८ वैशाख २०८१ शनिबार
अर्थ

कृषि ज्ञान केन्द्रको करिब चार करोड बजेट सडकमा

सिन्धुली– कृषि ज्ञान केन्द्र सिन्धुलीले पहिलो पटक सडक निर्माणमा ठुलो बजेट लगानी गर्ने भएको छ। चालु आर्थिक वर्षमा काम गरिसक्नुपर्ने गरि मोटो रकम  केन्द्रले सडक निर्माणमा लगाएको हाे।

कृषिक्षेत्रमा काम गर्ने कृषि ज्ञान केन्द्रले यस वर्ष झन्डै चार करोड बजेटमा १२ ओटा सडक निर्माण गर्न लागेको हो। कृषि सडक नाम दिएर उक्त सडकहरु धमाधम निर्माण भइरहेको स्थानीयले बताएका छन्। प्रदेश नम्बर ३ सरकारको बजेटबाट उक्त सडकहरु निर्माण भइरहेको कृषि ज्ञान केन्द्र सिन्धुलीले जनाएको छ।

प्रदेश सरकारले ३ करोड ८९ लाख बजेट उपलब्ध गराएपछि यस बर्ष धमाधम सडक आयोजना बनिरहेको कृषि ज्ञान केन्द्र सिन्धुलीका प्रमुख राजन ढकालले जानकारी दिए। ‘तत्कालिन कृषि कार्यालयबाट पनि भौतिक निर्माणका कार्य हुने गरेका थिए, साना सिचाई मझौला सिचाई तथा ठुला सिचाई आयोजना बनाउन सहयोग गर्नुका साथै कृषि उपज संकलन केन्द्र निर्माणमा समेत कृषि कार्यालयले सहयोग गरेको थियो’, ढकालले नागरिकसँग भने, ‘सडक निर्माणमा यति ठुलो रकम सायद पहिलो पटक कृषि ज्ञान केन्द्रबाट सञ्चालन भएको हो। उनले प्रदेश सरकारलेनै सडक निर्माण गर्नका लागि बजेट उपलब्ध गराएको बताए।’

कृषि ज्ञान केन्द्रले मझौरे मिल रातमाटे रिठे औल गुम्बा कृषि सडकबाट ३१ लाखमा मझौरे मिल रातमाटे रिठे औल गुम्बासम्म, चिसापानी जुनार कृषि सहकारी संस्थामार्फत ३६ लाखमा रतनचुरा चिसापानी हुदै भक्तिरामसम्म, वितिजोर कृषि उपभोक्ता सहकारी संस्थार्फत ३१ लाखमा वितिजोर खोलाबाट धापचौकी सम्म सडक निर्माण गर्ने भएको छ। यसैगरि भलुवाई देखि तल्लो भलुवाईसम्म ४९ लाख, फिटिङ भिरगाँउ हुदै खड्कुलेसम्मका लागि ३१ लाख, तिनतले माइसिर हुदै गोठखोलासम्म २६ लाख, दुधौली नगरपालिकाको खवि चौक धैले मनवा सम्म ३१ लाख बजेट सडक निर्माणमा विनियोजित भई काम सुरु भएको छ।

यस्तै निपाने दमार डुडखोला तीनतले खयरसाल सम्म ३० लाख, घ्यालेख गाँउपालिकाको चौतरा थलगाँउ महाभारत सम्म २६ लाख, कमलामाई नगरपालिका ७ चुमार देवीस्थान देखि थाक्लेसम्म ३१ लाख, दुधौलीको चियाबगानदेखि फिक्कको दमारसम्म ३१ लाख र घ्यालेखको खट्टार बुक्ति पटबाससम्म  ३६ लाख रूपैयाँ बजेट सडक निर्माणका लागि विनियोजन भई सम्झौता भइसकेको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत विजय मण्डलले जानकारी दिए। उनका अनुसार सबै योजनाको सम्झौता भई काम धमाधम भइरहेको छ।

‘मुख्य सडकसँग जोडिने गरि सडक निर्माण गर्न भनेका छौँ’, मण्डलले नागरिकसँग भने, ‘कृषि उत्पादनलाई प्रत्यक्ष लाभ हुने गरि कृषि सडक निर्माण गर्नका लागि यो रकम विनियोजित भएको हो।’ जिल्लामा विभिन्न सडकहरु निर्माण भइरहदा प्रदेश मन्त्रालय मार्फत केन्द्रले ठुलो रकम सडक शीर्षकमा छुट्याएको हो।

प्रकाशित: ३१ जेष्ठ २०७६ १०:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App