७ वैशाख २०८१ शुक्रबार
समाज

चट्याङको झिल्कोले गाउँ सखाप

आगलागीबाट सखाप भएको छोट्की चौफेरी गाउँ । तस्बिर सौजन्य:रेडक्रस

नेपालगन्ज – बाँकेको राप्तीपारिस्थित छोट्की चौफेरी गाउँमा चट्याङबाट निस्केको आगोको झिल्कोले पूरै गाउँ सखाप भएको छ। हावाहुरीसँगै परेको चट्याङबाट आगोको झिल्को निस्कँदा बुधबार बिहान डुडुवा गाउँपालिका १ मा रहेको उक्त गाउँका ३८ वटा घर जलेर नष्ट भएका हुन्। स्थानीय खेलावन यादवको घरमा चट्याङ परेपछि झिल्को निस्केर आगो फैलिएको थियो।

मध्याह्न सबा १२ बजेतिर आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। प्रहरी चौकी खडैचाबाट प्रहरी सहायक निरीक्षक कवीन्द्र कठायतको नेतृत्वमा पाँचजनाको टोली खटिएको थियो। भौगोलिक विकटताले गर्दा घटनास्थलमा दमकल पुग्न नसक्दा धेरै घरमा क्षति पुगेको बताइएको छ।

आगलागीबाट नगद, जिन्सी तथा अन्नबालीसमेत गरी ३१ लाख ३७ हजार ५ सय मूल्यबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अरुण पौडेलले जानकारी दिए। प्रहरीका अनुसार आगलागीमा परेर खेलावन यादवकी १६ वर्षीया छोरी नन्कै घाइते भएकी छन्। उनी घरभित्र सुतिरहेकी थिइन्। उनको शरीरको पछाडिको भाग जलेको प्रहरीले जनाएको छ। घटनास्थलको जिल्लाका सुरक्षा अधिकारी तथा स्थानीय जनप्रतिनिधिले निरीक्षण गरेका छन्।

प्रमुख जिल्ला अधिकारी मदन भुजेल, डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, जिल्ला प्रहरी प्रमुख एसपी पौडेल, सशस्त्र प्रहरी प्रमुख भेषबहादुर शाह, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कमलप्रसाद भट्टराईलगायतले निरीक्षण गरेका हुन्। जिल्ला विपद् व्यवस्थापन समितिले पीडितलाई राहतस्वरुप प्रतिपरिवार ३ हजार, डुडुवा गाउँपालिकाले प्रतिपरिवार २ हजार र एक छाक खाना, रेडक्रस बाँकेले त्रिपाल उपलब्ध गराएको रेडक्रसका कार्यालय प्रमुख दोलख डाँगीले जानकारी दिए।

प्रकाशित: ३१ जेष्ठ २०७६ ०१:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App