७ वैशाख २०८१ शुक्रबार
अर्थ

आर्थिक वर्ष सकिन लाग्दा बल्ल तथ्यांक

सुर्खेत/जुम्ला– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा १६ वडा छन्। बेरोजगारलाई रोजगार दिने उद्देश्यले सुरु प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि अहिले बेरोजगारको तथ्यांक मात्र  संकलन भएको छ।

रोजगार संयोजक जीरबहादुर बुढा १६ वडामध्ये ११ बाट मात्रै बेरोजगारको फर्म संकलन भएको बताउँछन्। ‘उनीहरुको प्राथमिकीकरण भएको छैन, बाँकी वडाबाट बेरोजागरको तथ्यांक आएकै छैन,’ संयोजक बुढाले भने, ‘सबैको फर्म आएपछि काम अगाडि बढाउने सोच बनाएका छौं।’

बुढाका अनुसार ११ वडामा चार हजार तीन सयको हाराहारीमा बेरोजगार फेला परेका छन्। तथ्यांक पूरै नआएकाले निर्देशक समितिको बैठक बसेको छैन। ‘छोटो समय भएकाले बेरोजगारहरुलाई सरसफाइ, वृक्षरोपण, बगैचा निर्माणलगायतमा खटाउने तयारी गरेका छौं,’ उनले भने, ‘छोटो अवधिमा ठूला कामहरु गर्न सकिँदैन।’

पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाको जम्मा जनसंख्या ३० हजार तीन सय १३ हो। यहाँ १५ देखि ५९ वर्षसम्मका चार हजार चार सय ३६ जना बेरोजगार छन्। प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि संघीय सरकारबाट २५ लाख रुपैयाँ गाउँपालिकालाई प्राप्त भएको छ।

नौ वडा रहेको सिम्ता गाउँपालिकाले दुई लाख थपेर २७ लाख रुपैयाँ पु¥याएको छ। ‘प्रत्येक वडाका लागि तीन–तीन लाख रुपैयाँ छुट्याएका छौं,’ गाउँपालिका अध्यक्ष कविन्द्रकुमार केसीले भने, ‘यो रकमबाट बेरोजगारलाई सडक निर्माण, खानेपानी, गोरेटोबाटो, सिँचाइ र पर्यटकीय क्षेत्रमा सिंढी निर्माणमा लगाउँछौं।’ निर्देशिकामा जम्मा रकमको ७५ प्रतिशत ज्यालामा खर्चिनुपर्ने उल्लेख छ।

‘त्यहीँ भएर प्रत्येक वडाबाट साना योजना छनोट गरेका हौं,’ उनले भने, ‘चालू आर्थिक वर्षभित्रै काम सम्पन्न गर्नुपर्ने भएकाले पनि ठूला योजना छनोट नगरेका हौं।’ सुर्खेतमा नौवटा स्थानीय तह छन्। अधिकांशले अहिलेसम्म बेरोजगारको तथ्यांकलाई ‘स्क्यानिङ’समेत गर्न सकेका छैनन्।

प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि जुम्लाका स्थानीय तहमा कामदार छनोट प्रक्रिया सुरु भएको छ। कुनै स्थानीय तहमा योजना कार्यान्वयनको अन्तिम चरणमा पुगेको छ। कुनै स्थानीय तहले भर्खर मात्र कामदार छनोट प्रक्रिया थालेका छन्।  तातोपानी गाउँपालिकामा कामदार छनोटको काम अन्तिम चरणमा पुगेको छ। प्रमुख प्रशासकीय अधिकृत नेत्रराज गिरी गाउँका अति विपन्न र बेरोजगारलाई कामदारका रुपमा छनोट गर्न टोेली गाउँमा पुगेको बताउँछन्। प्रत्येक वडाको आवश्यकताका आधारमा रकम विनियोजन गरेर योजना सञ्चालन गर्ने कार्यपालिकाले निर्णय गरेको छ।

‘प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आएको बजेटले सानातिना योजना सञ्चालन गर्ने तयारी भइरहेको छ,’ उनले भने, ‘आर्थिक वर्षको अन्त्यतिर भएकाले ठूला योजनामा हात हालेनौं।’ प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत तातोपानीमा ३४ लाख रुपैयाँ आएको छ। यो रकमले गाउँपालिकाले कुनै ठोस योजना निर्माण गर्न सकेको छैन। फुटकर योजनालाई प्राथमकिता दिएको छ। अति विपन्न, गरिब, एकल महिलालाई प्राथमिकतामा राखेर रोजगार सम्बन्धी निर्देशिका र कार्यविधिअनुसार काम भइरहेको गाउँपालिकाले जनाएको छ।

गुठीचौर गाउँपालिकामा रोजगार कार्यक्रमको बजेट विनियोजन भइसकेको छ।  गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारी प्रत्येक वडामा दामासाहीका दरले योजना छनोट गरिएको बताउँछन्। ‘सानातिना योजना छानेका छौं, कामदार छनोट हुँदैछन्,’ उनले भने, ‘असार महिनाको पहिलो सातादेखि काम सुरु हुन्छ।’

रोजगार कार्यक्रमका लागि २८ लाख रुपैयाँ गाउँपालिकामा आएको छ। उनका अनुसार  रोजगार संयोजक आइनपुगेकाले काम ढिलो भएको हो। सिँचाइ, विद्युत् मर्मत, तटबन्धन, काठेपुल निर्माणमा बेरोजगारलाई लगाइने छ।

सिँजा गाउँपालिकाले भने एउटै योजनामा रोजगार कार्यक्रमको बजेट हालेको हो। आचार्यलिहीदेखि सिँजा गाउँपालिका कार्यालयसम्मको सडकलाई स्तररोन्नतिमा बजेट खर्चिने गाउँपालिकाले जनाएको छ। ‘२९ लाख रुपैयाँ आएको छ,’ गाउँपालिका अध्यक्ष देवल रावलले भने, ‘योजना एउटै भए पनि कामदार सबै वडादेखि आउँछन्।’ उनले देखिनेखालको योजना छनोट गरेकाले गाउँपालिकाको हितमा रहेको बताए।

चन्दननाथ नगरपालिकामा रोजगार कार्यक्रमको योजना तथा कामदार छनोट कार्यक्रम सञ्चालन भइरहेको छ। वडास्तरबाट एक–एक योजना छान्ने नगर कार्यपालिकाले निर्णय गरेको छ। रोजगार संयोजक ओमबहादुर चन्द तथ्यांक संकलनको काम भइरहेको बताउँछन्।

‘कार्यपालिकाले रोजगार कार्यविधिअनुसार निर्णय गरेको छ,’ उनले भने, ‘एक–दुई दिनभित्र योजना छनोट भएपछि प्रत्येक वडामा २० जनाका दरले रोजगारी दिन्छौं।’ रोजगार कार्यक्रममा ४४ लाख रुपैयाँ छ। पहिलो चरण भएकाले प्रत्येक वडामा बजेट सामान रुपमा वितरण गरिएको छ। चार लाख ४० हजार रुपैयाँका दरले प्रत्येक वडालाई वितरण गरिएको उनले बताए।

पातारासी गाउँपालिकामा पनि प्रत्येक वडास्तरमा योजना छनोट भइरहेको छ। भौगोलिक विकटताका कारण एउटै योजना छनोट गर्न सकिने अवस्था रहेको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले बताए। ‘प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ३३ लाख रुपैयाँ आएको छ,’ उनले भने, ‘जनसंख्यालाई आधार मान्दै कुनै पनि बस्ती नछुट्ने गरी कार्यक्रम छनोट गरिएको छ।’

कामदार छनोटको काम अघि बढेको उनले बताए। जिल्लाको हिमा, तिला र कनकासुन्दरी गाउँपालिकामा योजना तथा कामदार छनोटको काम भइरहेको छ। यहाँका सबै स्थानीय तहमा सानातिना योजना प्राथमिकतामा पर्ने गरेका छन्।

प्रकाशित: २९ जेष्ठ २०७६ ०५:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App