६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

चीनमा भारी वर्षा, पाँचको मृत्यु, हजारौं फसे

मुसलधारे वर्षाका कारण चीनको गुआङ्सी प्रान्तमा आएको बाढीमा फसेकालाई उद्धार गर्दै उद्धारकर्मी। तस्बिर:एजेन्सी

बेइजिङ – चीनको दक्षिणी क्षेत्रमा मुसलधारे पानी पर्दा कम्तीमा पाँचजनाको मृत्यु भएको छ भने हजारौं मानिस फसिरहेका छन्। निरन्तरको वर्षाका कारण सयौं घर र हजारौं हेक्टरमा लगाइएको बालीनालीसमेत नष्ट भएको अधिकारीहरुले बताएका छन्। अझै केही दिनसम्म पानी पर्ने क्रम जारी रहने अनुमान गरिएको छ।

वर्षाका कारण २० लाखभन्दा बढी मानिस प्रभावित भएको र सडक तथा पुलहरुसमेत नराम्ररी प्रभावित भएको राज्य सञ्चालित सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ। ग्वाजे प्रान्तको एउटा सहर नै दुई मिटर पानीमा डुबेको छ। यसैबीच चीनको मौसम पूर्वानुमानसम्बन्धी विभागका अनुसार दक्षिणी प्रान्त जियांग्सी र हुनानमा जुन महिनायताकै सबैभन्दा बढी वर्षा भएको छ।

भारी वर्षाका कारण आएको बाढीले नौवटा सहरलाई डुबाएपछि जियांग्सी प्रान्तमा मात्रै एक लाख ५० हजार मानिसलाई अन्यत्रै सारिएको छ। त्यसैगरी दक्षिण–पश्चिमी ग्वाङ्सी प्रान्तमा रहेका दुई लाखभन्दा बढी घरमा विद्युत् आपूर्ति बन्द भएको राज्य सञ्चालित ‘चाइना डेली’ पत्रिकाले जनाएको छ।

बिहीबारसम्ममा ग्वाङडुङ, सिचुवान र ताइवानलगायत कैयौं चिनियाँ सहरमा वर्षा फैलिने देशको मौसम पूर्वानुमानसम्बन्धी विभागलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। वर्षाले निम्त्याउन सक्ने सम्भावित पहिरोबाट सजग हुनसमेत सो क्षेत्रका स्थानीय प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ। मुसलधारे वर्षाका कारण दक्षिणी चीनमा पहिरो गएका दृष्टान्त रहेकाले अधिकारीहरुले सजगता अपनाउन आग्रह गरेका हुन्।

प्रकाशित: २९ जेष्ठ २०७६ ०३:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App