७ वैशाख २०८१ शुक्रबार
अर्थ

२२ प्रतिशत जनता अझै अँध्यारोमै

काठमाडौं - नेपालमा जलविद्युत् उत्पादन सुरु भएको एक शताब्दी नाघेको छ। फर्पिङ जलविद्युत् केन्द्रबाट विक्रम सम्बत १९६८ मा पाँच सय किलोवाट विद्युत् निकालिएको थियो। जलविद्युत् उत्पादन गर्न थालेको एक सय आठ वर्ष भएको छ। यो अवधिमा नेपाली खोलानालामा धेरै पानी बगिसक्यो। तर, अझै पनि २२ प्रतिशत नेपालीले टुकीकै सहारामा जीवन गुजारिरहेका छन्।

हालसालै सार्वजनिक भएको आर्थिक सर्वेक्षणले ७७.८ प्रतिशत  सर्वसाधारणले मात्रै विद्युत् सेवा उपभोग गरिरहेको देखाएको छ। यो तथ्यांकबाट देखिन्छ– अझै पनि २२.२ प्रतिशत नेपालीमा बिजुलीको पहुँच पुग्न सकेको छैन। अहिलेको समाजमा बिजुली अनिवार्य भइसकेको छ। तर, सरकारी बेवास्ताले २२ प्रतिशतभन्दा धेरै जनता बिजुली सेवाबाट वञ्चित छन्। नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी जलविद्युत् उत्पादनको इतिहास बिर्सनलायक भएको बताउँछन्। ‘नेपालमा जलविद्युत् उत्पादन भएको इतिहास शताब्दीभन्दा लामो छ। तर, इतिहास अनुसारको जलविद्युत उत्पादनमा चुक्यौं। जसको कारणले अहिले समस्या देखिएको हो,’ उनले भने, ‘दीर्घकालीन सोच र योजनासहित काम नहुँदा पर्याप्त मात्रा विद्युत् उत्पादन हुन नसकेको हो।’  

साढे दुई वर्षअघिसम्म देशमा साढे १८ घन्टाभन्दा धेरै लोडसेडिङ हुन्थ्यो। प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी कुलमान घिसिङले सम्हालेसँगै लोडसेडिङ क्रमशः अन्त्य भयो। आर्थिक सर्वेक्षणले नेपालमा बिजुली उपभोग गर्ने ग्राहक संख्या ४२ लाख ८४ हजार छ। यो तथ्यांक चालु आर्थिक वर्षको फागुनसम्मको हो। आर्थिक सर्वेक्षण अनुसार कर्णाली प्रदेशका ७३ प्रतिशत जनसंख्यामा अझै विद्युत् पुगेको छैन। कर्णाली प्रदेशमा २७ प्रतिशत जनताको पहुँचमा मात्रै बिजुली पुगको छ। त्यसैगरी, सुदूरपश्चिम प्रदेशका ४१ प्रतिशत जनता बत्तीमुनिको अँध्यारोमा बस्न बाध्य छन्। सातवटा प्रदेशको तुलनात्मक अध्ययन गर्दा प्रदेश तीनका ९०.३ प्रतिशत जनताले बिजुली उपयोग गर्छन्। भौगोलिक विकटताको कारण कर्णाली प्रदेशका दुई तिहाइभन्दा धेरै जनता बिजुली उपयोग गर्नबाट वञ्चित छन्।

सर्वेक्षण अनुसार १ नम्बर प्रदेशमा ७५.९०, दुई नम्बरमा ७९.७७, गण्डकीमा ८७.३७ र ५ नम्बरमा ८१ प्रतिशत जनतामा विद्युत्को पहुँच पुगेको छ। प्राधिकरण प्रवक्ता अधिकारीले ७८ प्रतिशत जनसंख्यामा मात्रै राष्ट्रिय ग्रिडको बिजुली पुगेको बताए। ‘अझै पनि २२ प्रतिशत जनताको घरमा राष्ट्रिय विद्युत्को ग्रिड पुगेको छैन,’ उनले भने, ‘राष्ट्रिय ग्रिड विद्युत् नपुगे पनि अन्य वैकल्पिक ऊर्जाका स्रोत पुगेका छन्।’

नेपाल विद्युत् प्राधिकरणले सन् २०२२ सम्म सम्पूर्ण नेपालीको घरधुरीमा राष्ट्रिय ग्रिड पु¥याउने लक्ष्य राखेको छ। चालु आर्थिक वर्षमा ऊर्जामन्त्री वर्षमान पुनले श्वेतपत्र जारी गर्दै सन् २०२२ सम्म सम्पूर्ण नेपालीको घरदैलोमा विद्युत् सेवाको पहुँच पु¥याउने लक्ष्य राखेका थिए।

नेपालमा अहिले एक हजार ७४ मेगावाट जलविद्युत् उत्पादन भइरहेको छ। सबैभन्दा धेरै बिजुली उत्पादन गर्नेमा गण्डकी प्रदेश छ। उक्त प्रदेशबाट ४८१.२, प्रदेश ३ बाट ३६२.२, प्रदेश १ बाट १६२.३, प्रदेश ५ बाट २१.२, कर्णालीबाट ७.१, सुदूरपश्चिमबाट ४०.१ मेगावाट जलविद्युत् उत्पादन भइरहेको सर्वेक्षणमा उल्लेख छ। प्रदेश २ मा एक मेगावाट पनि जलविद्यत् उत्पादन हँदैन। प्रदेश २ मा समथर भू–भाग मात्र भएकाले जलविद्युत् निकाल्न सम्भव नभएको हो।  

आर्थिक वर्ष ०७५/७६ को फागुनसम्म ११ सय ४२ मेगावाट बिजुली उत्पादन छ। त्योमध्ये जलविद्युत्बाट एक हजार २९ मेगावाट, थर्मल प्लान्टबाट ५३.४ मेगावाट, सौर्यऊर्जाबाट २७ मेगावाट, लघु तथा साना जलविद्युत् आयोजनाबाट ३२ मेगावाट उत्पादन हुन्छ। प्राधिकरणको स्वामित्वमा सञ्चालित आयोजनाबाट पाँच सय ६१ मेगावाट, निजी क्षेत्रबाट पाँच सय ६१ मेगावाट र वैकल्पिक ऊर्जाबाट ५९ मेगावाट राष्ट्रिय ग्रिडमा जडान गरिएको आर्थिक सर्वेक्षणले देखाएको छ। भारतबाट चार सय ५० मेगावाट बिजुली आयात भइरहेको छ।

प्रकाशित: ३१ जेष्ठ २०७६ ०४:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App