८ वैशाख २०८१ शनिबार
समाज

चट्याङबाट निस्केको झिल्कोले पुरै गाउँ सखाप

आगलागीबाट सखाप भएको डुडुवा गाउँपालिका–१ स्थित छोट्की चौफेरी गाउँ । तस्बिर : नेपाल रेडक्रस

नेपालगन्ज– बाँकेको राप्तीपारीस्थित ‘छोट्की चौफेरी’ मा चट्याङबाट निस्केको आगोको झिल्कोले पुरै गाउँ सखाप भएको छ। हावाहुरीसँगै परेको चट्याङबाट आगोको झिल्को निस्कँदा बुधबार बिहान डुडुवा गाउँपालिका वडा नम्बर १ मा रहेको गाउँका ३८ वटा घर जलेर नष्ट भएको हो। स्थानीय खेलावन यादवको घरमा चट्याङ परेपछि झिल्को निस्केर आगो फैलिएको थियो। 

गाउँमा रहेका ३८ वटा घर जलेर नष्ट भएपछि मात्र मध्यान्ह सवा १२ बजेतिर आगो पूर्ण रुपले नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी चौकी खडैचाबाट प्रहरी सहायक निरीक्षक कबिन्द्र कठायतको नेतृत्वमा पाँच जनाको टोली खटिएको थियो। भौगोलिक विकटताले गर्दा घटनास्थलमा दमकल पुग्न नसक्दा धेरै घरमा क्षति पुगेको बताइएको छ। 

आगलागीबाट नगद, जिन्सी तथा अन्नबाली समेत गरी ३१ लाख ३७ हजार ५ सय मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अरुण पौडेलले जानकारी दिए। प्रहरीका अनुसार घरभित्र सुतेकी खेलावन यादवकी १६ बर्षिया छोरी नन्कै यादव घाइते भएकी छन्। उनको शरीरको पछाडीको भाग जलेको प्रहरीले जनाएको छ। घटनास्थलको जिल्लाका सुरक्षा अधिकारी तथा स्थानीय जनप्रतिनिधिले निरीक्षण गरेका छन्। 

प्रमुख जिल्ला अधिकारी मदन भुजेल, डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, जिल्ला प्रहरी प्रमुख एसपी पौडेल, सशस्त्र प्रहरी प्रमुख भेषबहादुर शाह, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कमलप्रसाद भट्टराई लगायतले निरीक्षण गरेका हुन्। 

जिल्ला विपद ब्यवस्थापन समितिले पीडितलाई राहत स्वरुप प्रतिपरिवार ३ हजार, डुडुवा गाउँपालिकाले प्रतिपरिवार २ हजार र एक छाक खाना, रेडक्रस बाँकेले त्रिपाल उपलब्ध गराएको रेडक्रसका कार्यालय प्रमुख दोलख डाँगीले जानकारी दिए।

प्रकाशित: ३० जेष्ठ २०७६ १३:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App