चितवन - रत्ननगर नगरपालिकाले नगरलाई खरको छानोमुक्त बनाउन अभियान थालेको छ। नगरपालिकामा रहेका खरका छाना भएका घरलाई टिन वितरण गरी खरको छानोमुक्त बनाउने अभियान थालिएको नगरपालिकाका मेयर नारायण वन बताउँछन्। खरको छाना विस्थापित गर्ने र हराएको खुसी स्थापित गर्न अभियान शुभारम्भ गरिएको उनले जानकारी दिए।
नगरपालिकाभित्रका निम्न वर्गका परिवार, जसले टिन लगाउन नसकी खरको छानामुनि बसिराख्नुपरेको छ, तिनलाई लक्षित अभियान सुरु गरिएको हो। अहिले खर पाउन पनि मुस्किल हुने, खर काट्न जंगल जाँदा हुने वन्यजन्तुको जोखिमलगायत समस्याले गर्दा खरको साटो टिनले घर छाउन सहयोग गर्न लागिएको मेयर वन बताउँछन्। खरको छानो हुँदा आगलागी हुने जोखिम पनि धेरै भएकाले नगरवासीलाई सुरक्षित बसोबासमा सहयोग गर्न अभियानको थालनी गरिएको उनको दाबी छ।
नगरपालिकाका सबै वडामा २ सय ७५ वटा खरका छाना भएका घर रहेका छन्। चालू आर्थिक वर्षमा भने १ सय ४७ परिवारलाई नगरपालिकाले टिन वितरण गर्ने मेयर वनले जानकारी दिए। एउटा घरलाई दुई बन्डलका दरले टिन वितरण गरिनेछ। नगरक्षेत्रमा रहेका खरको छानो भएका घरको अध्ययन गरी आवश्यक टिन उपलब्ध गराइने उनले बताए। बाँकी घरधुरीलाई भने आउँदो आर्थिक वर्षमा टिन प्रदान गरिनेछ।
नगरलाई खरमुक्त बनाउन करीब २४ लाख रुपैयाँ खर्च हुनेछ। मंगलबार वडा नम्बर १४ को लौरी घोलकी सरिता विक र वडा नम्बर १६ खैरेटीका बुद्धबहादुर कुमालको परिवारलाई टिन वितरण गरिएको छ। खरको छानो चुहिने भइसकेकाले वर्षाको समयमा खाना बनाउन तथा बस्न नै समस्या हुने गरेको सरिता बताउँछिन्। मजदुरी गरेर छाक टार्नुपर्ने बाध्यता भएकाले उनले छानो फेर्न सकेकी थिइनन्।
१० धुर जमिन रहेका बुद्धबहादुर कुमालको परिवार पनि मजदुरी गरेरै चल्छ। दुई छोरीलाई पढाउन नसक्ने भएपछि उनले एक छोरीलाई पोखरामा घरेलु कामदारको रूपमा समेत पठाएका छन्। नगरपालिकाले नगर क्षेत्रलाई बालश्रम मुक्त बनाउने अभियान थालेपछि नगरपालिका र उद्योग वाणिज्य संघ रत्ननगरको पहलमा उनकी छोरीलाई फिर्ता ल्याइएको थियो। छोरी अहिले कक्षा ४ मा पढ्दै गरेको कुमालले बताए। बाख्रापालन गर्नसमेत नगरपालिकाले उनको परिवारलाई सहयोग गरेको छ। खरको छानो हटाएर टिनको बनाउन टिन पाउँदा खुसी हुँदै उनले भने, ‘हावापानीको डर अब हुँदैन।’
प्रकाशित: २९ जेष्ठ २०७६ ०१:५९ बुधबार