१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हामी त्यसै उडेनौं...

चार दिन कुरेको भए उनको निधार सप्तरंगी टीकाले  सजिन्थ्यो । गला मखमली मालाले भरिन्थ्यो । हातभरि  दिदीले दिएको मिठाई र मसलाको पोको हुन्थ्यो । मनभरि दैउसी भैलोको उमंग रहन्थ्यो । ‘हामी त्यसै आएनौं बली राजाले पठाए...’ भन्ने धुन गुन्जन्थ्यो ।

गोर्खाका कविन अमगाईं यमपञ्चकको पहिलो दिन शुक्रबार नै सप्तरंगी सपना बोकेर रित्तो निधार बिदेसिए । झोलामा कागजपत्र र खल्तीमा पासपोर्ट बोेकेका उनी निनाउरो अनुहारमा भेटिए ।  तिहारको मुखैमा घर छाड्नुपर्दाको पीडाले होला, उनको अनुहारमा ‘हामी त्यसै उडेनौं ...’ को बाध्यात्मक भाव झल्कन्थ्यो ।

स्वदेशमा काम नपाएपछि  वैदेशिक रोजगारका लागि कतार हिँडेका उनलाई दिदी कोपिला अधिकारीले विमानस्थलमा बिदा गरिन् ।  झोला बोकेर तिहारको मुखैमा बिदेसिँदै गरेको भाइलाई दिदीले हात हल्लाउँदै बिदाइ गरेको दृश्यले विमानस्थलको वातावरण खल्लो बन्यो ।

‘त्यसै त भाइहरू जहिले घर छाडेर हिँडे पनि  दुःख लाग्छ, अहिले त झन् तिहारको मुखैमा हिँड्यो’, भाइलाई बिदा गरेपछि अधिकारीले सुनाइन्, ‘निक्कै नरमाइलो लागेको छ ।’ 

‘काललाई बरु रोक्न सकिन्थ्यो होला, गरिबीका कारण घर छाडेर जाँदै गरेको भाइलाई कसरी रोक्न सकिन्छ’, उनले थपिन्, ‘आज मैले तिहारअगाबै उसलाई आशीर्वादको माला लगाइदिएँ ।’

विमानस्थलमा अधिकारीले भाइलाई बिदा गरेको केही क्षणमै कीर्तिपुरका दीपेश थापा  झोला भिरेर  बिदेसिँदै थिए । तिहारको मुखमा विदेश जानुको पीडा उनको अनुहारमा पनि झल्कन्थ्यो । उज्यालोको पर्व आउँदै गर्दा उनी पनि अँध्यारो मुख लगाएर विदेश जाँदै थिए । ‘दिदीले मखमली पनि रोप्नुभएको थियो,’ उनले भने, ‘तर माला उनिनुभन्दा पहिल्यै म उड्दैछु ।’ घरपरिवार र आफन्तका सपना पूरा गर्न पहिलो पल्ट दुबई जाँदै गरेका उनी समय मिले दुई वर्षपछि टीका थाप्ने  सुनाउँछन् ।

तेलको धाराले घेरेर, कानमा ओखरको टकटक सुनाउँदै दिदीले लगाइदिएको सप्तरंगी टीको निकै प्यारो लाग्ने उनले सुनाए । ‘घेरो लाग्नुअगाबै बाध्यताले हामीलाई उडायो,’ उनले भने, ‘बिदाइको बेलाको दिदीको अनुहार सम्झँदा अहिले पनि नरमाइलो लागिरहेको छ ।’ आफूलाई दिदीले घरबाटै बिदाइ गरेर पठाएको उनले सुनाए ।

यो विवशता अधिकारी र थापा परिवारको मात्र हैन । वैदेशिक रोजगारमा जाने हजारौं घरपरिवारको साझा समस्या हो । स्वदेशमै रोजगार नमिल्दा युवाले दसैं, तिहार र छठजस्ता पर्वमात्र हैन, बुढेसकालका आमाबुबालाई छाडेर दैनिक डेढ हजारको हाराहारीमा युवा बिदेसिइरहेका छन् ।

रुपन्दैही पथरैयाका श्यामलाल पटेल पनि दीपावली तथा छठ पर्वको पूर्व सन्ध्यामा घर छाड्नुपर्दा दुःखी देखिए । दान नदीको किनारमा छठ पूजा गर्दै आएका उनी शुक्रबार नै कतारतर्फ उड्दैछन् । घरमा श्रीमती र कलिला नानीले रोकिन आग्रह गरे पनि उनीहरूकै सपना पूरा गर्न आफू हिडेको सुनाउँछन् पटेल । ‘कमाएर छोराछोरीलाई पढाउनु छ, नयाँ घर बनाउनु छ’, उनले भने, ‘यही सपनाले हामीलाई उडाएको छ ।’ जिल्लामा रोजगारीको राम्रो अवसर नभएकाले विदेश उड्नुपरेको उनले सुनाए ।

प्रकाशित: १३ कार्तिक २०७३ ०२:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App