८ वैशाख २०८१ शनिबार
समाज

सर्लाहीको उत्तरी क्षेत्रमा खानेपानी हाहाकार

ढिला गरे पालोमा पछि पर्ने भएकाले दिउँसैदेखि गाग्री थापेर धारामा कुरिरहेकी अत्रौलीनिवासी एक महिला। तस्बिर: टंक/नागरिक

सर्लाही - सर्लाहीको उत्तरी क्षेत्रमा खानेपानीको हाहाकार भएको छ। गाउँमा रहेको इनार, ट्युबवेललगायत पानीका मुहान सुक्दै गएपछि स्थानीय निकै टाढासम्म पुगेर खोलाको पानीसमेत खान बाध्य भएका छन्। विगत केही वर्षदेखि खानेपानीका इनार सुक्दै गएकाले समस्यामा परेका पूर्व–पश्चिम राजमार्ग क्षेत्रका बासिन्दा पानी नै खान नपाउने अवस्था निम्तिएको चुरे क्षेत्रस्थित अत्रौलीमा निर्माणाधीन खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष टमबहादुर घिसिङले बताए। ‘यस वर्ष त पानी नै खान नपाएर मर्नुपर्ला जस्तो छ,’ घिसिङले भने, ‘अघिल्ला वर्ष अलिअलि पानी हुने इनारसमेत यस वर्ष सुकेका छन्।’

खानेपानी योजना समयमै नसकिएकाले गाउँलेले समस्या भोग्नुपरिरहेको घिसिङले गुनासो गरे। ‘खै दुई वर्षदेखि सुरुयोजना निर्माणले गति नै लिएका छैन, कहिले ठेकेदारले काम नगर्ने त कहिले खानेपानी कार्यालयबाट बजेट नआउने,’ उनले गुनासो गरे, ‘खानेपानी हाहाकार बढेपछि गाउँले आक्रान्त बनेका छन्।’

सबै इनार सुकेपछि खोल्साखोल्सीबाट रसाएको पानी जम्मा गरी बिहान र बेलुका मात्र धारामा सानो पानी आउने व्यवस्था मिलाइएको समितिका सचिव बुद्धिमान बलले बताए। ‘थोरै पानी हुने भएकाले बिहान र बेलुका मात्र गाउँलेले पानी भर्न पाउँछन्,’ उनले भने, ‘गाउँलेलाई भाँडामा थाप्ने व्यवस्था मिलाएका छौं।’ उनका अनुसार बिहान २ घण्टा तथा साँझ २ घण्टा मात्र धारामा थोरै मात्र पानी आउने हुँदा खानेपानी लिन गाउँले राती नै तथा साँझका लागि दिउँसैदेखि लाइनमा बस्न बाध्य छन्।

चुरे क्षेत्र भएकाले सर्वसाधारणले निजी स्यालो ट्युबवेल गाड्न खोजे पनि पानी नआउने तथा नगरपालिकालगायत सरोकारवाला सरकारी कार्यालयबाट आएको बजेटले खनेको इनारसमेत सुकेको स्थानीयले गुनासो गरेका छन्। उत्तरी क्षेत्रका हरिवन, बागमती, लालबन्दी र ईश्वरपुर नगरपालिकास्थित चुरे क्षेत्रमा पर्ने अधिकांश गाउँमा खानेपानीको हाहाकार बढेको छ। कर्मैया, ढुंग्रेखोला, सासापुर, अत्रौली, पत्थरकोट, परवानीपुर, कालिन्जोरलगायत गाउँका हजारौं सर्वसाधारण स्वच्छ खानेपानीबाट वञ्चित भएका छन्। अहिले ती गाउँमा निकै टाढादेखि साइकल, डोकोलगायतमा खानेपानी ओसारिरहेको दृश्य बग्रेल्ती देखिन्छ।

प्रकाशित: २९ जेष्ठ २०७६ ०१:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App