८ वैशाख २०८१ शनिबार
समाज

अन्सारीको ग्याङ खोतल्दै प्रहरीे

काठमाडौं - भारतीय जाली नोट तस्करी प्रकरणमा युनुस अन्सारी पुरानो नाम होइन। लामो समय जेल बसेर धरौटीमा रिहा भएको दुई वर्षपछि अन्सारी फेरि पुरानै धन्दामा लागेकोे आरोपमा पक्राउ परेका छन्। पछिल्लोपटक अन्सारी पक्राउसँगै प्रहरीले उनको ग्याङमा को–को छन् भनेर खोतल्न संगठित अपराधअन्तर्गत पनि अनुसन्धान सुरु गरेको छ। २०७४ फागुन २ गते धरौटीमा रिहा भएका अन्सारी जेठ १० गते ७ करोड ६७ लाख ९४ हजार जाली नोट लिन विमानस्थल पुग्दा पक्राउ परे। उनले भारतीय जाली नोट तस्करीमा आफू संलग्न रहेको स्वीकारेका छन्।

काठमाडौं प्रहरी परिसरको हिरासतमा रहेका अन्सारीसहित तीनजनाको बयान सकिएको छ। ‘अन्यको बयान जारी छ’, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी शैलेश थापाले भने। उनका अनुसार पाकिस्तानीसहित भारतीय पनि जाली नोट प्रकरणमा मुछिएका छन्।

जेठ १० गते अन्सारीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ पर्नेमा पाकिस्तानका नागरिक राहदानी नम्बर एआर २४०६४३२ बाहक ६७ वर्षीय नासिर उद्दिन, राहदानी नम्बर एए १३४५४९४ बाहक ४९ वर्षीय मोहमद अख्तर र राहदानी नम्बर सिएन १८२२०३२ बाहक ३९ वर्षीय नादिया अनवर छन्। प्रहरीका अनुसार उनीहरुले पाकिस्तानका नागरिक सिकन्दर भन्ने व्यक्तिले पठाएको पैसा नेपालमा अन्सारीलाई दिन ल्याएका थिए। सिकन्दरको नाम जाली नोट प्रकरणमा धेरैपटक मुछिँदै आएको छ। तर प्रहरीले सिकन्दरबारे अहिलेसम्म केही बताउन सकेको छैन। अन्सारीसँगै विमानस्थल पुगेका रौतहटका सुयल खान (अन्सारीका साला) र गाडीचालक भक्तपुर बालकोट बस्ने सुदन रानाभाट पनि पक्राउ परेका छन्।

‘नेपालमा चार वर्षपछि ठूलो परिमाणमा जाली नोट बरामद भएको हो। यसमा पनि अन्सारीको संलग्नता देखिएपछि प्रहरी नै अलमलमा परेको छ। अघिल्लो पटक जेल पर्दा अन्सारीले यस्तो कारोबार नगर्ने बताएका थिए’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने। २०६६ साल माघ १६ गते अन्सारी पहिलो पटक भारतीय नक्कली नोटसहित पक्राउ परेका थिए। अहिलेसम्म उनी पक्राउ परेको यो तेस्रो पटक हो। नक्कली नोट कारोबारमा २०७० सालमा पनि पक्राउ परेका उनी ०७४ फागुन २ गते थुनामुक्त भए। अन्सारीले आफूले नक्कली भारतीय नोटको कारोबार गरेको प्रहरीसमक्ष स्वीकारेका छन्। ‘मैले थोरै मगाएको थिएँ, पठाइदिनेले धेरै पठाएछन्,’ उनलाई उद्धृत गर्दै प्रहरी स्रोतले बतायो।

अन्सारीका सहयोगी

प्रहरीले यसअघि एक नेपाली र दुई विदेशीलाई १ करोड २२ लाख रुपैयाँसहित पक्राउ गरेको थियो। त्यतिबेला प्रहरी प्रधान कार्यालयको प्रतिआतंकवाद सेलले फिलिपिन्सका डेनिस प्लोरे सन्चेज, भारत बेतियाका नसिभ आलम र खोटाङ चिसापानीका डिकबहादुर नेपालीलाई पक्राउ गरेको थियो।

३५ वर्षीय नसिभ अन्सारीका प्रमुख सहयोगी हुन्। वीरगन्जका अफताव आलम र नसिभको सम्बन्ध अन्सारीसँग छ। अन्सारीका सहयोगी आलम दुईपटक पक्राउ परिसकेका छन्। एकपटक उनी ८१ लाख भारतीय नक्कली नोटसहित पक्राउ परेका थिए। अन्सरारीकै ग्याङका अर्का व्यक्ति हुन शेष मोहम्मद फहिम र मोहम्मद जाहिद। उनीहरुबाट पनि क्रमशः ५४ लाख र ८१ लाख भारतीय रुपैयाँ बरामद भएको थियो। उनीहरु सबैलाई सञ्चालन गर्नेचाहिँ पाकिस्तानका नागरिक सिकन्दर हुन्। उनी अहिलेसम्म पक्राउ परेका छैनन। उनको ग्याङका एड सेरा र असलम चौधरी पनि मुख्य व्यक्ति हुन्। सिकन्दर भन्ने व्यक्तिले पाकिस्तानबाट जाली नोट पठाउँछन्। त्यो पैसा अन्सारीले नेपालमा विभिन्न स्रोतमार्फत प्राप्त गर्छन्। सिकन्दरको असली नामबारे नेपाल प्रहरी अझै अनभिज्ञ छ। तर अन्सारीले पटकपटक बयानमा सिकन्दरको नाम लिएका छन्।

को हुन सिकन्दर?
अन्सारी संयोगले बाँचेका भारतीय जाली नोट तस्कर हुन। पहिलोपटक ०६६ पुस र २०७० सालमा पक्राउ परी छुटेका अन्सारी २०७० माघमा पुनः पक्राउ परे। त्यसबेला जेलबाट छुटेपछि उनी पुनः पाकिस्तानका असलम चौधरी र एड सेरासँग सम्पर्क गरी कारोबारमा संलग्न भए। त्यसमा पनि उनै सिकन्दरको नाम जोडियो।

उनले पाकिस्तानमा रहेका गुप्त नामधारी सिकन्दरसँग मिलेर नक्कली भारतीय नोटको कारोबार गर्दै आएको भए पनि सिकन्दरबारे नेपाल प्रहरी अन्योलमा छ। ‘यो नाम धेरै पटक आए पनि हामीले सिकन्दरबारे कुनै तथ्य प्रमाण फेलापारेका छैनौं। हामीसँग विभिन्न चरणमा पक्राउ परेका व्यक्तिहरूको बयानबाहेक अरू तथ्य छैन’, विशेष ब्युरोका एक अनुसन्धान अधिकृतले भने। उनका अनुसार कुबेतको एक बुटिक पसलमा काम गरिरहेकी बानोजुल जुलेखालाई सिकन्दरले भरियाका रूपमा प्रयोग गरी नेपाल पठाएपछि सिकन्दर र अन्सारीको सम्बन्ध खुलेको थियो।

तर सिकन्दरबारे प्रहरी अनभिज्ञ छ। अहिले पनि पक्राउ परेकाले सिकन्दरको नाम लिएका छन्। मोहमद अख्तर र नासिर उद्दिनले सिकन्दरको नाम लिएपछि अहिले विशेष ब्युरोले चासो दिएको छ। त्रिभुवन विमानस्थलमा झरेपछि उनीहरूलाई सिकन्दरका नेपाली सहयोगी लिन आउने बताइएको थियो। नेपाली सहयोगी भने अन्सारी नै हुन्।

सिकन्दरबारे प्रहरीको प्रतिआतंकवाद सेलले पनि अनुसन्धान सुरु गरेको छ। प्रहरीले सिकन्दर कुन तहका कारोबारी हुन भन्ने पत्ता लगाएको छैन। यसअघि १ करोड २२ लाख नक्कली रुपैयाँसहित पक्राउ परेका फिलिपिन्सका नागरिक डेनिस प्लोरे सन्चेजले पनि सिकन्दरको नाम लिएका थिए। त्यतिबेला उनीबारे प्रहरी प्रधान कार्यालयको प्रतिआतंकवाद ब्युरोले इन्टरपोललाई जानकारी गराएको थियो।

त्यस्तै ५५ लाख बराबरको भारतीय रुपैयाँ बरामद हुँदा पनि सिकन्दरको नाम जोडिएको थियो। उनीबारे नेपाल प्रहरीले इन्टरपोलमार्फत जानकारी दिए पनि पाकिस्तानी प्रहरीले अनुसन्धानमा सहयोग गरेको छैन। विशेष ब्युरोका तत्कालीन प्रमुख बमबहादुर भण्डारीले सिकन्दरको अर्को नाम हुन सक्ने भन्दै पाकिस्तानी प्रहरीलाई पत्राचार गरे पनि त्यसबारे कुनै जवाफ नआएको बताएका थिए।

प्रकाशित: ३१ जेष्ठ २०७६ ०३:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App