coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पर्यटन प्रवर्द्धन समितिप्रति होटल व्यवसायीको आपत्ति

बनेपा - नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि प्रदेश ३ सरकारले गठन गरेको समितिप्रति होटल तथा पर्यटन व्यवसायी संघ, प्रदेश ३ ले विरोध जनाएको छ ।
संघको प्रथम ऐतिहासिक अधिवेशनबारे जानकारी दिन बनेपामा बुधबार आयोजित पत्रकार सम्मेलनका क्रममा निजी क्षेत्रबाट प्रदेश समितिमा रहेका पदाधिकारीप्रति होटल व्यवसायीले खुलेरै विरोध गरेका छन् ।

‘१३ वटा जिल्ला रहेको प्रदेशमा ६ वटा उद्योग वाणिज्य संघका अध्यक्षलाई मात्रै सदस्य राखिएको छ।यस्तै, सदस्यमा पर्यटन प्रवद्र्धनमा लागिरहेका संघसंस्थाका प्रतिनिधिभन्दा पनि व्यक्तिलाई समितिमा राखिएको छ।यसमा हामीहरुलाई दुःख लागेको छ,’ प्रदेश ३ स्तरीय संघका संयोजक सन्तोष उपे्रतीले भने । समितिमा प्रदेश ३ सरकारका तर्फबाट मुख्य मन्त्री संरक्षक, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अध्यक्ष, प्रमुख सचिवलाई सहअध्यक्ष र प्रदेश मन्त्रालयका सचिवलाई सदस्य–सचिव बनाइएको छ।‘प्रदेश सरकारबाहेक १५ जनाको समितिमा अधिकांश काठमाडौं, धादिङ, चितवन, दोलखा र मकवानपुरका व्यक्ति रहेका छन्।काभ्रे, रामेछाप, रसुवा, नुवाकोटजस्ता पर्यटकीय गन्तव्यका न त व्यवसायी न त संघसंंस्था नै समावेश गरिएको छ,’ उप्रेतीले भने, ‘अन्यत्र संघसंस्थामा भारी मतले चुनाव हारेका व्यक्तिहरुलाई राजनीतिक आस्थाका आधारमा समितिमा ल्याइएको छ।यसप्रति हाम्रो संघको आपत्ति छ,’ उनको आक्रोश थियो ।

प्रदेश अधिवेशन बनेपामा
होटल तथा पर्यटन व्यवसायी संघ, प्रदेश ३ ले प्रथम अधिवेशन मध्यपहाडको व्यापारिक नगरी बनेपामा आयोजना गर्ने भएको छ।२०७४ फागुनमा नुवाकोटमा गठित संघको तदर्थ समितिले काभ्रे होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको व्यवस्थापनमा साउन ११ र १२ गते बनेपामा अधिवेशन गर्न लागेको प्रदेश अध्यक्ष सन्तोष उप्रेतीले जानकारी दिए।

‘प्रदेश ३ को होटेल तथा पर्यटन क्षेत्रमा नयाँ लगानी भिœयाउन र हाल सञ्चालनमा रहेका व्यवसायलाई अझ गुणस्तरीय बनाउनका लागि अधिवेशनमा पर्यटन क्षेत्रका विभिन्न विज्ञबाट कार्यपत्र प्रस्तुत हुनेछन्,’ उनले थपे।प्रदेश ३ का १३ वटै जिल्लाका होटल एवं पर्यटन व्यवयसायीलाई मध्यबिन्दु पर्ने भएकाले पनि अधिवेशनका निम्ति बनेपालाई छनौट गरिएको उनको भनाइ छ ।

पछिल्लो समय गेस्ट हाउस भन्नेबित्तिकै आम जनमानसमा नकारात्मक छवि रहेको अवस्थालाई हटाउन प्रदेश संघमा रहेका जिल्ला सदस्यहरुमार्फत अनुगमन र निगरानी बढाउँदै लगिएको उनको भनाइ छ।‘केही गेस्ट हाउसको बदमासीले गर्दा उत्कृष्ट सेवा दिइरहेका गेस्ट हाउसलाई मर्का परिरहेको छ।हामीसँग आवद्ध नेपाली होटल संघ, काठमाडौं जिल्ला होटल संघलगायत संस्थाको सक्रियतामा धेरै सुधार आइसकेको छ,’ उप्रेतीले थपे ।

बनेपा अधिवेशनबाट स्वदेशमै व्यवसाय गर्न सकिने वातावरण र सम्भावना रहेको सन्देशसमेत प्रवाह हुने काभ्रेका अध्यक्ष श्यामकुमार श्रेष्ठको भनाइ छ।‘युवालाई होटेल तथा पर्यटन क्षेत्रमा कसरी आकर्षण गर्ने, कसरी टिकाउने र स्वरोजगार बनाउने भन्नमै कार्यपत्र र छलफल केन्द्रित रहनेछन्,’ उनले थपे।प्रदेश ३ अन्तर्गत १३ वटै जिल्लामा आधिकारिक जिल्ला शाखा गठन भइसेकको हुँदा यीनै शाखाबाट अधिवेशनमा करिब साढे चार सय होटल तथा पर्यटन व्यवसायीको प्रतिनिधित्व रहने श्रेष्ठको भनाइ छ ।

प्रकाशित: ३० जेष्ठ २०७६ ०३:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App