७ वैशाख २०८१ शुक्रबार
अन्य

इतिहासकाे अवमूल्यन

सीमा आभास
सय वर्षको आयु नाघिसकेको आधुनिक एवं औद्योगिक सहर हो विराटनगर। यति मात्र होइन, महाभारतकालमा पनि विराट राजाको राज्य यतै थियो भन्ने किंवदन्ती छ। त्यसैले विराटनगरलाई प्राचीन सहर पनि भन्न सकिन्छ।  त्यसो त नेपालको प्रजातान्त्रिक आन्दोलनको मुख्य जरा विराटनगरसम्म आइपुग्छ।

राजनैतिक विरासत
नेपालमा प्रजातन्त्र आएपछि विराटनगरबाट मातृकाप्रसाद कोइराला, विपी कोइराला, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, नागेन्द्रप्रसाद रिजाल र सुशिल कोइराला प्रधानमन्त्री बने। एउटै सहरबाट ६ जना प्रधानमन्त्री बनेको गर्विलो इतिहास बोक्यो विराटनगरले। अनि पहिलो महिला उपप्रधानमन्त्री शैलजा आचार्य पनि यहीँको हुनुहुन्थ्यो।  अर्को कुरा, लोकतन्त्रको प्राप्तिपछि दोस्रो कार्यकाल राष्ट्रपतिको पद सम्हालिरहनु भएकी विद्यादेवी भण्डारीको राजनीतिको सुरुवात महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरबाटै सुरु भएको थियो।

विराटनगर जुटमिलसँग नेपालको राजनीतिक क्रान्ति पनि जोडिन आउँछ। राणा शासन विरुद्धको आवाज जुटमिलबाट मजदुर आन्दोलनका रूपमा सुरु भएको थियो। विपी, मातृकाप्रसाद, गिरीजाप्रसाद, मनमोहन, गेहेन्द्रहरि शर्मा, तारणीप्रसाद कोइराला, युवराज अधिकारीहरूले हड्ताल गरेर राणाका बिरुद्धमा धावा बोलेका थिए।

संचारको जग
नेपालको राजनीतिमा पटकपटक गरेर चारपटक प्रधानमन्त्री बनेका गिरिजाप्रसाद राष्ट्रियस्तरका कुनै पनि कुरा सार्वजनिक गर्नु प-यो भने विराटनगर आउनुहुन्थ्यो। विराटनगर आएर पत्रकारहरूमाझ केही न केही नयाँ कुरा भन्नु हुन्थ्यो जुन राष्ट्रियस्तरको समाचार बन्थ्यो। त्यसबेला मोफसलका पत्रकारका आफ्नै दुःख थिए। प्रधानमन्त्रीले विराटनगरमा आएर केही न केही  बोलीदिएपछि राष्ट्रियस्तरका पत्रिकाले बाइलाइनसहितका समाचार छाप्थे। त्यतिबेला स्थानीय पत्रकारका समाचारले राष्ट्रियस्तरका पत्रिका, रेडियो र टिभीमा प्राथमिकता पाउँथे। 

त्यति मात्र हैन, पत्रकारहरू चाहे वामपन्थी या प्रजातान्त्रिक धार जुनसुकै भए पनि कोइराला निवासले सधैं सम्मान गथ्र्यो। पत्रकारका लागि सधैँ आउने जाने बाटो खुल्ला थियो। यसरी पत्रकारलाई खुबै सम्मान र माया गर्ने कोइराला निवासले विराटनगरको पत्रकारितामा व्यावसायिकताको जग हाल्न अहम् भूमिका खेलेको छ। नोना कोइराला पत्रकारहरूलाई औधी माया गर्नु हुन्थ्यो।

विराटनगरले धेरै किसिमको इतिहास रचेको छ। विसं २००६ सालमा विराटनगरस्थित रघुपति जुटमिलको परिसरभित्रबाट पहिलोपटक रेडियोको आवाज नेपाली सामु पुगेको थियो। भूमिगत रूपमा “प्रजातान्त्रिक रेडियो” नामबाट सञ्चालन गरिएको थियो। यसको स्थापना तारिणीप्रसादले गरेका थिए। राणाविरुद्धको आन्दोलनका खबर सम्प्रेषण गर्न र आन्दोलनमा जनतालाई हौस्याउन रेडियो स्थापना गरिएको थियो। यसरी नेपालमा रेडियो सञ्चारको सुरुवात गराउने श्रेय कोइराला परिवारलाई नै जान्छ। त्यसैले सञ्चार क्षेत्रको विकासमा कोइराला परिवारको ऐतिहासिक एवं महत्वपूर्ण भूमिका छ। रेडियो नेपालमा पहिलो गीत रेकर्ड गराउने रानुदेवी अधिकारी विराटनगरकै हुनुहुन्थ्यो।

सासू दिव्या र ससुरा कृष्णप्रसादले आफ्ना बुहारी र छोरीहरूलाई कुनै किसिमको भेदभाव गरेका थिएनन् भनेर नेतृ नोना कोइरालाले मलाई सुनाउनु भएको थियो। घोडा चढ्न र पौडी खेल्न ससुराले सिकाएको हो भन्नुहुन्थ्यो उहाँ। त्यतिबेला कोइराला परिवारमा नछुने बार्ने चलन थिएन। यो स्त्रीको प्रकृतिजन्य कुरा हो भनेर नछुने बार्ने चलन नभएको नोनाले सुनाउनु भएको थियो।

कोइराला निवास र प्लटिङ
एकै पिताका तीन छोरा प्रधानमन्त्री (मातृकाप्रसाद, विपी र गिरिजाप्रसाद) बनेको घर “कोइराला निवास” अहिले व्यापारिक प्रयोजनमा बनाइएका अग्ला भवनको छायामा लुले भएर उभिएको छ। १०४ वर्षसम्मको राणा शासनको जरा हल्लाउने गरी कोइराला निवासबाटै पहिलोपटक आवाज निस्केको थियो। खासमा प्रजातन्त्रप्रेमीका लागि कोइराला निवास पवित्रधाम हो। 

कोइराला निवाससँग आफ्नै संस्कार थियो। नोना छउञ्जेल त्यो संस्कारले जीवन पाएको थियो। नोना आमा भन्नुहुन्थ्यो, “बिहे गरेर कोइराला निवास भित्रिँदा कतै, केहीमा पनि तालाचाबी थिएन। सुरुसुरुमा त अचम्म लाग्थ्यो। पछिपछि बानी प-यो।

उहाँका सासूससुराको  मान्यता थियो अरे, “तालाचाबीले धेरै कुरा छेक्छ। मान्छेलाई आउनजान डर पैदा गर्छ।” कोइराला निवासमा जोसुकै जुनसुकै समय निर्धक्क आवतजावत गर्न सकून् भनेर सँधै ढोका खुल्ला राख्नुपर्छ भन्ने मान्यता थियो।
प्रजातान्त्रिक अभ्यासको व्यावहारिक सुरुवात कोइराला निवासबाट भएका केही आधारहरू छन्। जतिबेला महिला घुम्टोभित्र रहन बाध्य थिए त्यतिबेला कोइराला निवासका बुहारीहरू नोना, सुष्मा कोइरालाहरू पाइजामा लगाएर हिँड्थे। सासू दिव्या र ससुरा कृष्णप्रसादले बुहारी र छोरीहरूलाई कुनै किसिमको भेदभाव गरेका थिएनन् भनेर नोना आमाले मलाई सुनाउनु भएको थियो। घोडा चढ्न र पौडी खेल्न ससुराले सिकाएको हो भन्नुहुन्थ्यो नोना। त्यतिबेला कोइराला परिवारमा नछुने बार्ने चलन थिएन। यो स्त्रीको प्रकृतिजन्य कुरा हो भनेर नछुने बार्ने चलन नभएको नोना सुनाउनु हुन्थ्यो। यसरी कोइराला परिवारमा महिलाको सम्मान थियो।

दलित होस् या अरू कोही कोइराला निवासको सङ्घारबाट भित्र आउनजान सक्थे। कृष्णप्रसादको मान्यता थियो अरे, सबैभन्दा पहिला प्रजातन्त्रको अभ्यास आफ्नै घरमा गर्नुपर्छ अनि मात्र राष्ट्रमा सफल भइन्छ। जातका  आधारमा छुवाछुत गरिने चलनलाई पनि निवासले ब्रेक गरेको थियो। ‘अहिले यहाँ पूजा गर्ने मान्छे राई हुन्’, नोना आमाले भन्नु भएको थियो।
गिरिजाप्रसादले बच्चासहितकी सुष्मालाई हिन्दू परम्पराअनुसार परिवारको सहमतिमा विवाह गर्नु भएको थियो। नेपालमा प्रजातन्त्र स्थापना हुनुअघि कोइराला निवासमा व्यावहारिक रूपमै प्रजातन्त्रको अभ्यास थियो भनेर नोना आमाले सुनाउनु भएको सम्झन्छु।

त्यति मात्र हैन, आफ्नो गृहस्थी चलाउन आवश्यक सम्पूर्ण खाद्यान्न सकेसम्म आफैँले उब्जाउनुपर्छ। स्वाबलम्बी बन्नुपर्छ भन्ने अर्को मान्यता थियो रे कोइराला परिवारमा। निकैपछि पनि कोइराला निवासमा चिनी, दूध, खाद्यान्न, दाल, तरकारी सबै आफैं उत्पादन गर्ने चलन थियो। अतिथिलाई अनिवार्य चिया खुवाउने चलन निवासको छ। पिताजीका पालादेखि चलिआएको चलन नोना छउञ्जेल कायम थियो। चियामा लगाउने चिनी, दूध आफैँले उत्पादन गरेको मात्र खुवाउने चलन थियो।  यसले सबैलाई स्वाबलम्बी हुनुपर्छ भन्ने आशय हो। यस प्रकार घरभित्रै प्रजातान्त्रिक अभ्यास हुने गरेको थियो।

नेपालमा भएको प्रजातान्त्रिक आन्दोलनलाई गर्व गर्ने जो कोहीले पनि विराटनगरको कोइराला निवासलाई सम्मान गर्छ। हिन्दूका चारधाम या पशुपतिनाथ भएजस्तै नेपाली कांग्रेसका लागि पवित्रधाम बराबर हो कोइराला निवास। राजनीति घरको संस्कार पनि हो भन्ने जानकारी कोइराला निवास पुगेपछि देखिन्थ्यो। कृष्णप्रसाद र आमा दिव्याले बसाएको त्यो संस्कार नातिनातिनाको पालासम्ममा आइपुग्दा लगभग समाप्त हुने अबस्थामा पुगेको  छ।

नोनाले सम्हालेको कोइराला निवासको प्रजातान्त्रिक विरासत उनको मृत्युसँगै टुहुरो बन्यो। गिरिजाप्रसादको मृत्युपछि कोइराला निवास टुक्रियो। अंशबण्डा लगाउने क्रममा विपीका सन्तानलाई, केशवका सन्तानलाई, तारिणीका सन्तानलाई र गिरिजाका सन्तानलाई निवासको जग्गा टुक्राएर भाग लगाइयो। विपीका तीनवटै छोराहरु प्रकाश, श्रीहर्ष र शशांकले उनीहरूको भागमा आएका जमिन व्यापारीलाई बेचे। व्यापारीले निवास अगाडि अग्लाअग्ला भवन बनाए। बाटाबाटै देखिने, सधैँ खुल्ला रहने निवासलाई अग्ला भवनले छेक्ने नै भयो। त्यहाँ पुग्दा जो कोहीलाई पनि लाग्न सक्छ कोइराला निवासलाई उपेक्षा गरेरै यसरी जग्गा बेचेर घर बनाउने वातावरण तयार पारियो। शशांक र प्रकाश राजनीतिमै रहे पनि कोइराला निवासको महत्व किन बुझेनन ? 

तारिणीप्रसादका छोरा ज्योतिले आफ्ना भागमा परेको केही जमिन जोगाएर राखेका छन्। केशव कोइरालाका छोरा शेखर र निरञ्जन मध्यमा शेखरका भागमा परेको कोइराला निवास अझै छ। गिरिजाप्रसादकी छोरी सुजाताले लिएको अंशमा जिपी फाउण्डेशनको भवन बनेको छ। फान्डेसनको भवनभन्दा पनि पछाडि पर्छ कोइराला निवास। कोइराला निवासको अंशबण्डापछि कृष्णप्रसाद, दिव्या र विपीलाई सम्झाउने जेजति महत्वपूर्ण सामान थिए ती सबै विपी संग्रहालय सुन्दरीजल पठाइयो। निवास कुनै पुरानो डिजाइनको घरभन्दा बढ्ता केही पनि बाँकी छैन। कृष्णप्रसाद, दिव्या, विपी, मातृका र गिरिजाप्रसाद त्यो घरबाटै प्रधानमन्त्री बनेका थिए। प्रजातन्त्रको विगुल फुकिएको त्यै घरबाट थियो भनेर झल्कने केही सामाग्री देखिँदैन अहिले। तारिणी र विपी साहित्यिक व्यक्तित्व थिए। सुष्मा नृत्याङ्गना थिइन्, नाटकमा चासो राख्थिन्। उनी शिक्षासेवी थिइन् भनेर अन्दाज लगाउने केही पनि प्रमाण भेटिँदैन।

अचेल शेखर र उनको परिवार विराटनगर आएका बेला निवासमा बस्छन्। उनको अंशमा परेको घरजग्गामा।  कार्यकर्ताहरूको आउजाउ भइरहन्छ। कुनै नयाँ योजना र विचार लिएर सायदै कांग्रेस कार्यकर्ता निवास धाउलान् ! चाकडी, चाप्लुसी र विचारविहीन ओहोरदोहोरले कोइराला निवास थलिएको बिरामी जस्तो देखिन्छ। कोइराला निवास आज सामान्य घर बाहेक केही रहेन।

विसं २०५४ देखि कोइराला निवासलाई प्रहरीले सुरक्षा दिइरहेको थियो। भर्खरै संघीय सरकारले केन्द्रको निर्णय भनेर प्रहरी फिर्ता बोलायो। कोइराला निवासमा सुरक्षा दिएर रुँघिरहनुपर्ने त्यस्तो महत्वपूर्ण बाँकी नरहेको देखेर होला संघीय सरकारले सुरक्षाकर्मी फिर्ता बोलाएको। त्यसको विरुद्धमा कांग्रेसले आवाज उठाए। यो त पपुलिस्ट हुने फन्डाभन्दा बढी केही होइन जस्तो लाग्छ। यदि प्रजातन्त्रप्रतिको सम्मान थियो वा कोइराला निवासप्रति श्रद्धा र माया थियो भने मोरङ कांग्रेस लगायत देशभरका कांग्रेसले कोइराला निवासको अंशबण्डामा विरोध गर्नुपथ्र्यो। र, जग्गा अंश लाग्न दिनु हुँदैन थियो।

कृष्णप्रसादको व्यक्तिगत आर्जन भएकाले नियमअनुसार नातिहरूले अंश पाउने कुरा ठिक थियो। जुन बेला जग्गा बेचिएको थियो। त्यसबेला जग्गा सस्तो थियो। कांग्रेसले उनीहरूलाई अंश बापत केही रकम दिएर पार्टीको नाममा या ट्रष्टमा ल्याउनुपथ्र्यो। कांग्रेसलाई त्यसरी सोच्ने फुर्सद् पनि सायद थिएन। चाकडी, चाप्लुसी, गुट, उपगुटको भुमरीमा रुमल्लिँदै ठिक्क थियो। यतिबेला पार्टीभित्र उचाल्ने र पछार्ने अभ्यासमा तल्लीन छ कांग्रेस। निवास जोगाउन जरुरी ठानेन किनकि निवास जोगाएर कांग्रेसलाई हुने फाइदा देखेन सायद। 

युद्धकालदेखि नै तत्कालीन माओवादीले भौतिक संरचना ध्वस्त पा-यो। त्यसैको सिको गर्दै राजाविरुद्ध भएको ०६२/६३ को आन्दोलनमा राजाका सालिक खोजीखोजी ध्वस्त गराए। त्यसैलाई लोकतान्त्रिक अभ्यास भनियो। जुन दल या संस्थासँग विमति रह्यो त्यसका राम्रा कामलाई पनि नराम्रो देखेर नामेट पार्ने संस्कार नेपालीसँग विकास भएको छ। राजाका सालिक इतिहास थिए। राजा नदेखेका पुस्तालाई आफ्नो इतिहासको जानकारी दिनु अघिल्लो पुस्ताको कर्तव्य हो। तर, हामी इतिहास पनि मेटाएर आफू ठिक, आफ्नो विचार मात्र ठिक भन्ने प्रमाणित गर्ने अभ्यासमा तल्लीन छौँ।

त्यसैको निरन्तरतास्वरूप कोइराला निवासका सुरक्षाकर्मी बामपन्थी सरकारले फिर्ता बोलायो। हुन त कोइराला निवासका उत्तराधिकारीले र नेपाली कांग्रेस स्वयंले पनि कोइराला निवासको महत्वलाई बुझ्न सकेको देखिएको थिएन।
प्रजातन्त्रको जग रोप्ने कोइराला निवासलाई खोज्दै जानुपर्छ। कोइराला निवास कहाँ पर्छ भन्यो भने औषधि पसल पछाडि पर्छ भन्ने लोकेसन बताउँछन।

छ जना प्रधानमन्त्री भएको शहर विराटनगर हो भनेर देखाउने आधार अहिलेसम्म केही छैन। रेडियोको स्थापना विराटनगरमा भएर नेपालमा सञ्चारको सुरुवात भएको हो भनेर थाहा पाउने स्थान कतै छैन। अहिलेकी राष्ट्रपति विद्यादेवीले विराटनगरबाट राजनीति सुरु गरेको थियो भनेर अहिलेको पुस्तालाई कसरी बुझाउनु !

विराटनगरलाई लिजेण्डहरूको शहर भनेर चिनाउन पार्क, स्मारक बनाउन सकियो भने अहिलेको पुस्तालाई राजनीतिप्रति सम्मान र इतिहासप्रति गर्व जाग्न सक्छ। यहाँबाट बनेका सबै प्रधानमन्त्रीको स्मारक बनाउने। प्रजातान्त्रिक आन्दोलनलाई झल्काउने संग्रहालय निर्माण गर्ने। सञ्चारको सुरुवात भएको र त्यसबेला रेडियोको कति महत्व थियो भनेर ज्ञान दिनसक्ने अवलोकनस्थल बनाउन सकिन्छ।

साहित्यिक व्यक्तित्व, कलाकार, उद्योगीको योगदानलाई चिनाउन सक्ने गरी त्यस्ता स्थलको निर्माण गर्नसक्ने प्रशस्त सम्भावना छ। तर, स्थानीय सरकार, नगरपालिका र संघीय सरकारको दृष्टिकोण एवं तत्परतामा भर पर्ने कुरा हो।

प्रकाशित: ३२ जेष्ठ २०७६ ०२:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App