coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

'बसौं भने कर्णालीले बगाउने डर, भागौं भने ढुंगाले किच्ने डर'

नदीले कटान प्रहरी चौंकि पुलुको भवन तर्फ कटान गर्दा बगाएको शौचालय तथा अस्तव्यस्त प्रहरी चौंकि । तस्बिरः सुमन/नागरिक

मुगु– जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकास्थित पुलुमा रहेको प्रहरी चौकिमा कार्यरत प्रहरीहरु वर्षौदेखि त्रासै त्रासमा रात विताउँदै आएका छन्। साविकको पुलु गाविस रहेको हालको गाउँपालिकाको केन्द्र रहेको स्थानमा रहेको प्रहरी चौकि हरेक हिसाबले जोखिममा रहेको छ। माथि कडा चट्टानले पहाडको मुनि सानो समथल जमिन र छेउबाटै बगेको मुगु कर्णालीको उर्लदो भेलले प्रहरीलाई रात बिताउनै सकस हुने गरेको छ।

वर्षा लाग्ने बितिकै उर्लेर आउने कर्णालीले कति खेर बगाउने हो भन्ने चिन्ता, पानी पर्दा साविकको पुलुको जिर्ण चुहिने भवनभित्रको सकस तथा माथिबाट ढुंगा खस्ने डरले रातभरि जागा बस्नु परिरहेको प्रहरी जवान प्रेमबहादुर केसीले नागरिक न्यूजलाई बताए। अघिल्लो वर्षामा राति आएको कर्णालीको बाढीले धार परिवर्तन गर्दै प्रहरी चौंकिको चर्पीसमेत बगाएपछि राती भागाभाग भएको र ओडारमा रात बिताउनु परेको उनले सुनाए। गर्मीको महिनामा राति सुत्दा तराईमा लामखुट्टेबाट बच्न प्रयोग गरिने भए पनि पुलु प्रहरी चौकिमा कार्यरत प्रहरीले सर्पबाट बच्न झुल प्रयोग गर्ने गरिरहेका छन्।

पुलुमा कार्यरत प्रहरीलाई बाढि, पहिरो, सर्पको मात्र त्रास होईन । उनीहरुले काम गर्नुपर्ने अर्को समस्या पनि छ। पुलु प्रहरी चौकिमा रहेका ८ जनाको टोलिले गाउँपालिकाको दुई नम्बर वडा बाहेक अरु ८ वटै वडा हेर्नु परेको छ। पुलु प्रहरी चौकिले वडा नम्बर दुई डोल्फुमा कुनै घटना घटे दुई दिन लगाएर पुग्नु पर्छ। प्रहरीको सञ्चार सेट तथा अन्य कुनै सञ्चार सम्पर्क हुन सक्दैन।

त्यस्तै पुलुकै प्रहरीले नगरपालिकाको सिमाना काउलापानीसम्म हेर्नुपर्ने बाध्यता रहेको प्रहरी चौंकि पुलुले जनाएको छ। सबै भन्दा त यार्सा संकलनको समयदेखि तिब्बतको हाटबजार बन्द नहुँदासम्म र असोज कार्तिकमा व्यापारिक चहलपहल हुने बेलासम्म प्रहरी जनशक्ति कम तथा भौगोलिक विकटताका कारण सुरक्षा दिन कठिन हुने गरेको छ।

जिल्लाभरिका लागि २ सय ५४ जनाको दरबन्दि रहेपनि अहिले १ सय ९० जना मात्र कार्यरत रहेकाले केहि समस्या देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जनशक्ति कम र भुगोल तथा छरिएका बस्ति भएकाले सुरक्षा व्यवस्था मिलाउन कठिन देखिएका सोरु गाउँपालिका र मुगुम कार्मारोङ गाउँपालिकामा प्रहरी निरिक्षको कमाण्ड रहने गरि इलाका प्रहरी चौकि राख्न प्रक्रिया अगाडी बढि रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक राजेन्द्रबावु रेग्मीले जानकारी दिए।

त्यस्तै जिर्ण भवनमा बस्दै आएका पुलु प्रहरी चौकिका प्रहरीका लागि सुरक्षित र व्यवस्थित भवन निर्माणका लागि गाउँपालिकासँग छलफल चलिरहेको उनले बताए।

प्रकाशित: २८ जेष्ठ २०७६ १०:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App