७ वैशाख २०८१ शुक्रबार
राजनीति

सरकारी टोलीको दुरबिन विप्लव कार्यकर्ताको कब्जामा

काठमाडौं - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले सगरमाथाको उचाइ नाप्न गएको सरकारी टोलीको साथबाट लुटेर दुरविन कब्जा गरेको छ। सगरमाथाको उचाइ नाप्न छनोट गरिएका १२ वटा ‘प्वाइन्ट’ (बिन्दु) मध्ये खोटाङ लौरेडाँडामा पुगेका सरकारी अधिकारीबाट खोसेर विप्लवका कार्यकर्ताले बाइनाकुलर (दुरविन) कब्जामा लिएका हुन्।

जेठ ७ गते लौरेडाँडा पुगेका सरकारी अधिकारीहरुबाट विप्लवका कार्यकर्ताले दुरविन लुटेको भन्ने खबर पाएपछि प्रहरीले त्यस क्षेत्रमा खोटाङ र सोलुखुम्बुबाट सुरक्षाकर्मी खटाएको थियो। सगरमाथाको उचाइ नाप्न गएको टोलीका सदस्यले भने यो घटनालाई गुपचुप राखेका छन्। ‘मन्त्रालयमा त्यसको जानकारी भइसकेको छ तर बाहिर ल्याउन आवश्यक ठानिएन,’ भूमि तथा व्यवस्था मन्त्रालयका एक उपसचिवले भने, ‘त्यहाँ हाम्रा साथीलाई थ्रेट भयो भनेर प्रदेश प्रहरीलाई भन्यौं।’

सुरक्षा थ्रेट भएको जानकारी पाएपछि प्रदेश १ प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय खोटाङलाई लौरेडाँडासहित अन्य बिन्दु आसपास गस्ती बढाउन निर्देशन दिएको थियो। तर खोटाङ प्रहरीलाई विप्लवका कार्यकर्ताले दुरविन कब्जा लिएको विषयमा जानकारी दिइएको थिएन। अहिले पनि मन्त्रालय र उच्च सुरक्षा निकायले यो घटनालाई गोप्य राख्न चाहेका छन्। ‘यो पनि राज्यको सम्पत्ति हो। हामी पनि यही राज्यका नागरिक हौं। राजनीतिक परिवर्तनका लागि युद्ध लडेका छौं भन्दै उनीहरुले दुरविन कब्जामा लिएका थिए’, लौरेडाँडाका एक स्थानीयले नागरिकसँग भने।

भोजपुरको सिलिचोमा पनि विप्लवका कार्यकर्ताले सगरमाथाको उचाइ नाप्न गएको टोलीलाई अवरोध गरेका थिए। तर त्यहाँबाट भने उनीहरूले सरकारी अधिकारीको साथमा रहेका प्राविधिक सामान लुटेनन्। खोटाङको ऐंसेलुखर्क र मायुङमा पनि विप्लव कार्यकर्ताले सरकारी टोलीलाई अवरोध गरेका थिए। त्यस्तै १२ वट प्वाइन्टमध्ये सोलुको माथिल्लो राउजी र तल्लो राउजी, पताले डाँडा, केम्ज्यो डाँडा, बुकुर डाँडा, छुल्यामु, पिके डाँडामा भने विप्लव कार्यकर्ताले सरकारी टोलीलाई कुनै अवरोध गरनन्।

सगरमाथको उचाइ नाप्न गएको सरकारी टोलीको साथमा रहेको दुरविन जेठ ७ गते विप्लवका कार्यकर्ताले खोटाङ लौरेडाँडाबाट लुटेर कब्जामा लिएको खुलासा।

पहिलो टोलीबाट दुरविन कब्जा गरेपछि दोस्रो पटक गएको सरकारी टोलीबाट विप्लव कार्यकर्ताले एक थान मोबाइल मागेरै लगेका छन्। ती सरकारी अधिकारीले काठमाडौं आएपछि त्यसको विस्तृत जानकारी मन्त्रालयमा गराएका छन्। विप्लव कार्यकर्ताले दोस्रो पटक २३ गते लौरेडाँडा पुगेको सरकारी टोलीबाट ‘स्मार्ट’ फोन मागेरै लगेका थिए। लौरेडाँँँडाका स्थानीय एक व्यक्तिले दिएको जानकारी अनुसार विप्लव कार्यकर्ताले आफूहरुलाई मोबाइल आवश्यक भएकाले मागेका थिए। उनीहरूले यसको जानकारी स्थानीयलाई समेत गराएका थिए।

सरकारी अधिकारीले लगेको केही खाद्यसमाग्री पनि विप्लव कार्यकताले नियन्त्रणमा लिएको ती स्थानीयले बताए। जेठ ७ गते विप्लव कार्यकर्ताले दुरविन कब्जा गरेपछि सरकारी अधिकारीहरु लौरेडाँडाबाटै काठमाडौं फर्केका थिए। पहिलो सरकारी टोली काठमाडौं आएपछि प्रहरी त्यस क्षेत्रमा गस्तीमा गएको थियो। तर प्रहरीले विप्लवका कार्यकर्ता फेला पार्न सकेन। चार दिन त्यहाँ गस्ती गर्दा पनि विप्लवका कार्यकर्ता नभेटिएपछि प्रहरी टोली खोटाङ सदरमुकाम फर्केको थियो। त्यसपछि २३ गते फेरि सरकारी टोली लौरेडाँडा गएको थियो।

‘उचाइ नाप्न गएका अधिकारीलाई केही समस्या आएको छ भन्ने जानकारी हामीले त्यतिबेलै भूमि व्यवस्थामन्त्री पद्मा अर्याललाई गराएका थियौं’, मन्त्रालय स्रोतले भन्यो।पूर्वी पहाडका चार जिल्लामा विप्लव समूहका गतिविधि बढेको भन्दै प्रदेश १ प्रहरीले संखुवासभा, भोजपुर, सोलुखुम्बु र खोटाङमा विशेष अप्रेसन नै सुरु गरेको थियो। प्रदेश १ का प्रहरी प्रमुख डिआइजी केदार रिजालले विप्लव कार्यकर्ताले दुरविन कब्जाका लिएको भन्ने जानकारी नआएको तर ती क्षेत्रमा उनीहरुको गतिविधि बढेको सूचनालाई आधार मानेर जेठ ७ र २३ आसपासका दिनमा सुरक्षाकर्मी परिचालन गरेको बताए।

‘बाइनाकुलर वा अन्य प्राविधिक सामग्रीहरु कब्जामा लिएको भन्नेबारे जानकारी भएन तर त्यस क्षेत्रमा केही अवरोध थियो भन्ने सूचना पाएपछि प्रदेश १ प्रहरी कार्यालयले सुरक्षाकर्मी खटाएको हो’, डिआइजी रिजालले भने। सगरमाथाको उचाइ नाप्न नापी विभागका उपसचिव खिमलाल गौतमको नेतृत्वमा टोली खटिएका थिए। विभिन्न समूहमा १२ बिन्दुमा फरक–फरक टोली गएको थियो।

प्रकाशित: ३१ जेष्ठ २०७६ ०१:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App