८ वैशाख २०८१ शनिबार
समाज

ट्रेकिङकमा हराएका युवकको उद्धार असफल

रामेछाप – गोकुलगंगा र उमाकुण्ड गाउँपालिकास्थित नुम्बुर ट्रेकिङ सर्किटमा ट्रेकिङ गर्ने क्रममा विगत पाँच दिनदेखि हराइरहेका मनीष युगल श्रेष्ठ बुधबार बिहान जीवितै फेला परेका छन्। उनलाई उद्धार भने गर्न सकिएको छैन।

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ बस्ने ३४ वर्षीय श्रेष्ठलाई खोजी गर्न गएको सुरक्षाकर्मीको टोलीले बुधबार बिहान करिब ७ बजेतिर हिँडडुल गर्न नसक्ने अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक सन्तोषकुमार भट्टराईले जानकारी दिए।

ट्रेकिङमा गएका पाँच जनामध्ये एकजना बाटो भुलेर हराएपछि सँगै यात्रामा रहेका अन्य चारजना साथीले हराएको कुरा प्रहरीलाई जानकारी गराएका थिए। हराएका श्रेष्ठलाई प्रहरीले गोकुलगंगा गाउँपालिका–१ चुचुरेको मानेडाँडाको तेर्सेमा फेला पारी घटनास्थलबाट सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ। उनको उद्धारका लागि करिब ३ बजेतिर आएको हेलिकोप्टर मौसम खराबका कारण बस्न नसकेपछि काठमाडौं नै फर्किएको छ। बिहीबार मौसम खुल्नासाथ पुनः आउने जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

बिरामी अवस्थाका श्रेष्ठलाई सुरक्षाकर्मीका साथ चौंरीगोठमा राखिएको प्रहरीले जानकारी दिएको छ। घटनास्थल सदरमुकाम मन्थलीबाट ४ घण्टाको सवारी यात्रापछि थप एक दिन पैदल हिँडेर मात्र पुग्न सकिन्छ। ट्रेकिङमा रहेका पाँचमध्ये अन्य चारजनाको यात्रा भने निरन्तर चलिरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: ३० जेष्ठ २०७६ ०३:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App