६ वैशाख २०८१ बिहीबार
अर्थ

बेरोजगारलाई रोजगार दिने सुरसारै छैन

धनुषा - सरकारले चालु आर्थिक वर्षमा बेरोजगारलाई रोजगारी दिने भनेको प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छैन।१८ देखि ५९ वर्ष उमेर समूहको बेरोजगारलाई रोजगारी दिने भनिएको यो कार्यक्रम आर्थिक वर्ष सकिन एक महिना बाँकी हुँदा सञ्चालनको तयारी छैन।

सरकारले सातवटै प्रदेश र प्रत्येक स्थानीय तहमार्फत सञ्चालन गर्ने भनेको रोजगार कार्यक्रम प्रक्रियामा रहेको तर, सुरु नभएको जनकपुरधाम उपमहानगरपालिकाका रोजगार संयोजक सन्तोष महतोले बताए।स्थानीय तहका प्रमुखको संयोजकत्वमा गठन गरिएको समितिले श्रमिक छनोट निर्देशिका बनाउने र निर्देशिका नगरसभाबाट पारित भई छनोट कार्य सुरु हुने उनको भनाइ छ।

‘आवेदन संकलनको कार्य पूरा भएको छ,’ उनले भने, ‘चालु आर्थिक वर्षको अन्तिम महिनामा कम्तिमा दुई सय ५० जनाले २० दिनको राजगारी पाउने छन् ।’ कार्यक्रमले अगामी आर्थिक वर्षमा वार्षिक प्रतिव्यक्ति न्यूनतम एक सय दिन रोजगारी पाउने सुनिश्चित गरेको उनले बताए।सरकारले रोजगारी दिन नसक्ने व्यक्तिका लागि कार्यक्रममार्फत बेरोजगार परिवारको एकजना श्रमिकले सय दिनमा पाउने न्यूनतम पारिश्रमिकको ५० प्रतिशत रकम निर्वाह भत्ता दिने प्रावधान रहेको उनले जनाए।
कस्तो व्यक्तिलाई रोजगारी दिने, नदिने भन्नेबारे अन्योल रहेका हुनाले निर्देशिका नबनेसम्म कार्यक्रम सुरु नहुने उनले उल्लेख गरे।निर्देशिका अनुरुप मापदण्ड पूरा भएको व्यक्तिले रोजगारी वा निर्वाह भत्ता पाउने सरकारको प्रावधान रहेको उनले बताए।जनकपुर उपमहानगरपालिकाको सबै वडाले आवेदन नपठाएको हुनाले यकिन तथ्यांक नभए पनि १५ हजारले आवेदन दिएको छ।

‘वैशाख ११ गतेसम्म सात हजार चार सय ११ जनाको आवेदन दिएको थियो,’ उनले भने, ‘अन्तिम समयमा थुप्रैले आवेदन दिएको छ।यकिन संख्या नभए पनि नगरमा १५ हजारको हराहारीमा बेरोजगारले आवेदन दिएका छन् ।’ यस्तै, धनुषाको सहिद नगरपालिकामा पनि कार्यक्रम सुरु नभएको नगरका रोजगार संयोजक सरोजकुमार मण्डलले बताए।असारको पहिलो सातादेखि सुरु हुने भन्दै चालु आर्थिक वर्षमा आएको बजेटको ७० प्रतिशत ज्यालामा वितरण गर्ने समितिले निर्णय गरेको उनले बताए।

‘करिब नगरमा ६ हजारको आवेदन आएको छ,’ उनले भने, ‘यस वर्षको बजेटले दुई सय २० जनालाई रोजगारी दिन सकिन्छ ।’ ६ हजारको हराहारीमा आएको आवेदनबाट दुई सय २० जना छनोट गर्नु अफ्ठ्यारो रहेको भन्दै यस वर्ष दलितलाई विशेष प्राथमिकतामा राखेर छनोट गर्ने उनले बताए ।

धनुषाको पूर्वी क्षेत्र कमला नगरपालिकामा पनि कार्यक्रम सुरु नभएको नगर रोजगार संयोजक चन्द्र प्रकाश यादवले बताए।कार्यविधि, बजेट र कर्मचारी नै स्थानीय तहमा ढिला आएकाले कार्यक्रम सञ्चालन हुन नसकेको उल्लेख गर्दै देशैभरि यो समस्या रहेको उनले बताए। ‘कमला नगरपालिकामा दुई हजार चार सय बेरोजगारले आवेदन दिएका छन्,’ उनले भने, ‘अगामी हप्तामा कार्यपालिका बैठकबाट योजना छनोट हुन्छ ।’ आवेदन धेरै आए पनि योजना छनोट भएर चालु वर्षमा एक सय ५० जनालाई मात्र रोजगारी दिने उनले बताए ।

 

प्रकाशित: ३० जेष्ठ २०७६ ०३:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App