coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जनप्रतिनिधि र स्वास्थ्यकर्मी यार्सा टिप्ने लेकमा

बझाङ - लेकमा विभिन्न खाले रोगको संक्रमण भएर यार्सागुम्बा टिप्नेहरू बिरामी भएको खबर सार्वजनिक भएसँगै साइपाल गाउँपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरू औषधि लिएर राईढुंगी लेकमा गएका छन्। यार्सागुम्बा टिप्न राईढुंगीलगायत अन्य लेकमा गएकाहरूले जथाभावी दिशा–पिसाब गरी फोहोर बनाउने, पिउने पानी र खानामा लापर्बाही गरेपछि झाडापखाला, आउँ, पेट दुख्ने, ज्वरो आउने जस्ता रोग लागेको खबर जेठ २६ गते नागरिक दैनिकमा प्रकाशित भएपछि घटनाको जानकारी लिन तथा स्वास्थ्य शिविर सञ्चालन गर्ने उद्देश्यसहित साइपाल गाउँपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोली लेक उक्लेको हो।

यतिबेला मानिसहरू गाउँ ‘शून्य’ पारेर यार्सा खोज्न लेक उक्लेका छन्। तर लेकमा बिरामी हँुदा लेकमा एक चक्की सिटामोल पाइँदैन। औषधिमूलो गर्ने कोही नभएपछि यार्सा टिप्न गएकाहरू बिरामी हुँदै रित्तो हात घर फर्किन थालेका थिए। तर लेकमै स्वास्थ्य उपचार पाउने भएपछि अहिले आफूहरूलाई निकै खुसी लागेको साइपाल गाउँपालिका–२ का कलम बोहराले बताए। ‘यार्सागुम्बा टिपिने सबै लेकमा गाउँपालिकाले स्वास्थ्य शिविर राख्नुपर्छ,’ उनले भने, ‘विकासभन्दा पहिले गाउँवासीको स्वास्थ्य हेर्नुपर्छ।’

अहिले गाउँ र सहरभन्दा बढी फोहोर लेकमा छ। राईढुंगी, माझा, चाल्ला वन, कालापानीलगायत १५ भन्दा बढी लेकमा २० हजारभन्दा बढी मान्छे छन्।

‘स्वास्थ्य शिविर सञ्चालन गर्न तथा वातावणसम्बन्धी जानकारी लिन आफूलगायत जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोली लेकमा रहेको उल्लेख गर्दै साइपाल गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले भने, ‘अहिले गाउँ र सहरभन्दा बढी फोहोर लेकमा भएको छ।’ अध्यक्ष धामीका अनुसार राइढुंगी, माझा, चाल्ला वन, कालापानीलगायत १५ भन्दा बढी लेकमा २० हजारभन्दा बढी मान्छे छन्। लेकमा जथाभावी आगो लगाउने चोरी शिकार गरिने भएकाले यस्तो न गर्न, न गराउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।

लेकमा मदिरासेवन गरेर फालेका सिसा, प्लास्टिक झोला, चाउचाउका खोललगायत चिजहरू यत्रतत्र फालिएका छन्, जसले गर्दा वातावरण दूषित हुनाका साथै यार्सागुम्बालगायत अन्य जडीबुटी संकटमा परेको छ भने आलो रुख धुपी र सिमालो काटेर आगो बाल्दा लेकाली वन उजाड हुन थालेको छ।

प्रकाशित: ३० जेष्ठ २०७६ ०२:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App