७ वैशाख २०८१ शुक्रबार
समाज

जङ्गली च्याउ खाएर ६ जनाको मृत्यु

पाल्पा– निस्दी गाउँपालिका पाल्पामा जङ्गली च्याउको तरकारी पकाएर खाएर बिरामी परेकामध्ये मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ। गत शुक्रबार च्याउ खाएर केही बिरामी भएका थिए। जङ्गली विषालु च्याउको तरकारी पकाएर खाएकामध्ये निस्दी – ३ सार्कीडाँडाका नौ वर्षीया निर्मलासिं ठुकरी चारवर्षीय विष्णुसिं ठकुुरी, सातवर्षीय सुमनसिं ठकुरी, निशासिं ठकुरी, निरुतासिं ठकुरी र ४५ वर्षीय पुरन खाम्चाको निधन भएको सङ्घीय सांसद दलबहादुर रानाले जानकारी दिए।

बिरामीमध्ये निर्मलाको मध्यविन्दु अस्पताल नवलपरासी विष्णुको पुरानो मेडिकल कलेज भरतपुर तथा अन्यको काठमाडौंँका विभिन्न अस्पतालमा निधन भएको हो। नजीकैको जङ्गलबाट खोजेर ल्याइएको च्याउ पकाएर तरकारी खाएका सार्कीडाँडाका ११ जना बिरामी परेका थिए। बिरामीलाई नवलपरासीको मध्यविन्दु अस्पताल, मनकामना अस्पताल तथा पुरानो मेडिकल कलेज भरतपुर, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज काठमाडाैं लगायत काठमाडौंँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

बिरामी ८० वर्षीय प्रेमसिं ठकुरी उपचारपछि घर फिर्ता अाइसकेका छन्। अन्य बिरामी ३६ वर्षीया चनकुमारी खाम्चा, उनकी छोरी १५ वर्षीया विमला, ३० वर्षीया दानमायासिं ठकुरी र धनकुमारी सिंको सघन उपचार कक्षमा उपचार भइरहेको छ। पाल्पा सदरमुकाम तानसेनदेखि करीब ७० किमी पूर्व सार्कीडाडाँका  चार परिवारका सदस्य बिरामी परेका हुन्। प्रतिनिधिसभा सदस्य रानाले गृह मन्त्रालयबाट मौखिक निर्णय गराई बिरामीको निःशुल्क स्वास्थ्योपचारको पहल भएको जानकारी दिए।

बिरामी तथा ज्यान जानेको परिवारमा सहयोगका विषयमा छलफल तथा बिरामीको स्वास्थ्यावस्था सन्दर्भमा आज कावा प्रधानमन्त्री ईश्वर पोखरेलसँग छलफल हुने सांसद रानाले बताए।  रासस

प्रकाशित: ३१ जेष्ठ २०७६ १०:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App