यो।

अहिले म सम्झिरहेछु– सुरेन यस लोकबाट परलोक गएको पनि धेरै वर्ष बिते। सुरेनका भाइ, सासू र श्रीमती पनि उहिल्यै स्वर्गीय भइसके। सुरेनकी बुहारी मात्र त्यस युगको साक्षी भएर बसेकी छन्। सुरेनलाई सम्झिँदा मलाई कुनै दन्त्यकथा पढेजस्तो अनुभूति हुन्छ। वास्तवमा उनी हामीपछिका पुस्ताका लागि दन्त्यकथा नै भइसकेका छन्। ‘सुरेन चौधरी यही ठाउँमा एउटा फुसको घरमा बस्थे’ भन्दा विस्थापित भएको फुसको घरसँगै सुरेन पनि त्यस गाउँमा किंवदन्ती भइसके। अब न जाडो याममा उनको घरअगाडि धुनी बल्छ, न हुक्का गुडगुडाउँछ, न चिलिममा भरेर तान्ने गाँजा–भाङ नै भेटिन्छन्। न त उनको घर अगाडिबाट राँगा या गोरुगाडा नै चलेको भेटिन्छन्। भेटिन्छन् त खालि स्मृतिहरू। त्यो पनि हामी र हामीमाथिका पुस्ताका त्यस गाउँमा जीवित केही व्यक्तिहरूमा।

मलाई लाग्छ– त्यो पनि एक दिन समय बढारेर सिनित्त पार्नेछ र बाँकी रहने छ यही एउटा लेखोट। र, सायद त्यहीँबाट उत्खनन् सुरु गर्नु पर्नेछ तत्कालीन ज्यामिरगढी गाविसको एउटा सानो बस्ती गोमनसरीको इतिहास।

प्रकाशित: ३२ जेष्ठ २०७६ ०२:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App